२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

मंसिर १७ गतेदेखि रौतहटमा गढीमाई मेला

ADV
ओमप्रकाश यादव
२०८१ मंसिर ५ गते १९:१४
मंसिर १७ गतेदेखि रौतहटमा गढीमाई मेला

रौतहट : एसियाकै दोस्रो ठूलो गढीमाई मेला पाँच वर्षपछि रौतहटमा लाग्ने भएको छ। जिल्लाको गढीमाई नगरपालिका -४ सुन्दरपुरस्थित रहेको गढीमाई मन्दिरमा यस वर्ष पञ्चवर्षीय गढीमाई मेला आउँदो मंसिर १७ गतेदेखि लाग्ने आयोजकले जनाएको छ । 

गढीमाई मेला मूल समितिका अध्यक्ष एवम् गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले आज नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी दिएका छन् ।

मेला मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म लाग्ने आयोजक एवं मेला समितिका अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको उनले बताए । मेलाका लागि ६० वटा घुम्ती र करिब ५ सय अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ । 

रौतहटको सुन्दरपुरस्थित रहेको गढीमाईको यो मेला एसियाकै सबैभन्दा दोस्रो ठूलो मेला रहेकाले मेलामा नेपाल, भारतसहित अन्य देशका गरी लाखौं भक्तजन दर्शन गर्न आउने र त्यसलाई मध्यनजर गर्दै मेलामा बाहिरबाट आउने आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष मेयर श्याम प्रसाद यादवले जनाए ।

त्यस्तै मेलालाई सभ्य र भव्य बनाउन मंसिर २० गते भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाइएको आयोजक मेला समितिले जनाएको छ ।

सुन्दरपुर गढीमाई मेलामा आउने दर्शनार्थी एवं भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कलाकार खेसारीलाललाई बोलाइएको समितिको भनाइ छ ।

कलाकार खेसारीलालसँगै भारतीय भोजपुरी मोडेल कलाकार माही र मनिषा पनि सांगीतिक प्रस्तुति दिन आउन लागेको जनाइएको छ । सो अवसरमा भारतीय कलाकारहरुका साथै नेपाली कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने छ । सबै कलाकारहरुले मंसिर २० गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आ-आफ्नो सांगीतिक प्रस्तुति दिने छन् ।

मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने र त्यसमा पनि भारत तथा नेपालका ख्याति प्राप्त सुप्रसिद्ध कलाकारहरु आउने भएका कारण मेलाको सुरक्षा व्यवस्था निकै कडा बनाइने भएको छ । 

सुन्दरपुरको गढीमाई मन्दिर विशेष गरी बलिका लागि प्रख्यात रहेको छ । यहाँ भाकल पूरा गर्न श्रद्धालुले बलि दिने गर्छन्। हजारौंको संख्यामा पशुबलि दिइने यस मन्दिरमा तान्त्रिकले रगत चढाएपछि बलि प्रदान सुरु हुन्छ । मन्दिरमा राँगा, बोकाजस्ता जनावरको बलि दिइने गरिन्छ ।

गढीमाई नेपालमात्रै नभइ भारतसहित हिन्दुधर्म मान्नेहरूका लागि महत्त्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ। यहाँ आएर गरिएको मनोकामना पूरा हुने जनविश्वास छ । 

बाराको बरियारपुरमा विश्वकै सबभन्दा ठूलो गढीमाई मेला लाग्ने गर्दछ ।

ADVADV

सम्बन्धित खबर

Advertise