२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

एमालेलाई शहरकै पीर !

ADV
शिव विक
२०८१ मंसिर २६ गते ०६:३५
एमालेलाई शहरकै पीर !

काठमाडौं : नेकपा एमालेले शहरी जनमत बढाउन आवश्यक रणनीति अख्तियार गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले गत १६ मंसिरमा सम्पन्न स्थानीय तहका रिक्त पदको उपनिर्वाचनको परिणामलाई शहरी जनमतसँग दाँजेर ब्याख्या गरेका थिए । त्यस आधारमा एमालेले शहरी जनमत बढाउन लाग्नुपर्ने निष्कर्ष निकालेको हो । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार उपनिर्वाचनको परिणामलाई समग्र रूपमा एमालेले उपलब्धि हासिल गरेको निचोड निकालिएको छ । यस्तो निचोडका पछाडि २०७९ सालको निर्वाचनमा जितेका ७ वटा पद रिक्त भएको र त्यसमा उपनिर्वाच्नबाट एउटा अध्यक्ष, २ उपाध्यक्ष र ५ वटा वडा अध्यक्ष जितेको विवरण देखाइएको छ । 

तर, कीर्तिपुरको मेयर, वडा र काठमाडौंको वडा– १६ को परिणाम सोचेअनुसार नआएको नेताहरूको स्वीकारोक्ति छ । 

उनी भन्छन्, ‘कीर्तिपुर र काठमाडौंमा सोचेजस्तो परिणाम आएन । यसमा गम्भीर भएर शहरी मतदातासँग पार्टीलाई जोड्दै जानुपर्ने निष्कर्ष निकालिएको छ ।’ 

रिक्त ४४ पदमध्ये ४१ पदका लागि उपनिर्वाचन भएको थियो । ३ पदमा भने उम्मेदवारहरू सर्वसम्मत भएका थिए, जसमा २ जना जिल्ला समन्वय समितिका प्रमुख थिए भने १ जना वडा अध्यक्ष थियो । 

४४ पदमध्ये कांग्रेसले १ नगरपालिकाको मेयर र १६ वटा वडामा जित हासिल गरेको थियो । कांग्रेसले जम्मा १७ ठाउँमा जित निकालेको थियो । 

माओवादी केन्द्रले १ गाउँपालिकाको अध्यक्ष, २ गाउँपालिकाको उपाध्यक्ष, १ नगरपालिकाको उपमेयर र ७ वटा वडा जित हात पारेको थियो । माओवादीले जम्मा ११ स्थानमा जित हात पारेको थियो । 

एमालेले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको थियो । समग्रमा ८ स्थानमा एमालेका उम्मेदवार विजयी भएका थिए । 

जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise