२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ : ६० देशबाट २४० प्रतिभा छनोट

draupadi film
मध्यान्ह
२०८२ वैशाख २ गते १४:२३
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ : ६० देशबाट २४० प्रतिभा छनोट

भरत प्रधान/रासस

लिस्बन : सर्वाधिक धनराशिको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभस’ को दोस्रो संस्करणका लागि विश्वका ६० देशबाट दुई सय ४० जना प्रतिभा छनोट भएका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले नेपालसहित १२ भन्दा बढी मुलुकमा सम्पन्न गरेको अडिसनबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका दुई सय ४० प्रतिभा छनोट भएका हुन् । पहिलो चरणको अडिसनबाट मेरो भ्वाइस युनिभर्स तर्फ एक सय २० जना र मेरो डान्स युनिभर्स तर्फ एक सय २० जना प्रतियोगी अर्को चरणका लागि छनोट भएको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

विश्वका विभिन्न मुलुकमा भएको स्थलगत अडिसनमा सात हजार भन्दा बढी नेपाली मुलका नेपालीभाषी प्रतियोगीले उत्साहका साथ भाग लिएको भट्टराईले बताए । छनोट भएका प्रतियोगीहरुलाई फाउन्डेसनले आफ्नै खर्चमा काठमाडौं ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गरिएको बताए । छनोट भएका अधिकांश प्रतिभाहरुलाई काठमाडौं ल्याइएको फाउण्डेसनले जनाएको छ ।

भट्टराईका अनुसार गायन र नृत्य गरी दुवै तर्फका शोका लागि अमेरिकामा भएको अडिसनबाट १० जना, क्यानडा अडिसनबाट २, बेलायत अडिसनबाट १०, पोर्चुगल अडिसनबाट १०, भुटान अडिसनबाट ४, थाइल्याण्ड अडिसनबाट १०, हङकङ अडिसनबाट १०, जापान अडिसनबाट १०, अफ्रिका अडिसनबाट २, दुबई अडिसनबाट १०, कतार अडिसनबाट १०, अष्ट्रेलिया अडिसनबाट १०, भारत अडिसनबाट ६० र नेपालका विभिन्न शहरमा भएको अडिसनबाट ८२ जना प्रतिभा छनोट भएका छन् । नेपाल बाहिर रहेका नेपाली मुलका नेपालीभाषीलाई नेपालसँग जोड्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ दोस्रो संस्करणको आयोजना गरिएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

‘यो नेपाली भाषा, कला र संस्कृतिको माध्यमबाट संसारभरका नेपालीलाई जोड्ने एउटा सांस्कृतिक अभियान हो’, भट्टराईले भने, ‘थाइल्याण्ड, मलेसिया, बर्मा, फिजी, भुटानलगायतका देशमा त्यहीका नागरिक भई बसोबास गरेका नेपाली पूर्खाका नयाँ पुस्ताका नेपालीभाषीहरुले समेत यो अडिसनमा भाग लिएर छनोट हुनुभएको छ । यसले हामीलाई अझै उत्साहीत बनाएको छ । हाम्रो अभियानले विश्वका विभिन्न मुलुकमा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपाली मुलका नेपालीभाषीहरुलाई आफ्ना पूर्वजको मातृभूमिसँग जोड्ने काम गरेको छ ।’

विदेशमा रहेका दोस्रो पुस्ता अर्थात् नेपाली मुलका संसारभरका नेपाली जाति र नेपाली भाषीलाई पितृभूमि नेपालसँग जोड्ने र नेपाली कलासंस्कृतिको जगेर्ना गर्ने सोच र परिकल्पनाका साथ अमेरिका बस्दै आएका नेपाली मूलका भुटानी डिल्ली अधिकारीको पहल र सकृयतामा यो अभियान सञ्चालन गरिएको भट्टराईले बताए । 

अमेरिकाबाट सुरु भएको पहिलो चरणको स्थलगत अडिसन क्यानडा, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, अफ्रिका, अष्ट्रेलिया, दुबई, कतार, भुटान र भारतका विभिन्न शहरमा सम्पन्न भएको फाउण्डेशनले जनाएको छ । यस्तै नेपालमा बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन सम्पन्न भएको थियो । पहिलो संस्करणमा विश्का ५२ देशका नेपालीभाषीहरुले सहभागिता जनाएकोमा यसपटक ६० देशका नेपाली प्रतिभाहरुको सहभागिता रहेको फाउण्डेशनले जनाएको छ ।

संसारभरका नेपाली भाषीहरुलाई नेपालसंग जोड्ने र नेपाली कला, गीतसंगीत र संस्कृतिको माध्यमबाट एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ शो को आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताए । ‘नेपाली जातिको परम्परा, रितिथिती, भाषा, सँस्कृति र नेपालीपन जोगाइ राख्न सकियोस् ।, ‘आफ्नो पुर्खाको जन्मभूमिसँग विदेशमा बस्ने नयाँ पुस्ताका नेपालीलाई पुस्तौँ–पुस्तासम्म जोड्न सकियोस् भन्ने हाम्रो मूख्य उद्धेश्य हो,’ अधिकारीले भने । 

दुवै शोका विजेताहरुले एक–एक करोड रुपैयाँ पुरस्कार पाउने छन् । भने उपविजेताले २५–२५ लाख रुपैयाँ तथा तृतीय स्थान हाशिल गर्नेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य तर्फका प्रतिस्पर्धाका विजेता समूहले २० लाख, उपविजेता समूहले १० लाख र तृतीय हुने समूहले पाँच लाख रुपैयाँ पाउने छन् । यस्तै छनोट चरणको उत्कृष्ट दशसम्म पुग्न सफल प्रतिभालाई तीन–तीन लाख रुपैयाँले पुरस्कृत गरिने फाउण्डेसनले जनाएको छ ।  

मेरो भ्वाइस युनिभर्सका लागि काठमाडौंमा हुने छनोट चरणमा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनेछन् । मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापालगायत रहने आयोजक संस्थाले जनाएको छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने दुबै प्रतियोगिताको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोटको प्रकृयासमेत यसै साताबाट सुरु भएको संस्थाले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुबै रियालिटी शो को पहिलो संस्करण सम्पन्न गरेको थियो । पहिलो संस्करणको ‘मेरो भ्वाइस युनिभर्स’ मा भारत, सिक्किमका प्रीतम राई विजेता भएका थिए भने ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise