कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोना संक्रमणको दर बढेर गएको र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि सीसीएमसीले प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको निर्णय अनुसार, सार्वजनिकस्थलमा हुने राजनीतिक कार्यक्रम रोक्नुपर्नेछ । साथै २५ जना भन्दा बढी भीडभाड हुने प्रकृतिको कार्यक्रम रोक्न प्रशासनलाई कदम चाल्न पनि सिफारिस गरेको छ । स्थानीय प्रशासनले पनि कार्यक्रमको प्रकृति हेरेर निर्णय लिन आग्रह गरेको छ । होटल, रेष्टुरेन्टहरुमा कोरोना खोप कार्ड देखाएर मात्रै सहभागी गराउनुपर्ने निर्णय गरेको छ । विद्यालयहरु आगामी १५ माघसम्म बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ । आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य गरेको छ ।
दक्षिण अफ्रिका भएर फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमा पुगेको अनुमान सहित प्रतिबन्धात्मक निर्णय लिन सीसीएमसीले सिफारिस गरेको छ । बिहीबार नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि भएको थियो । छिमेकी भारतमा ठूलो संख्यामा ओमिक्रोन देखिएपछि नै सरकारले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । तर सामान्य अवस्थाकै जस्तो गतिविधि हुँदै आएको थियो । बिहीबारदेखि संक्रमणदर समेत उच्च देखिएपछि आइतबार सीसीएमसीको बैठक बसेको थियो । बैठकले उच्च सतर्कता अपनाउनुपर्ने निर्णयहरु गरेको छ । सीसीएमसीको सिफारिस कार्यान्वयनसँगै केही हदसम्म रोकथामको प्रयत्न हुनेछ ।
तर रोकथामको आवश्यक सतर्कता अपनाउने र आम नागरिकका निम्ति आह्वान गर्ने काम भने फेरि पनि राजनीतिक नेतृत्वको हो । कार्यकारी प्रमुख देखि राजनीतिक नेतृत्वले गर्ने गतिविधि र दिने सन्देशले कोरोना रोकथाममा सहयोग पुग्नेछ । अहिले जसरी राजनीतिक गतिविधि भइरहेको छ, त्यसलाई रोक्नु सवैभन्दा पहिलो दायित्व हो । किनभने अघिल्ला वर्षहरुमा पनि राजनीतिक नेतृत्वको गैरजवाफदेही शैलीकै कारण कोरोना प्रकोप रोकथाममा समस्या देखिएको थियो । पहिलो लहर भन्दा दोस्रो लहरको प्रकोपले धेरै मानवीय तथा आर्थिक क्षति पुगेको थियो । त्यसैले अघिल्ला वर्षको सिकाइका आधारमा राजनीतिक तथा प्रशासनिक नेतृत्वले आवश्यक सुझबुझ देखाउन आवश्यक छ । नागरिकको जीवनरक्षा सवैको दायित्व भएकाले यसतर्फ उचित ध्यान दिन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies