२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

कतारमा आयोजित नयाँ वर्ष धमाका कार्यक्रममा मिलन लामाले उधुम मच्चाए

draupadi film
तिलु शर्मा पौडेल
२०८१ चैत ३१ गते २२:०१
कतारमा आयोजित नयाँ वर्ष धमाका कार्यक्रममा मिलन लामाले उधुम मच्चाए

दोहा, कतार : करिब २ दशकपछि कतार आइपुगेका लोक तथा दोहोरी गायक मिलन लामाले आफ्ना प्रस्तुतिमार्फत उधुम मच्चाएका छन् । धादिङ सेवा समाज कतारले नेपाली नयाँ वर्षको अवसर पारेर ‘चेपाङ समुदायको सहयोगार्थ’ आयोजना गरेको नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ मा ‘रेशम फिरिरि’ गीत गाउँदै सांगीतिक प्रस्तुति राख्न सुरु गरेका लामाले उधुम मच्चाएका हुन् । 

चिटिक्क परेको कोट माथि नेपाली ढाका टोपी लगाएका गायक लामालाई कतारको गर्मीले जित्यो र कोट फुकाल्दै बाहिरबाट कोट सिरमा ढाका टोपी र भित्र आफूले तामाङको मौलिक ड्रेस लगाए पनि मन भने मेरो नेपाली भएको भन्दै सबैको मन जिते । २ चरणमा स्टेज चढेका गायक लामाले फिरिरिसँगै ‘हङकङ आइडीले’, ‘माझी दाइ पोखरा फेवातालको’, ‘झल्को लाली ओठको’, ‘तामाङ सेलो’लगायतका गीत गाए । लामाको सांगीतिक प्रस्तुतिमा दोहाको मुन्ताजामा रहेको पियरलिङ सिजनल स्कुलको सभा हलमा उपस्थित हजार भन्दा बढी दर्शकले एक साथ नाचेर साथ दिए । दर्शकले पहिलो चरणमै वान्स मोर गर्दै लामालाई स्टेजबाट झर्न सकस बनाए । उनले आफू पुनः स्टेज चढेर दर्शककै रोजेका गीत गाउने बताउँदै २ दशक पछि आफूलाई कतार बोलाउने आयोजकप्रति कृतज्ञता प्रकट गरे ।

समाजका अध्यक्ष आयुष घलेको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समाजका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम सह–संयोजक उषा रिमालले स्वागत मन्तव्य राखेको कार्यक्रमका बारेमा प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गौतम वाइबा तामाङले प्रस्ट पारेका थिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न सामुदायिक संस्थाहरूले मौलिक नृत्य पेस गरेका थिए । रुस्तम तामाङ, युवराज छन्त्याल, रेश्मी सेन्चुरी शिवराम ढकाललगायतका कलाकारले एकल तथा डोयट गीत गएका थिए । नृत्यांगना निरु श्रेष्ठसहित थुप्रै कलाकारहरूले फरक–फरक समूहमा नृत्य पेस गरेका थिए ।

कार्यक्रममा एनआरएनएका विभिन्न अभियन्ता, एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टसहित वैचारिक संगठन, प्रदेश, सामुदायिक र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मीले समाजले पहिलो पटक आयोजना गरेको कार्यक्रममा लोभ लाग्दो उपस्थितिसहित कार्यक्रम भव्य भएको बताउँदै समाजलाई आफ्नो तर्फबाट हुने साथ सहयोग सदैव रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमको उत्तरार्धमा पुनः स्टेज चढेका अतिथि कलाकार लामाले ‘हङकङ आइडीले’ गीत दोहोर्‍याएर गाए । लामाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरूसँग मिलेर अन्तिम प्रहरमा प्रत्यक्ष दोहोरीमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

समाजका महासचिव रामहरि श्रेष्ठ, पत्रकार शारदा भुजेल र अप्रिल लामाले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति घलेले कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न सहयोग गर्ने प्रायोजक, सहयोगी, यातायात संयोजक, स्वयंसेवक, सुरक्षाकर्मी, कलाकारहरू, आयोजक टिम दर्शकहरूसहित प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे । घलेले छिट्टै नै समाजले चेपाङ समुदायमा सहयोग पठाउने जानकारी गराए ।

ADV

सम्बन्धित खबर

Advertise