२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीका सिर्जना, कला र सीप प्रदर्शन गर्न हिमामा दुईदिने पढाइ मेला

ADV
दिलमाया शाही
२०८१ असार ६ गते १२:२७
विद्यार्थीका सिर्जना, कला र सीप प्रदर्शन गर्न हिमामा दुईदिने पढाइ मेला

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले दुईदिने पढाइ मेला शुरु गरेको छ । गाउँपालिकाले पालिकास्तरीय  दोस्रो पढाइ मेला आयोजना गरेको हो । बालबालिकाका प्रतिभा, सिर्जना र सीपलाई पहिचान गर्नका लागि दुईदिने पढाइ मेला आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिए । पढाइ मेलामा पालिकाभरका विद्यालयहरु सहभागी भएका छन् ।

मेलामा विद्यालयहरुले विद्यार्थीहरुमार्फत आफ्ना सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन गरेका छन् । पढाइ मेलाको प्रमुख अथिति समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रुपा विकले शिक्षा क्षेत्रमा हिमा गाउँपालिकाले गरेका काम सबैका लागि अनुसरणयोग्य रहेको बताइन् । उनले सामुदायिक विद्यालयको शिक्षा सुधारका  लागि स्थानीय सरकारले रचनात्मक काम गरेको बताइन् । 

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापित ललितजंग शाहीले शिक्षा सबैका लागि महत्वपूर्ण रहेको बताउँदै शिक्षाबिना कुनै पनि विकासको अर्थ नहुने बताए । उनले हिमाले गरेको पढाइ मेलाले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिमा गाउँपालिकाले सिर्जनात्मक र नयाँ कामको शुरुवात गरेको बताए । उनले पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने र उनीहरुको ज्ञान सीपको सम्मान गर्ने थलोको रुपमा रहने बताए ।

हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले आधारविकासको आधारशिला नै शिक्षा भएकाले पढाइ मेला सञ्चालन गरेर गुणस्तरीय शिक्षा प्रदान गरिने बताइन् । उनले बालबालिकाको भविष्य घर आँगनमा नै तयार पार्ने गरी शिक्षाको जग बसाल्ने प्रयास हिमा गाउँपालिकाले गरेको बताइन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीले पढाइ मेलाले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्नुका साथै विद्यालयको पँहुच बाहिर रहेका बालबालिकाका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा रहेको बताइन् । 

हिमा गाउँपालिकाले सामुदायिक विद्यालय सुधार, बालबालिकाको प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि नयाँ अभ्यास गर्दै आएको छ । बिहीबारसम्म चल्ने पालिकास्तरीय पढाइ मेलामा शिक्षालाई व्यवहारिक एवम् सीपसँग जोडेर शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

हिमा गाउँपालिका–१ रुपाकोट आधारभूत विद्यालयमा आयोजित पढाइ मेलामा पालिकाका सात वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल राखेका छन् । मेलामा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि सामग्री, विद्यार्थीहरूले आफैं निर्माण गरेका सिर्जनात्मक सामग्रीहरू– कथा, कविता, निबन्ध, गीत, चित्रकला, हस्तकलाका सामग्री, अन्नबाट बनाइएको नेपालको नक्सा, डोजर, जहाज, हलोलगातका विभिन्न सामग्री प्रस्तुत गरिएको छ ।

पढाइ मेलामा अन्तरविद्यालयस्तरीय देउडा, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य, कम्प्युटर टाइपिङ, मेमोरी गेमलगायतका प्रतियोगिता पनि आयोजना गरिएको छ । यस्तै स्टल प्रर्दशनमा उत्कृष्ट आउने विद्यालय र विद्यार्थीलाई पालिकाले पुरस्कारसमेत दिने भएको  छ ।

पढाइ मेलामा अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । नेत्राज्योति माध्यमिक विद्यालयका छात्रा हस्त बृहादुर रोकायाले मेलामा पढाइ सँगसँगै सीप पनि सिकिरहेको बताए । उनले आफूले बनाएको काठको डोजर पनि  प्रदर्शनीमा राखेका थिए । 

निजी विद्यालयप्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवनोपयोगी बनाउनका लागि पढाइ मेला आयोजना गरिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अनुसार विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी पनि जिम्मेवार हुन आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise