
विराटनगर : जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा नष्ट भएको कोशी प्रदेश सभाको प्रशासनिक र संसदीय गतिविधि अब मोरङको कटहरी गाउँपालिकास्थित तरकारी बजार भवनबाट सञ्चालन हुने भएको छ ।
कटहरी गाउँपालिकाले सोमबार औपचारिक रूपमा प्रदेश सरकारलाई पत्र पठाउँदै भवन प्रयोगका लागि सहमति जनाएको हो । करिब १५ करोड रुपैयाँ लागतमा कृषि मन्त्रालयमार्फत बनेको सो भवन स्थानीय फलफूल तथा तरकारी बजारका लागि निर्माण गरिएको भए पनि लामो समयदेखि प्रयोगमा आएको थिएन ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदेश सभाको भवनमा आगजनी, तोडफोड र लुटपाट भएपछि सबै संसदीय गतिविधि रोकिएका थिए । त्यसयता सचिवालय विराटनगरस्थित मिडिया सेन्टरको साँघुरो कोठाबाट अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार कटहरी गाउँपालिकाले भवन निःशुल्क उपलब्ध गराउने भएको छ । “गाउँपालिकाले सहमतिको पत्र पठाइसकेको छ, अब मन्त्रिपरिषद्को निर्णयपछि प्रदेश सभा त्यहाँबाट सञ्चालन हुनेछ,” मन्त्री भण्डारीले भने ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरज ढकालले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सचिवालय कटहरी सारिने सम्भावना रहेको बताए । “निर्णय भएलगत्तै काम त्यहीँबाट सुरु हुन्छ,” उनले भने ।
कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्र करिब पाँच बिघाभन्दा बढी जमिनमा फैलिएको छ । त्यहाँ प्रशासनिक भवन, गोदाम, बैंक घर, सुरक्षाकर्मीका संरचना, ३२ थोक र ३२ खुद्रा पसलका स्टल बनाइएका छन् । प्रदेश सरकार अहिले त्यही भवनभित्र बैठक हल निर्माण गर्ने तयारीमा छ ।
मन्त्री भण्डारीका अनुसार करिब १५ देखि २० दिनभित्र हल निर्माण सक्ने लक्ष्य राखिएको छ । त्यसपछि मंसिरको पहिलो साताबाट प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गर्ने तयारी भइरहेको छ ।