अर्घाखाँची : विद्यालयमा कक्षाकोठा हुन्छ, डेक्स–बेन्च हुन्छन्, खेल्ने मैदान हुन्छ, पुस्तक हुन्छ । तर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरमा रहेको जनजागृति माध्यमिक विद्यालयमा कक्षाकोठा विद्यार्थी, शिक्षकसँगै मौरीका घार पनि देख्न पाइन्छ, जहाँ मौरी घन्किरहेका हुन्छन् ।
विद्यालयको आन्तरिक आम्दानी हालै बनेको नयाँ भवनको बरन्डा र छतमा मौरी पालन गरिएको छ । जसबाट विद्यालयले राम्रो आम्दानी गरिरहेको छ ।
सुरुमा शिक्षक र कर्मचारीलाई तलब दिन अप्ठयारो थियो । तलब खुवाउन र उच्च माबि संचालनका लागि विद्यालयमै मौरीपालन गरियो । यसबाट आम्दानीबाट केही राहत भयो । पछि सरकारले अनुदान दिन सुरु गरेपछि अहिले आम्दानीको रमक विद्यालयको भौतिक विकासमा खर्च गरिएको प्रधानाध्यापक पिताम्वर खनालले बताए । ‘विद्यालय सञ्चालनका लागि आर्थिक अभाव हुन थाले पछि कृषि प्रणालीअन्तरगत मौरीपाल्न थालेका हौं,’ खनालले भने, ‘यसले विद्यालय र विद्यार्थीलाई निकै फाइदा पुगेको छ भने गुणस्तरीय र सस्तो मह गाउँमा पाउँदा स्थानीय पनि लाभान्वित भएका छन् ।’
उक्त विद्यालयमा अहिले पढार्ईका अतिरिक्त विद्यार्थीसँगै शिक्षकहरूले मौरीको समेत स्याहारसुसार गर्छन् । विद्यालयले मौरीपालन गर्न थालेपछि नमुना विद्यालय बनेको स्थानीय तेजु भट्टराई बताए ।
विद्यालयमा सीमित शिक्षक दरबन्दी हुँदा निजी स्रोतबाट शिक्षक राखी कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेकाले तीन वर्ष अघिबाट आन्तरिक आम्दानीका लागि यो योजना विद्यालयले सुरु गरेको थियो ।
उच्च अध्ययनका लागि सदरमुकाम सन्धिखर्क, बुटवल काठमाडौं जानु पर्ने बाध्यतालाई हटाउन निजी स्रोतमा तलब खुवाउने गरी विद्यालयले ४ वर्ष अघि कक्षा ११ र १२ कक्षा सुरु गरेको थियो । तह बढाएसँगै शिक्षक पनि थप्नुपर्ने र तलब खुवाउन समुदायले नै आर्थिक संकलन गर्ने तथा आयआर्जनको उपायस्वरुप मौरीपालन गरिएको विद्यालय व्यबस्थापन समितिका पूर्वसदस्य हृदयकुमार भुसालले बताए ।
विद्यालयको छतमा मौरीका २० घार राखिएका छन् । केही समय परीक्षणको रूपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो हुन थालेपछि प्रत्येक वर्ष मौरीका घार थपिएको प्रधानाध्यापक खनालले बताए । ‘उत्पादन लिनका लागि खासै परिश्रम पनि गर्नु नपर्ने तथा विद्यार्थीको पाठ्यक्रम अनुसारको सीपमूलक विषय ‘पेसा व्यवसाय’का लागि प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्न सहयोग पुग्ने भएकाले विद्यालय प्रांगणमा मौरी पालेका हौं,’ खनालले भने, ‘त्यसको आम्दानीबाट विद्यालयको स्रोत बढाउन पनि सहयोग पुगेको छ ।’
विद्यार्थीले पनि पाठ्यक्रममा पढेका विषयमा प्रयोगात्मक तरिकाबाट देख्न र हेर्न पाएका छन् ।
कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले बाल विकास केन्द्रमा भर्ना गरिएका १ शिक्षकलाई अतिरिक्त सुविधा दिएको छ । उच्च माध्यमिक विद्यालयका लागि दुई जना अनुदानका शिक्षकको मात्रै दरबन्दी छ । दरबन्दी प्राप्त नहुँदा एउटै शिक्षकले सबै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । त्यही बाध्यता हटाउनका लागि विद्यालयले मौरीपालन गरी शिक्षकहरूलाई प्रोत्साहन गरेको हो ।
सीमित दरबन्दीमा संचालन भइरहेका अरु केही विद्यालयहरूले समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामूहिक तरकारी खेती, अन्न संकलन तथा खसीबाख्रा पालेर पनि शिक्षकलाई तलब खुवाउँदै आएका छन् ।