२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

कविता- पिता : जीवनजस्तै उज्यालो

shivam cement
मध्यान्ह
२०८२ भदौ ७ गते ०६:००
कविता- पिता : जीवनजस्तै उज्यालो

–शम्भु पनेरू

शब्दले कहिल्यै पूरा गर्न नसक्ने ऋण
तिमीले दिएको असीम माया हो पिता,
जुन चुपचाप पसिना बनेर ढल्थ्यो
खेतको गह्रौं माटोमा,
काठको भुँइमा,
कागजको पातलो पानामा ।

तिमीलाई कहिल्यै देखिनँ
गुनासोको घेराभित्र,
तर, देखिरहें
सधैं ओठ चपाउँदै
जीवनको कठोर स्वाद निल्ने बानीमा ।
तिमी हाँस्दा पनि
आधा हाँसो थियो, आधा वेदना,
तर, त्यो आधा वेदना हामीबाट टाढा राख्ने
तिम्रो अनन्त धैर्य थियो ।

पिता,
तिमी आँधीलाई रोक्ने डाँडा थियौ
तर, हामीलाई कहिल्यै थाहा भएन
कति ढुंगा फुटे तिम्रो छातीमा
कति चिसो वर्षा बग्यो तिम्रो शिरमाथि ।
हामी मात्र हुर्कियौं
तिम्रो ओझेलमा हरियाली पातझैं
र, कहिल्यै बुझ्न सकेनौं
त्यो जराले कति पीडा सहेको थियो ।

तिम्रो अनुशासन कहिलेकाहीँ
हाम्रो बालापनलाई कठोर लाग्थ्यो,
तर आज बुझ्छु—
त्यो कठोरता प्रेमको अर्को नाम थियो ।
जसरी लोहोरो पारेर
नदीलाई बाटो देखाइन्छ,
त्यसरी नै तिमीले
हाम्रो जीवनलाई सही धारमा बगाइदियौ ।

पिता,
तिमीले देखायौ नपढेको किताब
तर, अनुभवका पानाले भरिएको ज्ञान,
तिमी भन्थ्यौ—
‘इमान ठुलो हो, धनभन्दा,
सम्मान बलियो हो, शक्तिभन्दा ।’
त्यो वाक्य हामीले हरेक मोडमा
मार्गदर्शनको दीपशिखा झैं पाएँ ।
आज पनि तिम्रो पाइलाको आवाज
घरको ढोकामा सुनिन्छ जस्तो लाग्छ,
तिमीले ल्याउने चियापत्तीको सुगन्ध,
तिमीले बजाउने पुरानो रेडियोको धुन,
सबै अझै कानमा गुन्जिरहेझैं छ ।
यद्यपि, समयले तिमीलाई
टाढा पु¥याउँदै लगिरहेको छ,
तर हाम्रो हृदयमा
तिमी अझै पनि नजिकै छौ—
साँझ परेपछि उज्यालो दिने दियोझैं ।

पिता,
तिमीलाई धन्यवाद भन्नु
समुद्रलाई थोपा चढाउने जस्तै लाग्छ,
तिमीलाई नमस्कार गर्नु
आकाशलाई टाउको झुकाउनेजस्तै लाग्छ,
तर पनि
शब्दले सक्दो सम्मान चढाउँछु—
तिमी हाम्रो मेरुदण्ड हौ,
जसको बलमा हामी सिधा उभिएका छौं ।

जीवनले सधैं चुनौती ल्याउँछ
तर तिमीले सिकाएको धैर्य
हामीलाई ढालझैं बन्छ,
तिमीले देखाएको सत्यको बाटो
हामीलाई कम्पासझैं देखिन्छ ।
हामी जहाँ पुगे पनि
हामीभित्र तिमी नै बाँचिरहनेछौ—
मौन, दृढ,
तर असीम आकाशजस्तै फैलिएको ।

ADV

सम्बन्धित खबर

Advertise