– अम्बरबहादुर बि.क., उदयपुर (हाल : दोहा कतार)
१.
रूँदै छिन् नेपाल आमा छातीको घाउ फाटेर
आफ्नै सन्तानले मुटु अचानोमा राखी काटेर
कस्लाई माया छ र देशको स्वार्थले भरिएको
बेचिदिन्छन् कि देश डलर र भा.रू.मा साटेर ।।
२.
यो देशमा न नेता सुध्रिन्छन् न कुनै जनता
न कसैलाई घृणा लायक छन्, न ममता
नुन खाएर गुण बिर्सिन्छन् चाँडै मान्छेहरू,
भेटिएन कतै जनमनमा कोही एकरूपता ।।
३.
गोरू जस्तै जोतिन्छन् युवा अरबको खाडीमा
हामीले जिताएका नेता हिड्छन् नहेरी गाडीमा
के सोचेर ल्याउएको नीति बेग्लै भो गतिविधि
चुनाव आउँदा सिङ्गापुर बन्छ नत्र देश झाडीमा ।।
४.
टाढाको देवता होइन, नजिँकैको भुत नै काम लाग्छ
यो युगमा सत्यवादी हरिचन्द्र हैन झुट नै काम लाग्छ
गरिबीको निकास खोजौँ अब विकास गर्ने नेता रोजौँ
नेताको भाषण हैन हजुर जनता–खुद नै काम लाग्छ ।
५.
आजभोली जताततै सर समानको भाउ बढेको छ
घर चलाउन पनि दिनदिनै ऋणले साहु बढेको छ
गरिबको बेथा सरकारको ढुकुटी मार्नेलाई के थाहा
सोध उसलाई जस्को पिडाले मुटुमा घाउ बढेको छ ।।
– बलराम तिमल्सिना
एउटा कवि
घाँटीमा ब्रोइलरको हड्डी अड्केर मर्यो
अर्को कवि
चुनावी रक्सी सर्केर मर्यो
तेस्रो कवि
भविष्यमा प्राज्ञ बनाइदिने आश्वासन सुनेपछि
लामो सास तानेर मर्यो
चौथो कवि
अर्को पटकको वडा अध्यक्षको बचन पाएपछि
हृदयाघात भएर मर्यो
पाँचौँ कवि अलि कडा थियो
उसले पनि उपाध्यक्षको हाताहाती टिकट पायो
त्यसपछि मलमुत्रको पोखरीमा डुबेर
हेर्दा हेर्दै ठाउँको ठाउँ मर्यो ।।
एक हुल कविहरु छन् अझै
गणतन्त्रको दायाँ किनारमा उभिएका
गायत्री मन्त्र सुनाएझैं पण्डितले
कानमा उखान टुक्का सुनाइरहेछ कोही
हेर्दा हेर्दै
कविहरूले खुट्टा टेक्न छोडेका छन्
र सबै लम्पसार परेर सुतेका छन्
उनीहरूलाई
हतार–हतार अस्पताल पुर्याइएको छ
र, चिकित्सकले सबैलाई मृतक घोषणा गरेका छन् ।।
ठुलै षडयन्त्रको हल्ला भएपछि
सबैको पोष्टमार्टमको माग उठ्यो
र सबैको पोष्टमार्टम पनि गरियो
पोष्टमार्टमको रिपोर्टमा लेखिएको थियो–
विषालु विचारको अत्याधिक सेवनले
दिमागमा वीष जमेर मरेका हुन् उनीहरू ।।
यसरी एउटा महामारी बोकेर
चुनावी फ्लू आयो
र एक हुल कविहरूलाई सोहोरपट्टार पार्यो ।
– गणेश लोहनी, चितवन (हाल : पोल्याण्ड)
१
राष्ट्रघातको दोषारोपण लगाई अनबन भयो
दलालीको बिल्ला भिराई वर्षौं गनगन भयो
खाए खा नखाए घिच मालिक गर्जिए पछि
“चिसै पानीले नुहाउँछु !” नाटक मञ्चन भयो ।।
२
लाज सरम पचाएर सानले उठेरै भन्छन्
बोक्सी सँगसँगै झाँक्रीहरू जुटेरै भन्छन्
सत्तामा हुँदा यौटा बाहिरिँदा अर्कै बोली
चित पनि मेरै अनि पट पनि मेरै भन्छन् ।।
३
रोजे पछि मछेडीले आफ्नो जाल आफै
खोजे पछि निदुलिले आफ्नो काल आफै
सुन्दर आँगनीलाई टेढो भन्दै नदोष्याउनु
रोजे पछि आफु नाच्ने ढंग ताल आफै ।।
४
थापिएको जालमा आफै पर्न गए पछि
अस्मिताको लिलाम आफै गर्न गए पछि
पछि पछि लागि जानु नियति बथानको
माउ स्वयम् नै हरियो घाँस चर्न गए पछि ।।
– चिरञ्जीवी ढकाल, बाँके
कुरा छिनियो आमा, डोली सजाउन बाँकी छ ।
उत्सव मनाउन बाजा, बजाउन बाँकी छ ।।
दास बने तिम्रा लालची, कुपुत्र के भनौ खै ?
आएर पराईले अब, कजाउन बाँकी छ ।।
भाग बिलो पसि सक्यो, विदेशी बैंक खातामा,
आँखा छलेर चेकलाई, भजाउन बाँकी छ ।।
गोर्खालीका सन्तानले, दासत्व स्वीकारिदिए,
फैलिएको त्यो इतिहास, पँजाउन बाँकी छ ।।
टिष्टादेखि काँकडासम्म, राज गरि बसेका,
वीरका शालिक कठै, लजाउन बाँकी छ ।।
– त्रिपुरा पोखरेल, सिक्किम
बाहिरबाट ठूलो स्वरमा आवाज आयो । “दिदी, मेरी छोरीलाई तपाईंको साथमा लिएर गैहाल्नु, मेरी छोरी पनि सुध्रिने, हामीले पनि दुई÷चार रुपियाँ खेलाउन पाउने ।”
टिभीमा समाचार हेर्दैथिएँ, एउटा ठूलो आवाजले मेरो एकाग्रतालाई भङ्ग गरिदियो । झर्को लाग्दै भएपनि दैलोतिर आँखा घुमाएँ । कामतबाट फूलबारी गोडमेल गर्न मदनिया आएको रहेछ । हिजोसम्म म उसलाई चिन्दिनथें । भाइले फलानो बटियादारको छोरो भनेपछि मात्रै मैले उसलाई चिनेकी । उसको प्रश्नको जवाफमा “म भाइसँग सल्लाह गर्छु, अनिमात्र उसलाई लाने कि नलाने, त्यसबारे निधो दिन्छु है ।” मेरो कुरा पूर्णरूपले नसुनी ऊ अघि नै हिँडिहालेछ । लाने कि नलाने शब्द उसले बुझ्यो कि बुझेन भन्ने विचारले मलाई पिरल्यो ।
एकदिनको चिनजानमा नै उसले आफ्नी एउटै छोरीलाई मेरो साथमा किन पठाउँदै छ भन्ने कुराले मलाई अलमलमै पारेको थियो । उसले भोलिपल्टै आफ्नी छोरी लक्ष्मीलाई ल्याएर मेरो जिम्मा लगायो । मलाई भोक लागेको बेलामा ढुङ्गा मिसिएको गाँस फाल्नु कि उकेल्नु जत्तिकै भयो ।
“दिदी तँलाई साथी पनि हुन्छे लैजाँदा हुन्छ ।” भाइले लानु भन्ने सल्लाह दियो ।म पर्सिपल्ट आफ्नो घरतिर लागेँ । घरमा आइसकेपछि लक्ष्मीको मुखबाट थाहा पाएँ, गाउँका अल्लारे केटाहरु उसको पछि लागेका रहेछन् । छोरीलाई ती केटाहरुबाट जोगाउन मदनियाले उसलाई मेरो साथ लगाएर पठाएको रहेछ । उसको कुराले मलाई अन्योलमा पार्यो । “कतै लक्ष्मीका बाबुआमाले मलाई घाँडो त भिराएनन् ।” यो सोचले मेरो टाउकोमा मार्तोलले हानेर रनाहा छुटेको जस्तै भयो ।
“लक्ष्मी, तेरो बाबुले तँलाई यहाँ किन पठाएको नढाटी भन् त ?” मेलै केरकार गरेँ ।“गुण्डाहरु मेरो पछि लागेकाले मलाई यता पठाएको भनेर मैले अस्ति भनें त ।” उसले झर्को मानी ।
ऊ जतिको कुरौटे छे त्यतिकै कुरा लुकाउन खप्पिस छे । कोरोनाको विरुद्धमा लकडाउनको युद्ध चलिरहेको बेला म उसलाई घर पु¥याइदिन पनि सक्दिन । अब मेरो लागि भगवान् भरोसा बाहेक अर्को कुनै विकल्प रहेन । “यदि उसको चरित्रमा केही तलमाथि भएको अलिकति पनि छनक पाएँ भने म लक्ष्मीलाई उसको घर पठाइहाल्छु ।” मेरो फैसलाले मलाई विश्वस्त तुल्यायो ।
“लक्ष्मी अब तैँले पढ्नु पर्छ ल ।” मैले उसको हातमा वर्णमालाको किताब, कपी र सिसाकलम राखिदिएँ ।“मलाई गुदी भन्नु, मलाई यो नाम साह्रै मनपर्छ ।” उसले किताबहरु टेबलमा थन्काउँदै भनी । गुदी लक्ष्मीको अति नै मनपर्ने नाम । उसले शब्द बुझ्न थालेको दिनदेखि नै आमाबाबुको मुखबाट यही नाम सुन्दै आएकीले पनि होला ‘गुदी’ नाम उसको आदत नै भइसकेको छ । गुदीको अर्थ के हो भनेर मैले सोधेकी पनि छैन, उसले अरु पनि अनौठा शब्दहरुको प्रयोग गर्छे, म ती शब्दहरुलाई सच्याउने काम गर्दिन । उसका ठूल–ठूला आँखा, हिस्सी परेको अनुहारले उसको कालो रङ्गलाई छोपिदिएको छ । ऊ आफूलाई कुनै हिरोइन भन्दा कम ठान्दिन । उसको हातमा हरदम ऐना, काइयो र मोबाइल हुन्छ । गुदी निधारदेखि सिउँदोसम्म अबिरको धर्को तान्छे । ऊ सबैलाई आफू विवाहिता हुँ भन्दै हिँड्दिरहिछ ।
“आमा मलाई पोडर, किरिम, लिपिस्टिक, चुरा तेल ल्याइदिनु न ।” भर्खर सोह्र वर्ष टेकेकी गुदीले म बजार जाँदा यस्तै कुराहरु मगाउने गर्छे । यति सानै उमेरमा यसरी श्रृङ्गार पटारमा ध्यान दिएको मलाई भने फिटिक्क मन पर्दैन, तर पनि उसले मगाएको चिजबिज ल्याइदिनु पर्ने मेरो वाध्यता हुन्छ । बजारबाट आएपछि उसको हातमा समान थमाइदिंदै भन्छु, “ला काली, अब तेरो मुखमा पोत ।”
“आमा मलाई काली नभन्नु त, मलाई काली भनेको मन पर्दैन ।” रीसले रन्केर रातो भएको उसको कालो अनुहार अझ कालो हुन्छ । ऊ पुक्क मुख फुलाएर कुर्सीमा गएर बस्छे । आमाको नियास्रो लागेर होला, ऊ मलाई आमा भन्ने गर्छेे । उसको यो सम्बोधन मलाई अति आत्मीय लाग्छ ।
गुदीको बिहानको क्रियाकलापको शुरुवात श्रृंगारपटारबाट हुन्छ । त्यसपछि बाटोमा हिँड्दै गरेका पुरुष वर्गलाई खाउँला जस्तो गरेर एकोहोरो पाराले हेर्छे । आफ्नो कालो कपाललाई सुमसुम्याउदै घरि अगाडि लान्छे घरि पछाडि लान्छे, घरि ठूलो स्वरले गीत गाउँछे । लोग्ने मान्छेलाई देख्दा उसको हाउभाउ कटाक्ष हेर्न लायकको हुन्छ । छरछिमेकहरुले कतिपल्ट उसको कुरा काट्न बाँकी राखेका थिएनन् ।
“आमा मलाई पल्लो घरको काम गर्ने केटाले मोबाइल नम्बर माग्दै छ ।” ऊ उत्तेजित हुँदै भन्छे । म नसुनेको जस्तो गर्छु ।बिहान उठेर माथिल्लो तलामा गएकी गुदीको चालचुल छैन । म चालमारेर कौशीमा गएँ । ऊ काम ईच्छाले ब्याकुल भएको माउ बिरालो जस्तो सडकमा हेरिरहेकी थिई, उसका दुबै हातहरु अङ्गप्रत्याङ्गतिर सलबलाई रहेका थिए । तलबाट ढाडे बिरालो जस्तो मान्छेमाथि हेरैर गुनगुनाउँदैथ्यो, “सम्झेर बुझेर दिहाल त्यो जोवन ।”
“गुदी के रमिता हेरिरहेकी ? जा कोठामा गएर बढारकुँडार गर्, केटाको मुख देखेकी छैनस् ?” उसको यो बानीले मलाई वाक्क पारिसक्यो, तर लकडाउन छेकोभाँजो भएपछि मेरो के लाग्छ ! मैले उसलाई हपारेपछि ऊ मुख छोड्दै तल कोठातिर लागि । ऊ स्पर्शले यौन तृष्णा मेट्न नपाएपनि टाढैबाट आत्मसन्तुष्टि लिन चाहन्थी तर, म बाधक बनिदिएँ । गुदीका कमीकमजोरीहरु मध्ये मुखाले बानी पनि एउटा हो । बाबुआमासँग फोनमा कुरा गर्दा पनि ऊ चर्को आवाज निकालेर बाझ्ने गर्छे । उताबाट पैसा पठा भन्दै किचकिच गरेको आवाजलाई हकार्दै गरेकी हुन्छे, “मैले कमाएको पैसाले मेरो बिहेमा दाइजोको सामान किन्छु, मसँग पैसा नमाग ।”
एकदिन म कोठामा बसेर बालकृष्ण पोखरेलले लेख्नुभएको कथा संग्रह ‘सोधाई र जवाफ’ पढ्दै थिएँ, ऊ म बसेको गलैँचामा आएर बसी । ‘बेला न कुबेला बजी मेला’ भनेजस्तै मेरो एकाग्रतालाई भङ्ग गरिदिएकोमा मलाई उसित हुनसम्म रीस उठ्यो ।
“आमा तपाईंलाई एउटा कुरा भन्नु छ ।” उसले नङ कोट्याउँदै भनी । मैले उसको अनुहार राम्ररी नियालेर हेरें, उसले टाउको निहुराएकी थिई । मैले पढ्दै गरेको किताबलाई बन्द गर्दै सोधें, “गुदी, के कुरा भन् त ।” ऊ आफ्ना ठूलठूला आँखा चारैतिर घुमाउँदै मुस्कुराइरहेकी थिई । मैले कति कर गर्दा पनि उसले भन्न चाहेको कुरा ओकल्न सकेकी थिइन । म पन्ध्र मिनेटसम्म उसको मनभित्रको कुरा दुहुने प्रयासमा थिएँ, तर ढुङ्गा बोल्ला गुदी पटक्कै बोलिन ।
मलाई उसको मौनताले झर्को लगाइसकेको थियो तर, पनि मलाई उभित्र गुम्सिएको गाँठी कुरा जान्ने उत्कण्ठा अझ धेरै जाग्दैथ्यो । म उसको मौनता तोड्ने निष्कर्षमा पुगें । मैले अस्ति बजारबाट उसैलाई भनेर ल्याइदिएको पाउडर उसको हातमा थमाइदिंदै सोधेँ, “के कुरा भन् त नानु ? आफ्ना कुराहरु मलाई नडराइकन भन् ।”
“आमा मलाई पल्लो घरको मिस्री भैय्याले जम्मा एकचोटि बजायो ।” उसले निर्धक्कसँग भनी । म छाँगोबाट झरेकी जत्तिकै भएँ । मलाई अरुकुरा भन्दापनि उसले पेट त बोकिन भन्ने चिन्ताले अन्तरद्धन्द्ध चल्नथाल्यो । “तँलाई त्यो भैय्याले कतिपल्ट बजायो भन् त बुधी ?” मैले उसलाई मसँग कुरा गर्न अझै सजिलो बनाइदिएँ । उसले आफ्ना दुबै कानका लोती समाउँदै भनी, “आमा सोरी नरिसाउनु ल, तपाईंहरू बिहान वाकमा निस्किने बित्तिकै भैयाले मलाई बजाइहाल्थ्यो ।” म रिसले भित्रभित्रै कामिरहेकी थिएँ । गुदीलाई पिट्न पनि सक्दिनँ, उसको घर टाढा भएकोले अहिले नै पठाइहाल्न पनि सक्दिनँ, म द्विविधामा परें । फेरि केही गर्दा पनि अचेलका केटाकेटीले नराम्रो कदम चाले भने ! यो सोचले मेरो रोमकूपबाट निस्किएका रौंहरू ठाडा भए ।
“गुदी तैंले भुँडी बोकिस् भने मलाई तेरो बाबुले मार्छ, अब कहिले पनि त्यस्तो काम नगर्नु ल । तँलाई कसैले त्यस्तो नराम्रो काम गर्न जबरजस्ती ग¥यो भने मलाई भनिहाल्नु बुझिस् ।” मैले कुनै अप्रिय घटना नघटोस् भन्ने हिसाबले उसलाई सम्झाएँ । “आमा सोरी, अब म कसैलाई बजाउन दिन्न । मेरा बुबामम्मीलाई नभन्नु मलाई मार्छ । उता पनि मेरो केटालाई बजाउन दिँदा मलाई तपाईंसँग पठाएको हो, उसमाथि मेरो ठूलो बुबाको छोरो पनि मेरो पछि लागेको थियो ।”
“थुक्क जसलाई पनि बजाउन दिन्छेस् ? बिहे गर्नु अनि तेरो पोइलाई मात्र बजाउन दिनु ।” उसले जन्माएको शब्दको उच्चारण गर्न मलाई सजिलो भएको थियो । मेरो भित्र फेरि अन्तद्र्धन्द्ध चल्नथाल्यो । यिनीहरूको कमजोरीको फाइदा उठाउन घरभित्रैकाले पनि छोड्दैनन् । मभित्र आक्रोशको ज्वाला सल्किदैथ्यो ।
“गुदी र म भान्साकोठामा राखन धरन गर्दै थियौं, मैले उसलाई सोधेँ, तेरो नछुनी हुँदैन ?” “आमा मेरो नछुनी नभएको दुई महीना भइसक्यो, उता मेरो घरमा पनि मलाई मैनाबारी दुई÷तीन महिनामात्र हुन्थ्यो ।” उसको नछुनी रोकिएको कुराले म झण्डै बेहोस भएँ, मेरो शरीर पसिनाले भिज्यो । “गुदी तैले भुँडी बोकिस् कि क्या हो ? मैले अत्तालिंदै सोधेँ । “अब के गरुँ र कसो गरुँ भन्ने पीरले मलाई छट्पटी हुनथाल्यो ।
“आमा मैले पेट बोकेको छैन । पेट बोकेको भए त म आत्महत्या गरिहाल्थेँ नि । नडराउनुस् मैले पेट बोकेको छैन भन्ने मलाई पूरा भरोसा छ ।” ऊ निस्फिक्री थिई । “लाज पचेकी नक्कलीले उल्टै मलाई सम्झाउन थाली, यो जीवनमा कस्ता–कस्ता मान्छेसँग भेट्नु पर्दो रहेछ ।”
मेरो मनभित्र आँधी मडारिन थाल्यो । भोलिपल्ट मैले बजारबाट गर्भमा भ्रुण भए÷नभएको पत्ता लगाउन जाँच्ने यन्त्र ल्याएँ । उसले उत्सुकता साथ सोधी, आमा मलाई एब्रो पेन्सिल ल्याइदिनु भयो ? अस्ति पनि ल्याइदिनु भनेकी थिएँ, ल्याइदिनु भएन ।”
“नक्कली केटी, यत्रो तमासा मच्चाउँदा पनि के–के चाहिएको !” म ऊसँग मनमनै रिसाएँ ।
“भोलि पानी नखाई तेरो पिसाब जाँच्नुपर्छ । पाठेघरमा घाउ हुनेलाई नियमित समयमा नछुने हुँदैन । फेरि समयमै उपचार गरेन भने घाउ पाक्छ अनि अस्पतालमा भर्ना भएर अप्रेसन गर्नुपर्छ ।” मैले बोलेका अरु कुरा नबुझे पनि घाउ, अस्पताल र अप्रेसन भन्ने शब्द सुनेपछि उसको अनुहार पहेँलो भयो ।
“भोलिपल्ट सखारै उसको पिसाब टेस्ट गर्दा एउटा रातो धर्कोमात्र देखाप¥यो । मेरो लागि रिपोट चित्तबुझ्दो भएन । सातदिनसम्म उसको पिसाब जाँच्न म परिचारिका झैँ खटिएँ । उसले पिसाब जाँचिसकेपछि अँध्यारो अनुहार लगाएर मेरो अनुहारमा पुलुक्क हेर्थी । सातौँ दिनमा पनि उसको पिसाब जाँच्दा गर्भ रहेको कुरा पुष्टि भएन ।
“गुदी, तेरो बच्चादानीमा घाउ छैन रहेछ ।” मसँगै ऊ पनि खुसीले नाची । म नाँचे उसको गर्भमा बच्चा नभएको खुशीमा, पाठेघरमा घाउ नभएको खुशीमा ऊ नाची । दुबैको खुशीमा आ–आफ्नो व्यक्तिगत स्वार्थ थियो । भोलिपल्टै ऊ नछुनी पनि भई हाली । म झन् ढुक्क भएँ ।
“आमा मेरो मोबाइलमा वेफेको पासपोर्ट हालिदिनुन् ।” उसको हातमा मोबाइल थियो । सबैले मोबाइल चलाएको देखेर उसलाई पानि मोबाइलको रहर लाग्यो होला भन्ने ठानेर मेरो पुरानो स्मार्ट फोन उसलाई दिएकी थिएँ । “टाढाबाट आएकी केटी दिउँसभरि के पो गरोस् विचरी” भन्ने मेरो दयालु सोचले उसको मोबाइलमा वाईफाईको पासवर्ड हालिदिएँ, उसको फेसबुक एकाउन्ट खोलिदिएँ ।
ऊ बिहान उठेदेखि बेलुकीसम्म मोबाइलमा झुण्डिन थाली । आफ्नो काम लटरपर गरेर सिध्याएपछि, ऊ कि ऐनाको सामुन्ने नक्कल पार्न बस्थी कित मोबाइलमा घण्टौं के–के हेर्थी के–के, यसपछि बचेको समयमा कौशीमा बसेर टोल छिमेकेकका केटाहरुलाई एकोहोरो हेरिरहन्थी । मेरो अर्ती उपदेश र गालीले उसलाई बाह्र हातको टाँगाले पनि छोएन । मैले उसलाई मोबाइल दिनु नै ठूलो भूल गरेछु ।
“आमा केटीले केटीलाई पनि बजाउँदा रहेछन् ! यस्तो पनि हुन्छ र ?” उसले मलाई आश्चर्यचकित पारी । मैले हतारहतार उसको हातबाट मोबाइल लिएर उसको फेसबुक एकाउन्ट बन्द गरिदिएँ अनि “भ्यागुतोलाई हिलै प्यारो ।” भन्दै मोबाइल उसको हातमा थमाइदिएँ ।
“त्यसो नभन्नु त, म आजै मेरो घर जान्छु ।” ऊ भट्भटाउन थाली । “जान्छेस् भने जान त, म तेरो बाबुलाई बोलाइदिन्छु ।” म ठूलो स्वर निकालेर बम्किएँ । “मैले जान्छु भनेकी छु र ! मलाई किन भ्यागुतो भनेको ?” उसले मसित निहुँ खोजी । उसको मसँग बाझ्नुको मूल कारण फेसबुक बन्द हुनु थियो, भ्यागुतो भने गौण कारण थियो ।
मैले हाँस र कुखुरा पालेकी थिएँ । तिनीहरुले चारो टिपेको रमणीय दृश्यले मलाई प्रभावित पारिरहेको थियो । मलाई गुदीले वाक्कदिक्क पारेकी थिई । आफै नारी जाति भएर पनि मलाई उसको बारेमा नकारात्मक सोच राख्न बाध्य पारेको थियो । उसले आफ्नो आनीबानीलाई सुधारेकी भएपनि मैले उसको पछि लाग्नुपर्ने थिएन, तर उसको चरित्र र व्यवहारमा बीसको उन्नाइस पनि सुधार भएन । उसका बाबुआमाले त हरेस खाएर मेरो पछि लगाएर पठाएका, मैले उसलाई सुधार्न खोज्नु हातलाग्यो शून्य मात्र हो ।
अघिसम्म त भालेपोथीहरू रमाएर चारो टिप्दै गरेको दृश्यलाई अवलोकन गर्दैथेँ, एक्कासि मैले हेर्दै गरेकी दृश्यमा ठूलै परिवर्तन भयो । अघिसम्म कुखुराका भालेपोथी र हाँसका आफ्नै भालेपोथीबीच क्रिडा चल्दैथ्यो, अब भने कुखुराले हाँसलाई खेदेको दृश्य देखाप¥यो । “भालेले हाँसलाई मार्छ होला ।” मलाई हाँसको माया लाग्यो । मैले भालेलाई धपाउन गमलाको गिट्टी उठाएर हान्न मात्र आँटेकी थिएँ, तलको दृश्यले मलाई हक्क न बक्क पा¥यो । कुखुराको भालेले खेदेको हाँस टक्क अडियो ।
हँ कुखुरा र हाँसबीच कसरी शारीरिक सम्बन्ध हुन्छ ? म तीनछक्क परें । मैले भिन्नभिन्न प्रजातिका पशु पक्षीबीच यस्तो सम्बन्ध भएको कहिल्यै देखेकी थिइनँ । “आमा के हेर्दै हुनुहुन्छ ?” मेरो पछाडि उभिएर तल कुखुराको चर्तीकला हेर्दै गरेकी बुधीको आवाज सँगसँगै श्वासप्रश्वास चलेको मैले सुन्दैथ्यें । मबाट कुनै उत्तर नपाएपछि, ऊ अलिपरको कुर्सीमा बसेर नङ टोक्दै खुट्टा हल्लाउन थाली । मभित्र फेरि अन्तरद्धन्द्ध चल्नथाल्यो । आज मलाई यौन तृष्णाले व्याकुल भएकी गुदीलाई तल चरिरहेको पोथी हाँसजस्तै लाग्यो । जोसुकैले बजाउन खोज्दा टाउको हल्लाउँदै सहस्र स्वीकृति दिई हाल्ने हाँसको पोथी र गुदीको चरित्रमा समानता थियो ।
भोलिपल्ट मैले उसलाई मनोचिकित्सको क्लिनिकमा लिएर गएँ । डक्टरले उसलाई चेकजाँच गरिसकेपछि मलाई एकान्तमा बोलाएर भने । “म्याडम यौनइच्छा यो उमेरका सबै किशोर किशोरीमा हुन्छ । आफ्नो यौन सम्पर्कको आकांक्षालाई कसैले दबाएर राख्न सक्छन् भने कसैले आफूलाई स्वयम् गर्न सक्दैनन् । यिनी स्वयम् गर्न नसक्नेको लहरमा परिन् । उमेर पुगेपछि बिहे गरिदिनु नै यसको ओखती हो । पुरुषको सम्पर्कले मात्र यिनको कामाग्नि साम्य हुनसक्छ । डक्टरकोबाट फर्किदै गर्दा मनमनै एउटा दृढ निर्णय लिएँ, “बाटो खोले लगत्तै यसलाई उसको घरमा पुर्याइन्छिु ।”
–दिपेन सरोवर
‘यात्रु महानुभावहरु, केही क्षणमै हामी काठमाडौं विमानस्थलमा अवतरण गर्दैछौं ..।’ एअरहोस्टेजको अनाउन्समेन्टले बिउझिएँ । जिउ तन्काउदै घडी हेरेँ ८ बजेर १५ मिनेट गएछ । मुन्टो तानेर झ्यालबाट तल हेरेँ । हरिया डाँडाकाँडालाई सेतो पछ्यौरी ओढाएको जस्तै कुहिरोले ढपक्क छोपेको थियो ।
बाक्लै घरहरुको बीचमा स–साना सडक देखिदै थियो । केहीबेरमै जहाजको पांग्र्राले भुइँ छोयो । ज्यान सकुशल नेपाल आइपुगेकोमा मन पुलकित थियो । आफ्नो देश र आफ्नो भाषा भएकाले होला मान्छेहरुको भीड मलाई आफन्त जस्ता लागिरहेका थिए । तर, अफसोच त्यही भीडमा मलाई आफन्त ठान्ने कोही थिएनन् । आफ्नै देशमा आफै बिरानो हुनुको पीडाले मनमा कतै चसक्क घोच्यो । लगेज धकेल्दै एअरपोर्ट बाहिर निस्किएँ ।
पुसको महिना घाम र बादल लुकामारी खेलिरहेझै गर्थे । जहाज चढ्नेबेला उता गर्मी थियो । टिसर्ट लगाएको थिएँ । चिसोले जिउ काप्न खोजिरहेको थियो । ज्याकेट लगेजमा तलतिर हालेको थिएँ । निकाल्ने झन्झट गर्न मन लागेन । ट्याक्सी र होटलका लागि तानातान गर्नेहरुको भिडबाट आफूलाई बचाउँदै एउटा ट्याक्सी समातेँ ।
होटलमा पुगेपछि लगेज एकातिर कुनामा थन्काएर बेडमा पल्टिएँ । काठमाडौं टेकेदेखि नै हो मन एकतमास भइरहेको थियो । मस्तिष्कको आर्काईभमा केही पुराना तस्बिर सलबलाईरहेका थिए । यस्तो लाग्दै थियो– मानौं रिसाइकलविनबाट एकाएक गर्दै यादहरु रिस्टोर भइरहेका छन् ।
झ्यालबाट बाहिर नियालेंँ । स्वयम्भूनाथको मन्दिर देखिन्थ्यो । त्यो सँगै बर्सौ अघि आफैले बाँचेको विगत र अनगिन्ती याद ठिङ्ग उभिइरहेको देखेँ । रूममा बसिरहन मनले मानेन । मोबाइल र पर्स पकेटमा हालें र स्वयम्भूतिर हानिएँ ।
उबेला म खुसिबु नयाँ बजार बसेर पढ्ने । ऊ बाफल । हाम्रो भेट हुने सेन्टर थियो, स्वयम्भू । फोन सम्पर्कबाट भएको चिनजान र गफगाफले अरु बढी आत्मियता पाउन थालेपछि पहिलो पल्ट भेटेका थियौं, स्वयम्भूमा । साहित्यप्रति उसको झुकाव र मेरो लगावले नै थियो हामीलाई जोडेको । मैले केही थान उपन्यास लगिदिएको थिएँ । उसको लागि र उसले केही थान उपन्यास र गजलका किताबहरु ल्याईदिएकी थिइन्, मेरो लागि । त्यसपछिका थुप्रै बिहान, थुप्रै दिन र थुप्रै साँझ बिताएका थियौ, स्वयम्भू वरीपरी ।
मैले स्वयम्भूलाई एक फन्को लगाउदै गर्दा उसका यादहरुले मेरो मस्तिष्कमा सयौँ फन्को लगाइसकेका थिए । हिजो ऊ थिई साथमा । आज उसका यादहरु छन् । सोचेँ आखिर केही त हुँदो रहेछ साथ दिने जिन्दगीमा ।
हलचोकबाट नेपाल यातायात चढेँ । उ प्रायः नेपाल यातायात चढ्न मनपराउथी । सिटको कुनै कुनामा उसैगरी बसिरहेकी हुनसक्थी । सोचेँ भेट भइहाली भने के भनेर बोलौंला ! एकाअर्कालाई हेराहेर मात्रै पो गरौंला कि ! या अन्तिम पटक छुट्ने बेलामा जस्तै डाँको छोडेर रोऔंला ! हुन त कुनै जुनिमा पनि भेटिन नपरोस् भनेर छुट्टिएकी थिई उ र नभेटियोस नै भन्ने चहान्थें म ।
सुन्धारा पुगुञ्जेल बाटोमा आउने प्रत्येक परिदृश्यमा उ आई । काठमाडौं मलको अघिल्तिर उभिएर ओठमा असीमित खुसी लिएर जिन्दगी बाच्दै गरेका केही प्रेमिल जोडिहरुलाई नियालें । सोचेँ बिझाउने त सिर्फ आँखाको बाटो भएर मुटुमा बसेका केही मान्छेहरू न रहेछन् । प्रेम आफैमा बिझाउँने त कहाँ हो र !
नियतिले हामिलाई छुटायो । उ नयाँ खुसिहरु बोकेर नयाँ धरहरा जस्तै जिन्दगीको नयाँ उचाईमा अग्लिई । म पुरानो धरहरा जस्तै भग्नावशेष भएँ ।
बर्सौपछि उसका यादहरुलाई उही ठाउँमा अनुभुत गरेर साँझ अबेर फर्किएँ । यस्तो लाग्यो, काठमाडौंका हरेक गल्ली, चोक र पार्कहरुमा कतै हात समातेर यादहरु हिडेका थिए । कतै मन नलागी नलागी छुटेका यादहरु उभिएका थिए । कतै जिवनका रङहरु कोर्दै घण्टौं यादहरु गफिएर बसेका थिए । कहाँ पो थिइन र ऊनी ! यादैयादको यादमाण्डांैमा जो थिएँ ।
– इन्दिरा खड्का, आसाम, भारत
आइतबारको दिन छिटो छिटो काम सकेर मझेरीमा कुर्सीमा बसेर हातमा दैनिक पत्रिका लिएँ । गेट खोलेको आवाज आयो हातमा लामा–लामा रबर बेण्डले बाँधेका पोष्टर लिएर श्रीमान् भित्रिनुभयो । मेरो छेउमा कुर्सी घिसार्दै बस्नु भयो । टेबलमाथि पोष्टर खोलेर मलाई देखाएर भन्नु हुँदै थियो, “यसपालि भोट यसमा हाल्नु पर्छ” ।
श्रीमान्को कुरा सुन्ने साथ मलाई टुप्पीबाट धुँवा छुट्यो मैले भने, “हेर्नुहोस् भोट कसलाई दिने कसलाई नदिने त्यो आफनो आफ्नो कुरा हो तपाइँले चुनेको प्रार्थीलाई म नदिन सक्छु ।” म अरको प्रार्थीलाई कसरी दिन सक्छु भनेर जर्क जर्किएँ । उहाँ छेउबाट जुरूक्क उठेर हिँड्नु भयो । पल्ला घरकि रमा टुप्लुक्क आइपुगिन् ।
“रमा बस् आज कहाँबाट हाम्रो घरको बाटो देखेऊ ?” उनले तुरून्तै भनिन्, “त्यसो नभन्नु दिदी आउनत मन लाग्छ तर, के गर्नु समय मिल्दैन अहिले काम गर्ने केटी पनि छैन । पठाइ दिए अब राख्थिन होला ।”
मैले छक्क पर्दै सोधेँ, “किन ? उ भन्न थालिन् अरूको घरको सुनेर मलाई केटी राख्न डर लाग्नथाल्यो ।”
मैले चासो लिएर सोधेँ, “कसको घरमा के भयो र ?” उनले फेरि थपिन्, “मलाई भनै डरलाग्छ दिदी ।” मैले आश्वासन दिँदै भने, “केही डरमान्नु पर्दैन म कसैलाई पनि भन्दिनँ ।”
“दिदी कसैलाई पनि नभन्नु ल !” भन्दै रमाले कुरा भन्न सुरू गरिन ।
“हिजो हाम्रो घरमा रामबहादुर दाई आउनु भाको थियो । श्रीमान् र रामबहादुर दाई बसेर गन्थन गरिरहेको बेलामा चिया लिएर म कोठाभित्र पसेँ । के कुरा हो भनेर कान तिखो पारेर अलिकति सुनेपछि मलाई चाख लाग्यो । अनि पर्दा पछि छलिएर सुनेँ ।” मैले चासो लिएर सोधेँ, “के सुनेउ छिटो–छिटो भन । अहिले श्रीमान् आईपुग्नु भयो भने अर्काको कुरा गरेको मन पराउनुहुन्न ।”
“के भनेनी दिदी उनीहरू दुइजनाको ठाक–ठुक लागि रहँदो रैछ । अनि दाजु भन्दै हुनुहुन्थ्यो “नोकरी गर्ने केटी बिहे नगर्नु पर्ने रैछ । केटी हैन नोकरीलाई बिहे गरेजस्तो हुँदो रहेछ । नोकरी बचाउनको लागि कामगर्ने केटी राख्नु पर्यो । काम गर्ने केटीलाई हिजो आज एक्लै छोड्न पनि डर ! अरू त के आफ्नै श्रीमान्को पनि पो डर गर्दा उस्लाई साथीको लागि अर्कि एउटी राख्नु पर्छ । अनि एउटीको कपड़ा फाटेर किन्न जाँदा अर्की रिसाउछे । उस्लाई पनि किन्नु पर्छ बरण्डामा ग्रिल् छैन् भने ग्रिल लगाउनु पर्यो । किनभने आफु घरमा नभएका बेलामा बाहिरका ठिट्ने केटाहरू आएर आँखा झिमकाई दिन्छन् भन्ने डर । कोठोसानो भयो अर्को ठुलो कोठो एउटा बना, नोकरी गर्ने श्रीमतीले गर्दा मेरो लगभग एक लाख खर्च भयो भाइ के गर्नु त्यहिमाथि घरखर्ज दिन दिनै बढ्छ । दुईटी केटीलाई तनखा गर्दा गर्दै महिना चल्नै सारो पर्छ ।” भनेर गफगर्दै हुनुहुन्थ्यो, त्यतिबेलै छोरो उठेर मलाई खोज्दै आएकाले गर्दा म उठेरभित्र गएँ । दिदी पछिको कुरा सुन्नै पाइन् छोराले गर्दा ।”
“ए होर ? रमा यस्तो पनि हुदो रहेछ नि ! मैले त सोचेकै थिइनँ । तिमीले ठिके गरिछेउ केटी नराखेर । म पनि अब नराख्नु पर्यो ।”
“जसो पर्ला पर्ला दिदी म जान्छु है ।”
मैले भने, “एकछिन् बस्न चिया पिएर जाउ, चियापिएर ।” तर, रमा घरतिर लागिन म पनि किताब अब पढ्नु पर्यो भनेर सोच्दै थिएँ । काम गर्ने दिदी छेउमा आएर भन्न थालिन् “चुनाव आयो ? कहिले हो चुनाव अगि मालिक भन्दै हुनुहुन्थ्यो भोट दिनु पर्छ भनेर । किन दिनु पर्छ भोट ?”
मैले भने दिदीलाई, “अहिले हामी कसको शासनमा छौँ ?” दिदीले उत्तर दिनुभयो, “ सरकारको ।” मैले फेरि थपें, “सरकार कसले बनाउँछ ?” दिदीले भनिन्, “हामीले ।” मैले फेरि थपे, “त्यसो भए हामी सबैले भोट दिनुपर्छ ।” दिदीले के बुजीन र हा हा गरेर हाँस्न थालिन् ।
बाहिर को आयो दिदी भन्दै म आफनो कोठाभित्र पसे । भोली चुनाव छ । केशमा कालो लगाउनु पर्यो अनि मुखमा पनि अलि अलि लीप पोत गर्दा गर्दै दुइ घण्टा बितेछ । कोठाबाट बाहिर निस्किदा दिदी राम्री भएर बिदा माग्न कुरि रहेकि रैछिन । अगि आएका मानिस दिदीलाई चुनावको लागि लिन पो आएका रैछन् । मत छाँगोबाट खसे झैँ भएँ । मलाई देख्ने साथ दिदीको गाउँबाट आएका मानिसले भन्न थाले, “हाम्रो समस्टीको प्राथीले भन्नुभाको भोट दिनेजति सबैलाई एउटा एउटा कम्बल र मछरदानी दिने र दिदीलाई पनि भोटदिन लाने ।”
मलाई बज्र परे झैं भयो । अब दिदी गएपछि मेरो हातै भाचिन्छ । भोलि बिहानै जानु पर्ने घर कस्ले समाल्ने ? श्रीमान्लाई खाजा, छोरा छोरीलाई नुवाई–धुवाई दिउसोको खाना ? घर कस्ले हेर्ने ? अब म दिदीलाई सम्झाउनु पर्यो । “दिदी, भोट दिन जाने कसलाई ?”
दिदी भन्दै थिइन्, “खै म त जान्दिनँ लेखा–पढा पनि छैन् ।” त्यतिबेला मलाई अलिकति शाहस आयो, “हो त ! दिदी लेखा पढा नजान्दा सारो पर्छ । लेखे, पढेका मानिसले मात्रै जान्दछन् । कुन प्रार्थीलाई भोट दिँदा हाम्रो देशको उन्नति हुन्छ भन्ने कुरा बुझेर भोटदिनु पर्छ । गल्ति भयो भने हाम्रो देश उन्नति हुँदैन । बाटो, पुलहरू बनिँदैन अनि हाम्रा पढे, लेखेका छोरा–छोरीहरूले नोकरी पाउँदैनन् । दिदी भोट चैँ बुझेर दिनु ।”
दिदी एकछिन् सोँचमा परिन् । “दिदी के भयो ? के सोचेकि ?”
दिदी, “म भोट दिन जान्न भन्न थालिन् ।” मैले फेरि सोधेँ, “किन नजाने ?” उनले भनिन् “भरे गल्ती भयो भने, हाम्रो देशमा उन्नति हुँदैन भन्ने डरलाग्यो ।” म भित्रभित्रै खुसी भएँ । मेरो बुद्धि काम लाग्यो भोलि म दिनभरिको लागि फ्री भएँ ।
– मनीषा दाहाल, रौता, असम
साँझ पर्दै गएपछि तृष्णाको मुटुको ढुकढुकी पनि बढ्दै जान्छ । मनभित्र त्रासको बबण्डर मचिन थाल्छ । सुनाओस् त कसलाई सुनाओस् ? भनोस् भने कसलाई भनोस् ? उसको कुरा कसले पत्याउने र ? जुन कुरा अरूले सोच्नसम्म सक्दैन, त्यो कुराको साक्षी भईरहेकी छ उ । साक्षी पनि कहाँ ? भुक्तभोगी बनेकी छ ! हुन त धेरै चोटी आमालाई सुनाउने चेष्टा गरी उसले । तर, आँट पु¥याउन सकिन । उसको मन मस्तिष्कमा भने तिनै कुराहरूले घमासान युद्ध गरिरहेका हुन्छन् । बाहिर प्रकाश गर्ने साहस बटुल्न सकेकी छैन उसले । कसरी भनोस् कसैलाई प्रत्येक रात उ आफ्नै दाजु त्रिदीपबाट चुसिँदै आएकी छ भनेर !
यो साँचो हो, पहिला पहिला तृष्णा सानी छँदा त्रिदीपले माया गर्छु भनि उसका प्रत्येक अंगमा हात पुर्याउँदा उसलाई खुसी लाग्थ्यो । उसको निष्पाप मनले दाजुको मायालाई माया नै सम्झि रहेको थियो । तर उ ठूली हुँदै जाँदा उसले आफ्ना विषेश अङ्गहरू चिन्दै गइ र त्यी अङ्ग विशेषमा केवल उसको अधिकार भएको कुरा पनि बुझ्दै गइ ।
जबदेखि तृष्णाले दाजुको स्पर्शमा माया हैन बासनाको गन्ध पाउन थाली उसलाई रोक्ने भरसक प्रयास गरि । तर, विकृत मानिसकताले पोतिएर हवसको गहिरो खाडीमा धसिएको मान्छेलाई रोक्नु त्यति सजिलो हुँदो रहेनछ । तृष्णाको विरोधलाई कसिला हत्केलाले निमोठेर रातभरि उसको शरीरमाथि साप सलबलाए झै सलबलाउछ उसको दाजु । भोकाएको स्यालले काँचो मासु लुछे जसरी लुच्छ उसलाई । कहिले काँही अतिष्ठ भएर आमासँग गएर सुत्छे तृष्णा ज्यू जोगाउन । तर, उनीहरू दाजु बैनीलाई पढ्ने सुविधाको लागि छुट्टै कोठो दिएको हुनाले सँधै त्यसो गर्न सक्दिन । आफ्नो दुर्दशाको कुरा खोलेर कसैसँग भन्न नसक्नु नै उसको निम्ति ठूलो पिर भएको छ ।
“अहँ अब खप्न सक्दिनँ म ! मैले केही ठोस कदम चाल्नु नै पर्छ । नभए जीवनभरि मेरो साथै आमा–पिताले पनि पश्चताप र ग्लानिको आगोमा झुल्सि रहनुपर्छ ।” बेलुकी भान्सा खान बस्दा तृष्णाले मन मनै एउटा सिद्धान्त लिन्छे । उसको अनुहारमा देखा परेका असामान्य गतिविधि लक्ष्य गरेर आमाले प्रश्न गरिन, “तृषु खुरूखुरू खाना नखाएर के सोची रहेकी छस तँ ? परीक्षा नजिक आइ पुग्यो भन्या होइन ? छिटो खाएर पढ्न जा ।”
“हो आमा । परीक्षाको समय हुनाले नै असमञ्जसमा छु । एउटा जटिल प्रश्नको उत्तर खोजी रहेकी छु । मैले निकालेको समाधान सही हुने हो कि होइन ?” तृष्णाले मुन्टो नउठाइ भनी । त्रिदीपले पुलुक्क तृष्णा तिर हेर्छ ।
“यदि सही युक्ति र तथ्य दर्शाएर समाधान अघि सारेको छ भने भूल हुने कुरै पो कहाँ आउँछ र ? मात्र आफ्नो आत्मविश्वासमा कमी आउन दिनु हुँदैन ।” आमाको यस्तो प्रेरणादायी वाक्यले तृष्णाको सिद्धान्तलाई अझ बल दियो ।
राति भान्सा गरि सकेर आफ्नो कोठामा पस्न लाग्दा उसका पाइला केही अल्मलिन्छन । तर भान्सा टेबुलमा आमाले भनेको कुरा सम्झेर उसले आफैँलाई साहस दिन्छे, “म जान्दछु मेरो यो सिद्धान्तले आमा–पिताको मनमा गहिरो घाउ लगाउने छ । उहाँहरूले शायद मलाई कहिल्यै क्षमा गर्न सक्नु हुने छैन । तर पनि मैले यो कदम उठाउनै पर्छ । उहाँहरूको साथै समाजको पनि भलाई यसमै छ ।” एउटा अत्यन्त जटिल तथा दृढ संकल्प छातीमा बाँधेर तृष्णा कोठाभित्र पस्छे ।
भोलि पल्ट बिहान निकै अबेरसम्म तृष्णा र त्रिदीपको चालचुल नदेख्दा आमाले उनीहरूको कोठाको ढोका उघार्छिन । त्रिदीप आफ्नो ओछ्यानमा लमतन्न सुतिरहेको हुन्छे । तृष्णा कोठामा हुन्न । आमाले एक एक गरी घरका सबै कुना खोज्छिन् । तृष्णा कतै छैन ! कुनै साथी कहाँ पो गइछ कि भनेर फोन गर्न भनि मोबाइल हातमा लिँदा लिँदै दैलाको घण्टी बज्छ । आमा गएर दैलोमा पुग्न साथ साथै पुलिस अधिकारी एकजना र दुई सिपाहीसँग तृष्णा घरभित्र पस्छे र त्रिदीप सुते ठाउँमा लैजान्छे ।
“सर यही हो त्रिदीप । दाजु–बैनीको सम्बन्धमा कालो पोत्ने नरपिशाच । जसले आजसम्म मलाई नङ्ग्याएर मेरो अस्मितामा दाग लगाउँदै आएको छ । मेरो अनुरोध यसले उचित दण्ड पाओस् । अनि समाजले यस्ता लम्पट धर्षणकारीबाट मुक्ति !”
तृष्णाको कुरो सुनेर उसका आमा बाबु दुबै उसको छेउ पुग्छन् । “के भनेकी तृषु तैँले ? त्रिदीप तेरो दाजु हो बाबु ! यस्तो जघन्य आरोप किन लगाइस् यसमाथि ?” बाबुले कुरो के हो बुझ्न नसकेर तृष्णालाई सोधे । आमाले पनि यो कुरो कसै गरी साँचो हुन सक्दैन भनिन् । तब तृष्णाले आफ्नो पक्ष राख्दै भन्छे, “आमा हिजो तपाईँले नै भन्नु भएको थियो सही तथ्य दिन सक्दा समाधानको सच्चाइ प्रमाणित हुन्छ भनेर । मैले आज राती मसँग जे भयो अर्थात् आजसम्म जे हुँदै आएको थियो त्यसको सठीक प्रमाण फेला पारेकी छु” भन्दै गएको रातमा उसले रेकर्ड गरेको सम्पूर्ण भिडियो चलाएर देखाउछे ।
जसको एकप्रति अघि नै उसले पुलिसलाई जिम्मा लगाइ सकेकी छे । भिडियोमा त्रिदीपको असल चरित्र देखेपछि बाबु आमाले पनि तृष्णाको सिद्धान्तलाई समर्थन गर्दै छोरालाई पुलिसको हातमा सुम्पेर उसलाई उसको कर्मको समुचित दण्ड दिन आग्रह गर्छन् ।
– लेखराज रेग्मी, देउखुरी, दाङ
जब स्वेरकल्पनामा मैले
ठुलै बाघ पल्टाएर
जुँगा उखेल्दै गरेको
मलाई देखिरहेको हुन्छु
तिमी मलाई झस्काएर ब्यूँताउने नगर
त्यो स्वप्निल आनन्द नखोस् ।
हो मौसम चुनावको छ, थाहा छ
भोट जनतासँग छ, थाहा छ
पसिनाजस्तै किनबेच हुन्छ, थाहा छ
डर पसेकाहरु पछि लागेर आउछन्
धन बोकेर भेटी चढाउँछन्, थाहा छ ।
मन मरेकाहरु जुट्दैनन् आफ्ना लागि
मलाई थाहा छ, के गर्नुपर्छ उनीसँग
निष्ठा निरिह छ, आज हो नसिकाउ
सेवा शासन होइन बुझेनौ की
सत्ता सेवा होइन बुझिराख मबाट
मलाई सबै दाउपेच थाहा छ
भो भद्रताका पाठ नपढाउ अब
म मेरो लागि उस्को पाउ पर्न सक्छु
घाँटी जोडेर उभिन सक्छु तर
फजुल निहुँ खोजेर तिम्रो लागि म
दुश्मन बनाउन सक्दिन उसलाई
तर उ तिम्रो हुनै सक्दैन थाहा छ ।
म बाहेक को छ र तिम्रो यो दुनियाँमा
स्वयम् तिमी आफु बाहेक जानि राख
र त तिमी मलाई भरोसा गर्छौ आफुभन्दा
यो त उसलाई पनि राम्रैसँग थाहा छ
र थाहा छ मलाई मेरै दुनियाँ बसाउने मन छ
होशियार बन, तिमीलाई भड्काउन
वर्गको कुरा बोकेर एकथरी मानिसहरु
हकको लडाईको गफसफ गर्न आउन सक्छन्
म फेरिएको कहानी सुनाउन सक्छन्
मेरो निजी जिन्दगीको बात बनाउन सक्छन्
ती तिम्रा दुश्मन हुन जसले तिम्रो लागि
आफै संगठित हुने कुरा गर्नेछन्
जस्ले आफ्नै लागि लड्नुपर्ने गीत गाउनेछन्
यी मेरा सपनाका बैरीहरु दुश्मन हुन तिम्रा
किन कि उनी सपनाको व्यापार गर्न नसकेर
मेरो सपनाको संसार भत्काउन खोजिरहेका छन्
म सपना बाँडेर बिपना बटुल्ने व्यापार चाहान्छु
तिम्रा इमानका इट्टा बिछ्याएर
स्वप्नमहल उठाउन खोजिरहेको छु ।
साझा सपना बेचेर अचेल म थोरै सुकुन बाच्न
मलाई मेरो स्वप्न निद्रा नबिथोल
म नाथे रंगमञ्चको राम मनोरञ्जन त दिइरहनसक्छु
तर सक्दिन पौरख खर्चेर तिम्रो लागि म
नयाँ र सुन्दर संसार दिन सायद सक्दैन तर
बोल्नै सक्दैन यहि कुरा तिमीसँग
ढाट्नको लागि मलाई पनि
तिमी जस्तै चाहिएको छ ।
एक बथान अन्धविश्वासीहरु
भो नसोध नसिकाउ र नबिथोल
अन्ध विश्वास जति सुन्दर
अर्को कुनै कुरा चाहादैन तिमीबाट
भो नझक्झकाउ र नखोज जगाउन
मैले जानाजान जे गरिरहेको छु
सोची विचारी गरिरहेको छु ।।
– होम बस्नेत
१.
चुनाव आयो, नेतृत्व परिवर्तनका कुरा गर्छन्
नेताहरू आफ्नै, चिन्तन मनका कुरा गर्छन्,
दृष्टान्त जनताको दिन्छन्, स्वार्थ आफ्नै बटुलेर
कहिले एकल, कहिले गठबन्धनका कुरा गर्छन् ।।
२.
देशैभरि जताततै, चुनावी माहोल चलेको छ
नेतृत्वमा होड्बाजी, आपसी पोलापोल चलेको छ
थाहा छैन परिणाम कस्तो आउँछ, अवस्था यस्तो छ
विभिन्न तर्क निष्कर्ष, मतदातामा अन्योल चलेको छ ।।
३.
फकाए फुल्याए ढाडमा, स्याबासी धाप लगाए
कसैलाई पैसा कसैलाई, बलै करकाप लगाए
जिते सांसद, पुगे सदनमा, गरे चयन मोजमस्ती
भुले तिनैलाई, जस्ले मतपत्रमा छाप लगाए ।
४.
न शान्ति मिल्यो जनतालाई, न देशको जतन भयो
न विकासले फड्को मा¥यो, झन झन् बढी पतन भयो
कोल्टो फेरोस् पनि कसरी, विचरा मुलुकले ?
बाँदरको हालीमुहाली, मूर्खको खटनपटन भयो ।।
५.
जहाँ जन्मे हुर्केँ बढेँ, त्यै माटोले भुलेपछि
सधै हिँड्ने गाउँ बेसिको, मूल बाटोले भुलेपछि
किन–किन आजभोलि, कस्तो–कस्तो लाग्न थाल्यो
घरै छेउको भित्री बारी, उइ पाटोले भुलेपछि ।।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies