काठमाडौं : सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६, पेट्कुस्थित मन्दिरमा देवीको मूर्ति प्रतिस्थापनका लागि साहित्यकार हिराबहादुर खड्काले १ लाख १ रुपैयाँ सहयोग गरेका छन् ।
उक्त सहयोग रकम मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष रामशरण खड्कालाई औपचारिक समारोहबीच हस्तान्तरण गरिएको थियो ।
खड्काले मन्दिर सञ्चालन दीगो बनाउन प्रत्येक सदस्यले मासिक रु. ५०० कोषमा जम्मा गर्ने प्रस्ताव पनि राखेका थिए, जसलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।
साथै, काठमाडौंबाट आउने भक्तजन र दाताहरूलाई आवासीय सुविधा प्रदान गर्न परिवार आवास गृह निर्माण गर्ने जिम्मेवारी समितिले लिने निर्णय गरेको छ । मन्दिर निर्माण समितिको नेतृत्व रामशरण खड्काले गरेका छन् ।
समितिमा सचिव राजेन्द्र खड्का, कोषाध्यक्ष सन्तोष खड्का र सदस्यहरू राजकुमार खड्का, बिनोद खड्का, सुरुज खड्का र रमेश खड्का रहेका छन् । समितिका पदाधिकारी र स्थानीयवासीहरूले साहित्यकार खड्काद्वारा गरिएको योगदानप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेका छन् ।