बझाङ : दशौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय बझाङले महिला उद्यमीलाई सम्मान गरेको छ । उत्कृष्ट महिला उद्यमीको रुपमा थलारा गाउँपालिका–२ मा अल्लो प्रशोधन उद्योग संचालन गर्दै आएकी अन्जुदेवी खातीलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच उद्यमी खातीलाई ५ हजार नगदसहित कदरपत्रले सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख मानबहादुर धामीले बताए । अल्लो प्रशोधन उद्योग संचालन गरी राम्रो आम्दानी गर्न सफल भएको र अरूका लागि प्रेरणादायी बनेको भन्दै कार्यालयले खातीलाई सम्मान्न गरेको धामीको भनाइ छ ।
विगत लामो समयदेखि अल्लो प्रशोधन उद्योग संचालन गरेर अल्लोका झोला र कपडा उत्पादन गर्दै आएकी खातीले कार्यालयले गरेको सम्मानले उद्यमतर्फ उन्मुख हुन थप हौसला प्रदान भएको बताइन् ।
दिवसको अवसरमा शुभकामना दिँदै डिभिजन वन कार्यालय बझाङका प्रमुख शुम्भु तिवारीले राम्रो काम गर्ने उद्यमीहरुलाई पुरस्कृत गरेर बेला-बेलामा हौसला प्रदान गर्नुपर्ने बताए । उद्योगसँग वन पनि जोडिएकाले कच्चा पदार्थ संकलन गर्दा विनास नहुने गरी उपयुक्त समयमा संकलन गर्न समेत तिवारीले सुझाव दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले उद्यमीहरुलाई विभिन्न किसिमका तालिम दिए पनि उपलब्धि नभएको बताए । उनले भने, ‘तालिम मात्रै दिएर उपलब्धि हुँदैन । तालिम लिएर दिगो व्यवसाय गर्दैनन् । व्यवसायमा जोड दिनका लागि सहभागी छनोटमा ध्यान दिनुपर्छ । दिगो व्यवसाय गर्ने र आफू आत्मनिर्भर भएर अरूलाई पनि सीप सिकाउन सक्ने जनशक्ति घरेलुले उत्पादन गर्नुपर्छ ।’
घरेलुबाट सीप विकासका लागि जिल्लामा विभिन्न तालिमका कार्यक्रम भए पनि दिगो रूपमा व्यवसायमा नजोडिने र लगानी अनुसारको प्रतिफल नआउने भएकाले यसमा ध्यान दिन बोहराले घरेलु तथा साना उद्योग कार्यालयलाई आग्रह गरे ।
पत्रकार महासंघ बझाङका पूर्वअध्यक्ष जगदीस रोकायाले सीप सिकेर विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न राज्यले उद्यमीले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण गर्न सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘घरेलु तथा साना उद्योग कार्यालयले दिएका तालिमहरुले स्थानीयस्तरमा महिला तथा उद्यमीहरुलाई स्वरोजगार बन्ने बातावरणको सिर्जना गरिदिएको छ । आर्थिक विकासका लागि सीप आवश्यक छ ।’ कतिपय सहभागीहरुले तालिम पाएर पनि व्यवहारमा लागू नगरेको भन्दै रोकायाले आगामी दिनमा तालिमका लागि सहभागी छनोट गर्दा ध्यान दिन पनि आग्रह गरे ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख मानबहादुर धामीले कार्यालयको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै धामीले दरबन्दी एकिन गरी सो अनुसारको कर्मचारी पदपूर्तिका लागि मन्त्रालयमा माग गरेको भए पनि अझै माग सम्बोधन नभएको बताए ।