रोल्पा : रोल्पाको रुन्टिगढी गाउँपालिका–४ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन विजयी भएका छन् । नेपाली कांग्रेसका पुनले ६ सय ४३ मत लिएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन २०८१ मुख्य निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
नेकपा एमालेका उम्मेदवार बेगम पुन मगरले ५ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग शाही ठकुरीले ७० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र राप्रपाका उम्मेदवार पहल बहादुर वलीले ७ मत प्राप्त गरेका छन् । मंगोेल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार पूर्ण बहादुर बुढाले ७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हिमबहादुर पुनले १० मत प्राप्त गरेका छन् । जम्मा १ हजार ९ सय मतमध्ये १ हजार २ सय ९७ मत खसेको थियोे । जसमा २१ मत बदर भएको छ । उपनिर्वाचनमा कांग्रेस उमेदवार भुपमनी पुन नेकपा एमालेका उम्मेदवार बेगम पुन मगर भन्दा १ सय ८ को मतान्तरले विजय भएका छन् ।
रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष टंक बहादुर पुनको स्क्रब टाइफसका कारण २०८० असार २७ गते अस्पतालमा निधन भएको थियो । पुन नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए । उक्त रिक्त पदका लागि आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियोे । रुन्टिगढी गाउँपालिका–४ को उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन २०८१ मुख्य निर्वाचन कार्यालयले बताएको छ ।