साउदी अरेबिया : साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक नेपाली भेला हुने भएको छ । पयही यहि सेप्टेम्बर ५ शुक्रबारका दिन मध्याह्न १२:०० बजेबाट हुने भेलामा परिचयात्मक कार्यक्रमसमेत हुने आयोजकले जनाएका छन् ।
कार्यक्रम गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा आयोजना हुँदैछ । नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव राजु केसीका अनुसार, यस अवसरमा एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) गठन गरिने तयारी गरिएको छ ।
“अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले धेरै नेपालीहरू स–साना समस्यामा पनि अल्झिनुपर्ने अवस्था थियो”, महासचिव केसीले भने,, “तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ ।”
आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउन महत्वपूर्ण कदमको रूपमा लिएका छन् । साथै, हाफर अल बातिनमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरिएको छ ।