२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

विभागको लफडामा नेकपा एस

ADV
घनेन्द्र ओझा
२०८१ मंसिर २५ गते ०६:४५
विभागको लफडामा नेकपा एस

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को संगठन विभागको जिम्मेवारीमा तीन जना प्रभावशाली नेताबीच प्रतिस्पर्धा देखिएको छ । सार्वजनिक रूपमै सतहमा देखिनेगरी नआए पनि उनीहरूले यस जिम्मेवारीका लागि आन्तरिक संघर्ष गरिरहेका सो पार्टीका एक केन्द्रीय नेताले बताए ।

उनले भने, ‘पार्टीमा राम्रो र शक्तिशाली भूमिका खोज्नु नेताको स्वभाव हो । संगठन विभाग पार्टीको शक्तिशाली र आकर्षक विभाग नै हो । यसका लागि दाबी देखिएको छ केही साथीहरूको ।’

नेताहरू बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, बरिष्ठ नेता डा. बेदुराम भुसाल र वर्तमान महासचिव घनश्याम भुसालले उक्त विभागको नेतृत्वमा दाबी गरिरहेका स्रोत बताउँछ ।

नेता पाण्डे विदेशमा रहेका कारण सम्पर्क हुन सकेन तर भुसालद्वयसँग यसबारे बुझ्दा यसलाई उनीहरूले स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे ।

बेदुराम भुसालले पार्टीभित्र यस्ता सन्दर्भ आइरहने भन्दै बाहिर आएजस्तो मारामारकै अवस्था भने नरहेको बताए । उनले भने, ‘हाम्रो पार्टीको महात्रिवेशनमा त हामीले सहमति र सहकार्यका साथ नेतृत्व चयन गरेका छौं, कार्यविभाजनमा त्यस्तो लडाइँ वा विवाद हुने कुरा छैन ।’

उनले कार्यविभाजन सहजै, स्वाभाविक र सहमतीय हिसाबले नै टुंगिने दाबीसमेत गरे ।

अर्का वर्तमान महासचिव घनश्याम भुसालले पनि कार्यविभाजनलाई लिएर ठूलो रडाको नभएको बताए । उनले नेताको चासो र आकांक्षा यस जिम्मेवारीमा रहने कुरालाई अन्यथा मान्न नहुने भन्दै सहमतिकै आधारमा यो विषय टुंगिने बताए । यद्यपि, यो जिम्मेवारी पार्टीको परम्परामा महासचिवले नै पाउने गरेको हुँदा आफूलाई यो जिम्मेवारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

‘हाम्रो परम्परामा संगठन विभाग महासचिवले नै हेर्ने रहेकाले यसमा सहमति हुन्छ भन्ने मलाई विश्वास छ’, उनले मध्यान्ह दैनिकसँग भने, ‘कार्यविभाजनको समयमा केही तर्क÷वितर्क र  बहस÷विमर्श हुनु सामान्य नै हो ।’

नेकपा एसमा कार्यविभाजन गर्न अध्यक्ष मधवकुमार नेपालको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् ।

कार्यदलले नेताहरूको कार्यविभाजनबारे सहमति खोज्ने प्रयास निरन्तर गरिरहेको भए पनि संगठन विभागको नेतृत्वमा देखिएको उल्लिखित ३ जनाको आकांक्षाले गर्दा कार्यविभाजनको टुंगो लाग्न नसकेको एक केन्द्रीय नेताको भनाइ छ ।

आइतबार र सोमबार बसेको कार्यदल बैठकमा सहमति गराउने प्रयास भए पनि तीनै जनाले आफ्ना आकांक्षा र अडानबाट पछि हट्ने मनशाय नदेखाएपछि बुधबारदेखि सुरु हुने स्थायी कमिटी बैठकमा कार्यविभाजनको घोषणा गर्न अध्यक्ष नेपाललाई सकस भएको छ । नेपाल बुधबार नै कार्यविभाजनको घोषणा गर्ने तयारीमा छन् ।

गत असारमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा एसले नेताहरूको कार्यविभाजन गर्न लगातार बैठक राखे पनि सहमति जुटाउन सकेको छैन ।

कार्यविभाजन गर्दा विभिन्न विभाग प्रमुख, प्रदेश तथा जिल्ला इन्चार्ज, जनसंगठन प्रमुख, आयोग प्रमुख तोक्नुपर्ने हुन्छ ।

कार्यविभाजनमा सहमति हुन नसकेमा स्थायी कमिटीमा बहुमत र अल्पमतका आधारमा निर्णयमा पुग्ने अध्यक्ष नेपालको तयारी रहेको स्रोत बताउँछ । नेकपा एसमा २१ सदस्यीय स्थायी कमिटी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise