–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हामी अहिले श्रीकृष्ण जन्माष्टमी मनाउँदै छौं । यस सन्दर्भमा श्रीकृष्णले प्रदान गरेको गीताको रहस्य बुझ्न पनि आवश्यक छ । कर्म, ज्ञान र भक्ति गीताका मूल सन्देश हुन् र कृष्णको सन्देश असत्यमाथि सत्यको विजय हो । असत्यका प्रतीक कंसविरूद्ध श्रीकृष्णले युद्ध छेडे, विजय प्राप्त गरे । त्यसैमा सीमित नरही, महाभारत रचेर अशान्तिका काला बादलको अन्त्य गरे, गीताको उपदेश दिए, व्यावहारिक बन्न सिकाए । गीतामा भनिएको छ– यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
भाद्र महिनालाई ‘भलो काम गर्न प्रेरित गर्ने मास’ भनिन्छ । यसलाई सेवाकर्ममा सहभागी हुने समयको रूपमा बुझ्न सकिन्छ । ज्ञान, कर्म र भक्ति योगका उपासक सर्वेश्वर श्रीकृष्ण यही समयमा आमाको कोखबाट जन्मिएका थिए । ज्ञान मस्तिष्क हो; तर विवेकविहीन हृदयबाट प्रयोग गरिने ज्ञानले विज्ञानको दुरूपयोग गराउँछ । विज्ञानको अनुचित प्रयोग भइरहेका यस्ता समयहरू पनि यही भाद्र महिनामा परेका छन् ।
गीताले भनेको छ– कर्म गर, फलको आशा नगर । मानव रूपी अर्जुनलाई ईश्वर रूपी श्रीकृष्णले भनेका छन्– युद्ध गर, तर तिमी नायक होइनौ, म हुँ; जे हुन्छ, मबाटै हुन्छ । मलिन बनेका अर्जुनलाई निमित्त बनाएर संसारको भार हरण गरेका श्रीकृष्ण शस्त्र मात्र होइन, शास्त्रका ज्ञाता पनि थिए । त्यसैले उनले संसारलाई कर्म, ज्ञान र भक्तिको त्रिवेणी नै जीवनको सार हो भन्ने सन्देश दिए ।
स्थूल जगत नबुझी, सूक्ष्म जीवन बुझिँदैन । जीव र जगतको दोसाँध नै जीवन हो, त्यो पनि मानव जीवन । जीवनमा जे छ, जगतमा त्यही छ—केवल थोरै र धेरैको मात्रा फरक छ ।
सन् १९४५ अगस्ट ६, बिहान ठीक ८ः१५ बजे—संसारले कल्पनै नगरेको घटना भयो । सुपर पावर अमेरिकाको युद्धक विमानले जापानमा बम खसाल्यो । १ लाख ४० हजार मानिसको तत्काल मृत्यु भयो । विकिरणबाट थप १ लाख ४ हजार जनाको अकाल मृत्यु भयो । युद्धअघि र पछि गरी झन्डै २ लाख ५० हजार मानिस मारिए । हिरोसिमा सहरमा खसालिएको उक्त बम २० हजार टिएनटी बराबरको थियो, नाम थियो ‘लिटिल ब्वाइ’ । युरेनियम–२३५ रासायनिक तत्वले भरिएको यो शस्त्र केवल १० फिट लामो थियो । बमलाई ‘इनोलागे’ नामक बी–२९ बमवर्षक विमानबाट खसालिएको थियो ।
अब समयले थप कोल्टे फेरेको छ । जैविक र आणविक हतियारको होडबाजी र प्रयोग भइरहेको छ, केवल एक मानवले अर्को मानवलाई नष्ट गर्न । बम जत्तिकै शक्तिशाली अदृश्य कोरोनाले लाखौं मानिसलाई निलेको समय धेरै टाढा छैन । त्यतिबेला पनि अमेरिका सबैभन्दा बढी प्रभावित राष्ट्र बन्यो । अहिले पनि शस्त्रास्त्रको प्रयोग युक्रेन, इजरायललगायत थुप्रै ठाउँमा भइरहेको छ । पछिल्ला १० वर्षमा २० हजारभन्दा बढी मानिस युद्धमा ध्यानस्थ भएजस्तै नब्युँझ्ने गरी सिधिए ।
आज हामी धान्नै नसक्ने महँगीको त्रासमा परेका छौं, यो पनि एक प्रकारको युद्ध नै हो । जसले बुद्ध र पशुपतिनाथ देखेको छ, सर्जक विष्णुको प्रतिमूर्ति श्रीकृष्णको गाथा सुनेको छ— त्यसले आजभन्दा ५ हजार १ सय २६ वर्षअघि कलियुगको आरम्भदेखिको सत्ता र शक्तिको दुरुपयोग पनि देखिरहेको छ । महाभारतको विभीषिकाबाट ब्युँझिएको मानवले श्रीकृष्णको पावन गाथा आज पनि भुलेको छैन ।
संसारमा शान्तिको सन्देश दिन्छु भन्ने संयुक्त राष्ट्रसंघका लागि युक्रेन, रसिया, चीन, ताइवान, सिरिया, इजरायल, अफगानिस्तान, बङ्गलादेश मात्र होइन, श्रीलंका पनि ‘मसला’ बनेका छन् । मस्तिष्कको दुरूपयोग गरेर प्राप्त ज्ञानको के काम, यदि विवेक छैन भने ? यही पृथ्वीमा सेप्टेम्बर ११ जस्ता आतंक जन्मिए, विन लादेन जन्मिए, ट्विन टावर जले, आज पनि सम्झिँदा आङ जिरिंग हुन्छ ।
चीन, अमेरिका, रसिया जस्ता राष्ट्रप्रमुखहरू भ्रमणमा निस्कँदा कालो झोला बोक्ने गरेका छन् रे ! ती झोलामा कति परमाणु बम बराबरको शक्ति छ—कोही जान्दैन । पहिलो र दोस्रो महायुद्ध भइसके, तर तेस्रो महायुद्धको छनक देखिएको छ । अब युद्ध पानी र अन्नका लागि हुन सक्छ । आखिर हतियार बनाएपछि प्रयोग नभए ‘खिया लाग्छ’ भन्ने सोच पनि हो ।
बुद्धको विवेक र कृष्णको गीतामृतको दुरुपयोग किन भइरहेछ ? विज्ञान मानिसको मस्तिष्कको उपज हो भने मस्तिष्कको पिता त सर्जक ईश्वर नै हुन् । धर्ती उनकी माता, धर्तीका सम्पूर्ण प्राणी उनका सन्तति हुन् । त्यसैले श्रीकृष्णले भागवतमा भनेका छन्— ‘अहं सर्वेषु भूतेषु’ अर्थात्, म सबै प्राणीमा छु ।
मान्छे पढ्छ, तर पढेपछि भुसुक्कै बिर्सिन्छ । संसारको अहिलेसम्मको प्रगति यही हो । र त, आज मान्छे कसैसित डराइरहेको छ भने त्यो मान्छेबाटै हो । हिँस्रक प्राणीभन्दा बढी पीडा आजको मानवलाई मानवबाटै भइरहेको छ ।