२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

नगराईन नगरपालिका शिक्षक र कर्मचारीहरू हडतालमा

ADV
कमल साह
२०८१ मंसिर १२ गते १५:५६
नगराईन नगरपालिका शिक्षक र कर्मचारीहरू हडतालमा


जनकपुरधाम : धनुषाको नगराईन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू हडतालमा उत्रेका छन । 

साउन महिनादेखि तलब नपाएको भन्दै उनीहरू हडतालमा उत्रेका हुन् ।  नगरपालिकामा संचालित १६ वटा सामुदायिक विद्यालयका  शिक्षकहरू नगराईन नगरपालिकाको कार्यालयमा गएर  बिहान १० बजेदेखि ४ बजेसम्म धर्ना दिइरहेको छन् ।

शिक्षक र कर्मचारीको हड्तालका कारण विद्यालयको पठनपाठन बन्द भएको छ । नगरपालिका अन्तर्गत रहेको विद्यालय बन्द हुँदा झण्डै ३ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् ।   

नगर प्रमुख विनय यादव र उपप्रमुख राधादेवी यादवले पालिकाको विकासको साटो राजनीति तर्फ बढी ध्यान दिएको हुँदा विद्यालयमा असर परेको एक कर्मचारीले बताए ।

नगरप्रमुख यादव काग्रेसबाट र उपप्रमुख राधादेवी एमालेबाट निर्वाचित छन् । उनीहरूको मतान्तर कै कारण समयमा साधारण सभा हुन सकेको छैन । जसका कारण शिक्षकहरू मात्र होइन, पालिका अन्तर्गतका अन्य कर्मचारीहरू पनि तलबबाट बञ्चित छन् । 

नगरपालिकाले तलब नदिएको भन्दै शिक्षकसँगै कर्मचारी र स्वास्थ्यकर्मीहरू गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रेका छन् । उनीहरू साउन महिनाबाट तलब भत्ता पाएका छैनन् ।

राजेश्वर निधि माविका प्रधानाध्यापक प्रमेन्द्र कुमार निधिले दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व सकिए पनि तलब खुवाउन नगरपालिकाले कुनै पहल नगेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर शिक्षक र कर्मचारीहरूले भाद्र २४ गते ज्ञापनपत्र पनि बुझाएका थिए ।

नगर प्रमुख यादवले चालु आर्थिक वर्ष २०८१/०८२ को नगरसभाको लागि पटक पटक म्याद राख्दा उप प्रमुखबाट असहियोग हुँदा समयमै साधारण सभा हुन नसकेको दाबी गरे ।

उपप्रमुख राधादेवीले साधारण सभाका लागि वास्ता नगरेपछि संघर्ष समितिले कात्तिक ७ गते नगरप्रमुख  यादव समक्ष दुई सूत्रीय माँग राख्दै कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रेका ह्न् ।

स्थानीय सरकार सञ्चालन कार्यविधि संशोधनसम्बन्धी भएको विवादले नगरपालिकाको नगरसभा हुन सकेको छैन । यसै कार्यविधिको विषयमा गतवर्ष शिक्षक र कर्मचारीहरू आन्दोलनमा उत्रँदा ५४ दिनसम्म पठनपाठन तथा कार्यालयहरू बन्द भएको थियो । 

शिक्षक, कर्मचारीहरूको लामो आन्दोलन पछि २०७९, माघ ३ गते दुई पक्षीय सम्झौता भएको थियो ।  प्रमुख यादवले १० असारमा नै नगरसभा गर्ने निर्णय गरेका थिए । तर, एमालेबाट निर्वाचित उपप्रमुख र अन्य  जनप्रतिनिधि अनुपस्थित रहे । उनीहरूले नगरपालिका सञ्चालन सम्बन्धि कार्यविधि संशोधन गर्नुपर्नेे अडान लिएर अनुपस्थिति जनाएका थिए ।

कार्यपालिकामा प्रमुखसहित १९ सदस्य मध्ये कांग्रेसका ५, एमालेका उपप्रमुखसहित १३ र लोसपाका १ सदस्य छन् । यता, नगरप्रमुख यादवले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको हठका कारण नगरसभा हुन नसकेको दाबी गर्छन् ।   

ADVADV

सम्बन्धित खबर

Advertise