२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

किसानको माग अनुसार बिउ वितरण गर्न माग

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २४ गते २०:५९
किसानको माग अनुसार बिउ वितरण गर्न माग

अर्घाखाँची : जिल्ला समन्वय अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार तिनै तहका सरकारले साझा योजना बनाउनुपर्ने बताएका छन् । उनले दुई तिहाई ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकोले यसको विकास बिना कृषिमा क्रान्ति हुन नसक्ने बताएका हुन् ।

कोईरालाले  भने,‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू(बिउ, मल, सिँचाइ, मेसिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पु¥याइरहेकोले अब त्यस्ता दालका समस्या समधानमा सरकार लाग्नुपर्ने बताएका हुन् ।  किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको बताउँदै  कोईरालाले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको बताउँदै यस क्षेत्रमा संवेदनशील हुनुपर्नेमा बेला आएको बताए । जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको बताउँदै अर्यालले  कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको उनको दाबी छ ।

अर्घाखाँचीका सबै  एग्रोभेट सञ्चालक तथा व्यावसायिक किसानहरूलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी गराउने उद्देश्यले  कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताए । जिल्लामा व्यवसायिक एग्रोभेट सञ्चालक र केही व्यावसायिक किसानहरूलाई विषादीको प्रयोगबारे जानकारी गराइएको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरेले जानकारी दिए ।

एग्रोभेट सञ्चालकहरू किसानहरूसँग प्रत्यक्ष जोडिएका हुनाले विषादीको प्रयोग र नियमनका बारेमा सरकारी निकायलाई भन्दा बढी जानकारी हुनुपर्ने भन्दै गोष्ठीको आयोजना गरेका ज्ञान केन्द्र प्रमुख घिमिरेले बताए । ‘कुनै पनि सिजनमा बिउमा समस्या देखिने गरेकोले किसानहरु मर्कामा नपरुन भन्नका लागि र कुनै समस्या बिउ र विषादीमा देखा नपरोस् भनेर यो गोष्ठी आयोजना गरेका हौँ’ घिमिरेले भने ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले वर्तमान प्रदेश कानुन ऐन नियम भावी योजना विषादीको प्रयोग गर्ने तरिकाबारे उनले विशेष गरी जीवनाशक विषादी व्यवस्थापन ऐन २०८१ बारे प्रस्ट पारेका थिए । 

उनले विषादीका बारेमा बनेका नीति नियमका बारेमा एग्रोभेट सञ्चालक तथा किसानहरू पूर्ण रूपमा जानकार हुनुपर्ने बताए । साथै उनले विषादी भण्डारणको ठूलो समस्या रहेको भन्दै सरकारले चाडै विषादी भण्डार गृह पनि निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाएको जानकारी दिए । बिउ बिजन प्रयोगशाला रुपन्देहीका प्रमुख दिपक सापकोटाले नेपालमा विषादीको अवस्था, कस्ता विषादीहरू प्रतिबन्धित रहेका छन् भन्ने विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थित एग्रोभेट सञ्चालक तथा किसानहरूले एक दिनको गोष्ठीले मात्र नहुने बताए । उनीहरूले विषादी जस्तो विषय प्राविधिक कुरा भएका कारण धेरै दिनको तालिमहरू उपलब्धी गराउन कृषि ज्ञानकेन्द्र अर्घाखाँची समक्ष माग गरेका थिए । 

कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, मालारानी  गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल, सन्धिखर्क नगरपालिकाका प्रवक्ता मोतिजङ रायमाझी लगायतले मन्तब्य राखेका कृषि प्रसार अधिकृत टिकाराम न्यौपानेले जानकारी दिए । अर्घाखाँची जिल्ला सदरमुकाममा व्यापार व्यवसाय गर्ने एग्रोभेट सञ्चालक विषादी बिक्रेता, स्थानीय किसानहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रम शारदा पौडेलले सञ्चालन गरेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise