२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

Nada
२०८२ वैशाख ३ गते ०९:३८
Shares
नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौँ : नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ । 

ncell

यस वर्षको सुरुआतमा दर्शकको भिडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत चलचित्र ‘पीताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’, ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पीताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताइन्   । 

उनले भनिन्, “हामीले काठमाडौँ उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शक कोप्रतिक्रिया लिएका छौँ । चलचित्र हेर्नेले राम्रो प्रतिक्रिया दिएका छन् । नेपालमा यस्तो चलचित्र बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो ।” उनले व्यापारिक रूपमा आफ्नो समूह सफल हुने विश्वास व्यक्त गरिन् । उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले अभिनय गरेका छन् ।

यस चलचित्रलाई ‘मल्टीस्टारर’ भनिएको छ । उल्लेखित कलाकार कथाको मागका कारण राखिएको निर्देशक चौलागाईंले जानकारी दिए। उनले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताए ।

“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भिडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईंले भने । उक्त चलचित्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा रु. एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको तथ्यांक छ । 

अभिनेता विपिन कार्की, दिव्यदेव पन्त, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका चलचित्र ‘कर्मा’ मा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । सौरभ चौधरीले निर्देशन गरेका चलचित्र द्वन्द्व प्रधान विधामा तयार भएको छ ।

प्रकाश सपूतले अभिनय तथा निर्देशन गरेका चलचित्र ‘वसन्त’, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ मा पनि नयाँ वर्षमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । ‘बक्सअफिस’ मा यस चलचित्रले रु. एक करोड ७७ लाख (ग्रस) कारोबार गरेको तथ्यांक छ ।

‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सले प्रदर्शनको पाँचौँ हप्तामा प्राप्त दर्शकको साथले निर्माण समूह कृतज्ञ रहेको बताए । उनले भने, “पहिलो पटक खेलाडीको जीवनीमा बनेको नेपाली चलचित्रले सफलता पाएको छ । यसले आगामी दिनमा अन्य क्षेत्र झै खेलाडीको विषयलाई चलचित्रमा ल्याउन निर्मातालाई आँट दिएको छ । साथै, हामीले कप्तान सुब्बाको घर बनाउने भनेका छौँ, यो पनि छिट्टै पूरा हुने भएको छ ।” उक्त चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर