पाल्पा : पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात छन् । रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्षयता व्यवसायिक रूपमा सुन्तलाखेतीमा लागेका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।
स्थानीय किसानहरूका अनुसार खेतबारीमा फल्ने धान, मकै र गहुँबाट हुने आम्दानीको तुलनामा त्यति नै क्षेत्रफलमा लगाइएको सुन्तलाबाट निकै बढी आम्दानी हुन्छ । श्रम पनि कम पर्छ । अन्न खेतीबाट भन्दा सुन्तलाबाट घरखर्च धान्न सजिलो हुने भएपछि किसानहरू सुन्तला खेतीमा आकर्षित भएका हुन् ।
रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानले पाखोबारीमा लगाएका बगैँचाबाटै वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । किसानहरू कात्तिक लागेपछि फाटफुट रूपमा सुन्तला बेच्न सुरु गर्छन् । मध्य मंसिरमा आइपुग्दा उनीहरू सुन्तला टिपेर बजार पुर्याउने प्रबन्ध गर्न व्यस्त हुन्छन् । पाकेका सुन्तलाले बगैँचा पहेँलै भएको छ । यही मौकामा रिब्दीकोट गाउँपालिका र रैनादेबी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सुन्तला महोत्सव हुने भएको छ । रैनादेबी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको सुन्तला महोत्सवको तयारी तीव्र पारिएको तानसेनमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले दुई वटा पालिका मिलेर महोत्सव आयोजना गर्न लागेकोमा खुशी व्यक्त गरे । सुन्तलाजस्तो विशेष उत्पादनले रैनादेबी छहरा र रिब्दीकोट क्षेत्रमा मात्र होइन, देशभर आर्थिक समृद्धि र रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महोत्सवले कृषक र उपभोक्ताबीचको सम्बन्ध कायम गर्ने कृषि उत्पादनलाई बजारसम्म पुर्याउने मार्ग प्रशस्त गर्नेछ । पालिकाहरूले आगामी दिनहरूमा बाँझो रहेका जमिनहरूलाई सदुपयोग गरी सुन्तला बगैँचाको रूपमा विकास गरी कृषिहरूको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमलाई प्राथमिकीकरण गर्नुपर्नेछ । स्थानीय सरकारकोतर्फबाट कृषकहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री कृषि प्रणालीको विकास गरी सुन्तलाको उत्पादन र गुणस्तर वृद्धि गर्न सहजीकरण गर्नेछ ।
कार्यक्रममा महोत्सवका संयोजक एवं रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा र रिब्दीकोट गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो हुने भएकाले महोत्सवमा माध्यमबाट प्रवद्र्धन गर्न लागिएको बताए । सुन्तलालाई सरकारले राष्ट्रिय फल घोषणा गरेको र घोषणा गरेर मात्र नहुने हुँदा उक्त घोषित सुन्तलालाई व्यवहारिकता प्रदान गर्न महोत्सव आयोजना गर्न लागिएको हो् । महोत्सवमा सुन्तला सम्बन्धी शिविर,माटो परीक्षण,बिरूवाको लागि आवश्यक सरसल्लाहसहित शिविर सञ्चालन गरिनेछ । गत वर्ष रैनादेबी छहरा गाउँपालिकाले ३ करोडको सुन्तला बिक्री गरेको थियो । महोत्सवमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट समेत कृषकहरू सहभागी हुनेछन् ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले किसानले उत्पादन गरेका सुन्तलाको बजारीकरण र प्रवर्द्वन गर्नका लागि महोत्सव गर्न लागिएको दाबी गरे । महोत्सवमा सुन्तला र सुन्तलाबाट बनाइएका परिकारहरूको प्रदर्शनी गरिनेछ ।
विशेषगरी महोत्सवमा गुणस्तरीय मापदण्ड पूरा गरी पिउनयोग्य पिय पदार्थहरूको बजारीकरण गर्ने तयारी छ । पहाडी जिल्लामा निर्वाहमूखी खेतीलाई व्यवसायी बनाइ सुन्तला खेतीका लागि बगैंचा निर्माण गर्ने गरी कृषकहरूलाई प्रेरित गर्ने खालका कार्यक्रम पालिकाले ल्याउने तयारीमा छन् । रिब्दीकोट गाउँपालिकाले गत आर्थिक वर्षमा १४ हजार सुन्तलाका बिरुवा रोपेको थियोे । गत वर्ष गाउँपालिकाभर करिब ६ करोड १५ लाखको सुन्तला बिक्री भएको अनुमान छ ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै रिब्दीकोट गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष एवं सुन्तला महोत्व २०८१ का प्रचार–प्रसार संयोजक दान बहादुर कुँवरले दुई पालिका मिलेर २ दिने महोत्सव गर्न लागिएको जानकारी दिए । पहिलो महोत्सव रिब्दीकोट वडा न ७ पालुङ्ग मैनादीमा गत वर्ष मंसिर १६ गते सम्पन्न भएको थियो । उक्त महोत्सवले किसानलाई प्रोत्साहित गरेकोले उक्त महोत्सवमा सञ्चालित सुन्तला सम्बन्धी शिविरले कृषकहरू लाभान्वित भएकोले यस वर्ष महत्सव गर्न लागिएको हो । महोत्सवमा सुन्तला र सुन्तलालाई विविधिकरण गरी परिकारहरूको बिक्री वितरण गरिनेछ । रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले पालिकाले असल अभ्यासका रूपमा किसानलाई किसान कार्ड प्रदान गरिएको,अकबरे खुर्सानी,अदुवा र बेसार कार्यक्रमका लागि १ करोड ५० लाख बजेटमा विनियोजन गरिएको बताए ।