काठमाडौं : युथ क्रियशनको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौंको सामाखुसीस्थित कुकु लन्ज एण्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे । कार्यक्रमको निर्णयकमा अभिनेता एवम् मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बू, अभिनेत्री बिमला लिम्बू र लोकदोहोरी गायक बलबहादुर गुरुङ रहेका छन् ।
मुख्य निर्नायकको रुपमा बोल्दै लोकदोहोरी गायक बलबहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए । उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने बताए । यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने उनको भनाइ थियो ।
युथ क्रियशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी एवम् अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको फाइनल भने पुस २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिएको छ । साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।
दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : नेपालगञ्ज महोत्सवमा चर्चित गायिका रचना रिमालले दर्शक नचाएकी छिन् । महोत्सवमा रचनाले प्रस्तुत गरेको उनको ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले’ बोलको चर्चित गीतमा महोत्सवका दर्शक रमाएका थिए । महोत्सवमा रचनाले स्टेजबाट तल झरेर एक पछि अर्का दर्शकको हात समाउँदै गीत गाउँदा दर्शकहरु निकै रमाएका थिए ।
महोत्सवमा रचनाले ‘फोटो फिरिममा माया पिरिममा’, ‘मिनिरल वाटर’लगायतका चर्चित गीत प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिमा महोत्सवका दर्शकहरुले भरपूर मनोञ्जन लिएका थिए । रचनाको करिब एक दर्जन बढी प्रस्तुतिमा महोत्सवका दर्शकहरु झुमी झुमी नाचेका थिए ।
यस्तै नेपालगञ्ज महोत्सवमा आएका चर्चित भोजपुरी डान्सर तथा टिकटक स्टार प्रिती पासवानले आफ्नो प्रस्तुतिले महोत्सवका दर्शकलाई नचाएका थिए । महोत्सवमा ‘प्रितीले बसन्त नै बस्न खोज्छ यहाँ’, ‘कि नुबु खरभुजा भईल’ लगायतका गीतमा प्रस्तुति दिएकी थिइन् । प्रितीले करिब एक दर्जन बढी नेपाली तथा भोजपुरी चर्चित गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकहरुले नाचेर मनोरञ्जन लिएका थिए ।
महोत्सवमा गायक तथा उद्घोषक अनुप बढा मगरले पनि आफ्नो प्रस्तुतिमार्फ दर्शकलाई भरपूर मनोञ्जन गराएका थिए । उनले पनि आधा दर्जन बढी चर्चित गीत गाएर दर्शकलाई नचाएका थिए ।
महोत्सवमा हरेक दिन विभिन्न किसिमका बाल उद्यानका खेलहरु, थारु परिकारका स्वाद लिन तथा विभिन्न किसिमका मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदर्शनीहरु रहेको संयोजक नन्द बुढाले जानकारी दिए । कार्यक्रमको सञ्चालन वर्षा पाण्डे र अशोक रावलले गरेका थिए ।
यस्तै बुधबार चर्चित लोकदोहरी गायक पशुपति शर्मा, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवानलगायतका कलाकारहरुको प्रस्तुति रहने संयोजक बुढाले जानकारी दिए । नेपालगञ्ज महोत्सवको समय चार दिन थप गरिएको आयोजकले जनाएको छ ।
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको बृहत् मरिण सांस्कृतिक एवम् पर्यटन महोत्सवमा गायक नवीन पौडेलले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका छन् । मरिण गाउँपालिका–४ स्थित रंगशालामा बृहत् मरिण सांस्कृतिक एवम् पर्यटन महोत्सवको समापन समारोहमा अतिथि कलाकारको रुपमा आमन्त्रण गरिएका गायक पौडेलले दर्जनौं गीत प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै जागरुक हुन प्रेरित गरेका थिए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, कलाकार कल्याणकारी कोषका सदस्य, राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवम् लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव समेत रहेका गायक पौडेलले महोत्सवमा वृद्धवृद्धादेखि युवायुवतीसम्मलाई आफ्नौ प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।
पुस ६ गतेदेखि सञ्चालित महोत्सव मंगलबार समापन भएको थियो । समापन समारोहकै बीचबीचमा नवीन पौडेलले प्रस्तुति दिइरहेका थिए । उनले गीतमार्फत जनतालाई जागरुक हुन प्रेरित गरिरहेका थिए । उनले भनिरहेका थिए, ‘बेथिति नै बेथिति छ, सुिध्रने हो कहिले पहिला बरु राम्रै थियो झन् बिग्रियो अहिले, कोही भन्छन् राजा आउ देश बचाउ, कोही भन्छन् दलहरुको मति सच्याउ । म त भन्छु यो देशलाई कायापलट गर्न धर्ति पुत्र आउ, लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ ।’
उनले यो गीत प्रस्तुत गरिरहँदा उपस्थित वृद्धवृद्धादेखि युवायुवतीसम्मका हजारौं दर्शकले उनी सँगै गीत गाइरहेका थिए । उनका गीतमा साँच्चिकै जनताका भावना, यथार्थता, समयसापेक्षता, भ्रष्टाचार एवम् बेथितिप्रति तिखो ब्यंग्यबाणका शब्द पाइन्थ्यो । उनले ‘लेउ खुकुरी लेउ’ भन्न नपाउँदै दर्शक दीर्घाबाट आवाज आउँथ्यो ‘भ्रष्टाचारीजतिलाई पुर्याइदिउँ छेउ ।’
‘वान्स मोर वान्स मोर’को आवाजमा घेरिएका नवीनले करिब आधा दर्जन गीत प्रस्तुत गरे । ‘म त हजुर निजामतीको म पनि त स्वतन्त्रै छु आँखा त लाग्लान कतिको, म त हजुर न्याय सेवाकी म पनि त स्वतन्त्रै छु होइन म कोहीको पेवाकी’ यो गीत उनको बजारमा आउँदै गरेको नयाँ गीत रहेछ । यो गीत गाउँदा पनि दर्शकले उत्तिकै साथ दिए । ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘घर मेरो सुदूरपश्चिम’, ‘हरहर बासना अगरबत्तिको’, ‘बुलाकी झुम्काना’, ‘मन परेरै हो मन परेरै हो मैले तिम्लाई हेरेको मन परेरै हो’लगायतका गीत प्रस्तुत गरिरहँदा दर्शकले उत्तिकै साथ दिइरहेका थिए ।
पाल्पाको बगनासकाली गाउँपालिका दर्लमडाँडामा बुबा लिलाधर पौडेल र आमा कमलादेबी पौडेलको कोखबाट २०३६ सालमा जन्मिएका गायक पौडेलले सिन्धुलीमा पनि जन्मभूमिमा जत्तिकै माया पाएका थिए ।
सांगीतिक यात्राकै क्रममा नेपालका लगभग सबैजसो भूभाग र विश्वका धेरै मुलुकहरु अस्ट्रेलिया, जापान, जर्मनी, लक्जेम्बर्ग, बेल्जियम, इटली, डेनमार्क, स्विट्जरल्याण्ड, स्वीडेन, नेदरल्यान्ड, यूएई, कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भारत, बंगलादेशलगायतका देशमा गएर गायक पौडेलले त्यहाँ रहेका नेपालीहरुलाई नचाइसकेका छन् ।
जनताका चेतनाका गीत गाएकै कारण गायक पौडेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री चतुर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पचास हजार नगदसहित बागमती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकारबाट कलाकृति मानपदवी र अमेरिकाको टेक्सास राज्यस्थित हेम सरिता पाठक फाउण्डेशनबाट सर्वोत्कृष्ट भ्रष्टाचार विरोधी गीत गाएबापत एक लाख ३३ हजार नगदसहित अन्तर्राष्ट्रिय संगीत पुरस्कार पनि प्राप्त गरेका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा आयोजित महोत्सव अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षतामा भएको थियो । समापन समारोहका प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ थिए । गाउँपालिकाका उपाध्यक्ष विमला माझी, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पूर्वगाउँपालिका अध्यक्ष पानीराज बम्जन, गाउँपालिकाका कार्यकारी प्रमुख ओम बहादुर दर्जी, नेपाल रेडक्रस सोसाइटी सिन्धुली साखाका प्रमुख अशोक श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु अतिथि थिए ।
काठमाडौं : कवि देवव्रतको शब्दमा नयाँ गीत ‘नरो ए कर्णाली’ सार्वजनिक भएको छ । मंगलबार गायक तथा संगीतकार सजल न्यौपानेको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले कर्णालीको दुः ख र सम्भावनाको कथा भन्छ ।
गीतमा गायक सजलले नै संगीत र स्वर दिएका छन् । गीतको भिडिओमा कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाजहरू प्रयोग गरिएको छ । भिडिओको सम्पादन तथा कलरिङ सलिल न्यौपानेले गरेका छन् ।
काठमाडौं : फिल्म ‘महाजात्रा’ फस्ट लुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृंखलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक पोस्टरमा ’जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन् ।
उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको प्रष्ट संकेत पोस्टरले गरेको छ । फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए । ‘पोस्टरमा देखिएका पात्रले पनि यसको कथासार झल्काउँछ । पृष्ठभूमिमा गाडी, पैसा अनि हामी तीनसँगै हरि दाइ । यसले धेरै तथ्य संकेत गरेको छ’, अभिनेता बानियाँले भने ।
फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीनरुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।
निर्देशक प्रदीप भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात यसमा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृंखला दर्शकको प्रिय बनेको छ । नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।
फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको 'क्या राम्रो' गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।
दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : नेपालगञ्ज महोत्सवमा गायक गोपाल जिएमको प्रस्तुतिले दर्शकहरुले आँशु थाम्न सकेनन् । गायक जिएमको ‘साउदी मेलेसिया’ बोलको गीतमा दर्शकहरु रोएका थिए । स्टेजमा चढ्ने बित्तिकै वाहवाही पाएका गायक जिएमले विदेश गएका छोराहरुको सम्झनामा गीत गाएपछि महोत्सवका दर्शक रोकएका हुन् ।
महोत्सवमा उनले ‘नेपालगञ्ज घुमाउँछु कि धनगढी घुमाउँछु’, ‘माया गर्छु सक्कली विश्वास गर नक्कली’लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको गीतमा नेपालगञ्ज महोत्सवका दर्शकहरु झुमी झुमी नाचेका थिए ।
गायक संजिव सिंह राणाले ‘ए मेरो मामा’, ‘लुकी लुकी हेर्ने बानी परेको’, ‘मुग्लीनको बाटोमा धुलो उडाउँदै’लगायतका गीत गाएका थिए भने सि.ए. साउदले विभिन्न नेताहरुको क्यारिकेचर, प्रस्तुत गरेका थिए ।
महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतिसँगै स्थानीय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको थियो । महोत्सवमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, विभिन्न थारु परिकारका स्वाद लिन सकिनेलगायतका विभिन्न मनोरञ्जन लिन सकिने संयोजक नन्द बुढाले जानकारी दिए । कार्यक्रमको सञ्चालन अनुप बुढा मगर, बर्षा पाण्डे र अशोक रावलले गरेका थिए ।
यस्तै मंगलबार चर्चित गायिका रचना रिमाल, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवानलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजक टिमका संयोजक बुढाले जानकारी दिए ।
यस्तै महोत्सवमा हरेक दिन हुने प्रदेशस्तरीय डान्स आइडल प्रतियोगितामा संस्कृति शर्मा प्रथम भएकी छिन् । यस्तै गृष्मा राणा दोस्रो, सुस्मिता शर्मा तेस्रो र पोनिता सुनार चौथो भएका छन् । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३०, २०, १० र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
काठमाडौं : विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् ।
सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो । निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
‘विश्वका दर्शकहरुको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौं । त्यसैले नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ ,’ निर्माता पोखरेलले भने ।
निर्देशक फिडेल देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘ सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो । यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’
चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।
फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।
दिनेश ठाकुर/मध्यान्ह
नेपालगञ्ज : गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच बीचमा’ गीतले नेपालगञ्ज महोत्सवमा तहल्का मचाएको छ । नेपालगञ्जमा जारी छैटौं नेपालगञ्ज महोत्सवको ११औं दिन महोत्सवमा आएका दुर्गेशको प्रस्तुतिले महोत्सवमा रौनकता थपेको थियो । दुर्गेशले महोत्सवमा गाएको ‘भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बीच बीचमा, भाग भाग, जय सम्भु जय सम्भु’लगायतका प्रस्तुतिमा महोत्सवका दर्शकहरु रमाइरमाइ नाचेका थिए ।
गायक चन्द्र शर्माले गाएको चर्चित गीत 'बाच्छीले धान खायो'मा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवमा दुर्गेशसहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । आइतबार महोत्सवमा आएका चर्चित अभिनेता सौगात मल्ल, हास्य कलाकार कमलमणि नेपाललगायतले एक पछि एक बेजोड प्रस्तुति दिएपछि महोत्सवका दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।
यस्तै सोमवार चर्चित गायक गोपाल नेपाल जीएम, गायिका तथा उद्घोषिका शोभा त्रीपाठी र मंगलबार चर्चित गायिका रचना रिमाल, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवानलगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी दिए । यस्तै महोत्सवमा हरेक दिन प्रदेशस्तरीय डान्स आइडल प्रतियोगिता तथा सगरमाथा डान्स ग्रुपको समेत बजोड प्रस्तुति रहने संयोजक बुढाले बताए ।
काठमाडौं : चर्चित गायक निर्मलराज पौडेल १५ वर्षपछि पुन: गायनमै फर्किएका छन् । उनको गायनमा पुनरागमन ‘छम्म नाचौं, छप्प नाचौं’ बोलको गीतबाट भएको हो । श्रव्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायाँकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
गीतमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिष्ट, गम्भीर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका पौडेल एडगुरु नामले समेत परिचित छन् । उनको यो पछिल्लो गीतमा निर्मलराज पौडेलको शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायाँकन तथा माधव थापाले छायाँकन तथा व्यवस्थापन गरेका छन् ।
पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले संगीत दिएका छन् । ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा शुरु गरेका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उनका ह्याप्पी लाइफ, सलल बगेको गण्डकीलगायतका गीतहरु चर्चित छन् ।
हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा तथा क्षेत्रप्रति आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक प्रकाशन गरेका थिए ।
काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सही कुमार तामाङको शब्द, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।
प्रभात पल ठकुरी, त्रिशना छेत्री, रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’मा नरेन्द्र कुमार सिंहको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन, जीवन शाहीको कथा निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies