२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

उपनिर्वाचन: समाजवादीले गरे एमालेलाई र माओवादीले गरे समाजवादीका उम्मेदवारलाई समर्थन

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १७:२१
उपनिर्वाचन:  समाजवादीले गरे एमालेलाई र माओवादीले गरे समाजवादीका उम्मेदवारलाई समर्थन


काठमाण्डौं : दैलेखको महाबु गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष पदका उम्मेदवारले एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जगत हमालले एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन् । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादी र एमाले एक ठाउँमा उभिएका छन् ।

हमालले समर्थन गरेसँगै महाबुमा अध्यक्ष पदका उम्मेदवार ६ जनामात्र चुनावी मैदानमा छन् । 

एमालेबाट शाही, नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रका जंगबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर थापामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजनकुमार रावत चुनावी मैदानमा होमिएका हुन् । 

यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकामा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गरेको छ ।

माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न लिखित निर्देशन दिएका हुन् ।

‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको छ,’ पोखरेलले जारी गरेको निर्देशनमा भनिएको छ ।

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिएको उनले बताएका छन् ।

गाउँपालिका समिति भने उम्मेदवारी फिर्ता लिएकै दिनदेखि एमाले उम्मेदवार सुलोचना भण्डारी बुढाको प्रचारमा जुटेको छ । २०८४ को निर्वाचन लागि भागवण्डा गरेर एमालेलाई सर्थमन गरेको माओवादीको स्वामीकार्तिक गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले बताए । उनका अनुसार २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारी भएको छ ।

स्वामीकार्तिकमा एमाले र समाजवादीबाहेक कांग्रेसबाट पुल्तीसरा शाही पनि उम्मेदवार छिन् । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise