काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।
आजको बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्व उपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्य योजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।