–युवराज संग्रौला
जताततै फ्लाइ ओभर, आकाश नै फ्लाइओभरले ढाके जस्तो । तर, बाटोमा गरिबी उत्तिकै छ । सारा आम्दानी जति बाटो विस्तार र फ्लाइ ओभरमा ! तर, विज्ञानको विकास छैन, कृषिको आधुनिकीकरण छैन । शिक्षामा गुणस्तर छैन । हवाइजहाजमा लागेको भन्दा ज्यादा समय जाममा बिताउनु पर्ने । सबै काला शिशावाला निजी कार । सार्वजनिक यातायात छैन । राष्ट्रले कमाएजति शहरको व्यवस्थापनमा सकिने रहेछ । फ्याक्ट्रीमा काम गर्ने मज्दुर गरिब छ, तर मालिक अर्बपति ।
पंक्तिकारको साथीको गुनासो थियो, “किन हाम्रो समाजमा समाजवादले मौका लिन सकेन । तिम्रो देशमा बामपन्थी दलहरूको राजनीतिमा पकड छ, तर मेरो देशमा मजदुर नै बामपन्थी कुट्न जान्छ ।”
पंक्तिकारसँग जवाफ कहाँ छ र ? चीनमा कम्युनिस्ट कार्यकर्ता मार्ने च्यांङ्ग काइसेकका सिपाही गरीब नै थिए । माहात्मा गान्धीलाई गोली हान्ने व्यक्ति कहाँ पुँजीपति थिए र ? चेतना भन्ने कुरा सबैभन्दा महत्वपुर्ण हुन्छ, हुने रहेछ । मानिस सामाजिक प्राणी हो, तर सामाजिक प्राणी भिड पनि हो । जबसम्म चेतना हुन्न, त्यो सामाजिक प्रवृत्ति डरलाग्दो भिड मात्र रहन्छ ।
दक्षिण एसियाले जापान, सिंगापुर र चीनले जस्तै अधिक लगानी विज्ञानको विकासका लागि शिक्षामा लगाएको भए, आज गरिबीलाई सम्बोधन गर्ने उपाए आउने थियो । तर, हाम्रो शिक्षाको हालत बेग्लै छ । कृषिलाई आधुनिक गर्न लगानी गरेको भए, बस्ती शहरमा केन्द्रीत हुने थिएन । तर, शोषक पुँजी निर्माण गर्न गाउँ सुकाएर शहरीकरण ल्याइयो । गाउँ विकास नभई कसरी देश विकास हुन्छ ? कृषिको उन्नति होइन रिएल स्टेटको प्रवद्र्धन गर्ने विकासको ढाँचा वित्तीय पुँजीवाद हो भन्ने हाम्रो बुझाइमा परेन ।
लोककल्याणकारी अर्थशास्त्रको अनुशरण गरेर हाम्रा शहरहरुमा राज्यले जापान, कोरिया र चीनले जस्तै सार्वजनिक यातायातको प्रबन्ध गरेको भए, अहिलेसम्म शहरका बाटा ठूला र फ्लाइ ओभर बनाउने अर्बौं रकम कृषि, उर्जा र शिक्षामा लगाउन सकिन्थ्यो । तर, राजनीतिको तात्पर्य निर्वाचन र सत्ता भयो, आर्थिक विकास हुन पाएन । मानिसलाई उद्धमी बन्न भन्दा नेता बन्न रहर पलायो ।
निर्यात होइन आयात गर्ने अर्थतन्त्रले दक्षिण एसियाको ढाड भाँच्यो । भारतले चकाचक गर्यो भनिन्छ, तर नीति प्रतिष्ठानले निकालेको आँकडाले एक प्रतिशत धनिका हातमा राष्ट्रको ७५ प्रतिशत सम्पत्ति पुगेछ । कस्तो होला यो असमानता अवस्था अर्को २० वर्षमा ? हामीले त मौलीक अर्थतन्त्रको बारेमा बहस गर्नुपर्ने होला । तर, रातो दिन राजनीतिको मात्र ?
“हाम्रो मनोवृत्तिमा ठूलो समस्या छ । हाम्रो सोचमा कहीँ खोट छ । पाँच तारे होटलको अगाडि एउटा सानो गुम्ती छ । त्यहाँ एउटा बन, एक कोशा केरा र एक कप चिया खाएर मजदुर जीवन यापन गर्छ । नेताका जुलुसमा उ जान्छ र उहीँ उसका पक्षमा बोल्ने शिक्षकको हत्या गर्छ ।” पंक्तिकारको साथीको यो भनाइ हाम्रो यथार्थ हो । जनताको पक्षमा बोल्ने दर्जनौ पत्रकार यो वर्ष मारिए । तर, कर्पोरेटले चलाएका सञ्चार गृह त्यही राजनीतिको पक्षपोषण गर्छन् किनकि राज्यले उनीहरुलाई ठग्ने छुट दिएको छ । आजको अवस्था बदल्ने हो भने आजको व्यवस्था बदल्नु आवश्यक छ । त्यसैले आवश्यकता विचारको निर्माणको हो । विचारको राजनीति रोक्ने र विचारको प्रक्षेपण गर्नेका बिचको द्वन्द्व त स्वाभाविककै हो । तर, बिडम्बना जसका लागि विचारको खोजी हो त्यही विचारको खोजी गर्ने वर्ग उसैलाई सिध्याउन जान्छ । सोकृटसलाई मार्ने र लेनिन र गान्धीलाई गोली हान्ने पुँजीपति थिएनन् । नेताले देश त बनाउला, तर कुन स्रोत र साधनले ?
(लेख संग्रौलाको सामाजिक सञ्जालबाट साभार गरिएको हो ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies