२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

बाँकेको राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्रीले गरे अवलोकन

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ५ गते १९:२५
बाँकेको राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्रीले गरे अवलोकन

अर्घाखाँची : बाँकेमा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधबार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्ने गरी अल्पकालिन र दिर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताएका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा डुबान र कटानको समस्या बढ्दा मानव बस्ती उच्च जोखिममा परेको छ ।

स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरुको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थानीय राजु केवटले बताए । ‘राप्ती नदीमा आउने बाढी र त्यसले पुर्‍याउने जोखिम न्यूनीकरण गर्न अल्पकालिन र दिर्घकालिन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।’ 

राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदी तटिय क्षेत्र सधैँ डुबानमा पर्ने गरेका छन् । स्थानीयहरु विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुँदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुँदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नं. ७ को ७५ प्रतिशत भू–भाग प्रभावित हुँदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताए । 

‘राप्ती नदीले कटान तीव्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामी विस्थापित हुने जोखिम छ’उनले भने,‘समस्या समाधान गर्ने गरी कार्यक्रम चले राम्रो हुन्थ्यो ।’

राप्ती नदी तटबन्धका लागि संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । तर, यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हुँदा स्थानीयहरु नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ । जोखिम क्षेत्रको अवलोकन गर्न मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासिन्दासँग छलफल गरेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise