-डा. टीकाराम पोखरेल
चुनाव घोषणा भयो ।
पार्टीहरू गाउँतिर पस्न थाले ।
गाउँका चौतारी, शहरका चिया पसल र राजधानीका पाँचतारे होटलहरूमा तहतहका जमघट हुन थाले ।
चिया पसलमा भेला भएकामध्येबाट धनेले चियाको सुर्को लिँदै भन्यो, ‘चुनाव त बेलैमा होला जस्तो छ गाँठे !’
‘बेलैमा भए हामीलाई के, नभए हामीलाई के ? कागलाई बेल पाक्यो हर्ष न विस्मात !’, ढालबहादुरले चुरोटको धुवाँ हावामा उडाउँदै प्रतिक्रिया जनायो ।
‘ह्या ! यो ढाले पनि के कुरा गर्छ यार ! चुनाव आएपछि वर्षौंदेखि नदेखेका नेताको दर्शन गाउँमा नै पाइन्छ । तँ पनि नेताको दर्शन पाएर गति पर्छस् क्या अब । केको कागलाई बेल पाक्यो हर्ष न विस्मातको कुरा गर्छस् ? यहाँभन्दा ठूलो के खोज्छस् ?’, पानबहादुरले पान चपाउँदै व्यंग्य कस्यो ।
‘यस्ता चुनावले जनताको जीवनमा केही फरक पार्दैन । पञ्चायतकाल, बहुदलकाल, गणतन्त्रकालका सबै चुनाव देखिए । चुनाव आए, चुनाव गए । चुन्नेले चुने, चुन्न नपाउनेले चुन्न पाएनन् । चुन्न पाउनुपर्नेले चुन्न नपाएपछि चुनिनुपर्ने पनि चुनिए, नपर्ने नि चुनिए । तर, यसले हाम्रो जीवनमा कुनै परिवर्तन ल्याउन सकेन’, चिया पसले भूपाल दाइले खालि कपमा तातो चिया हाल्दै भने ।
मध्यपश्चिमको कुनै गाउँमा घर थियो भूपाल रोकायाको । जवानीमा भूपाल रोजगारीका लागि भारतका शहर चहार्थे । बालबच्चालाई राम्रो शिक्षा दिने सपना बोकेर उनले आफ्नो जवानी भारतका शहरहरूमा मजदुरी गरेर बिताए । भूपाल भारतमै हुँदा देशमा बहुदल आयो । उनले नेपालमा बहुदल आएको कुरा भारतमै सुने । बहुदल आएको मात्र सुनेनन्, बहुदल आएपछि अब जनता सुखी हुन्छन् भन्ने पनि सुने । रोजगारीका लागि अब अर्काको भूमि धाउनुपर्दैन भन्ने उनमा आशाको बीज अंकुरित भयो ।
भूपाल घर फर्के तर भूपालको आशाको बीजमा निराशा फल्यो । बहुदल आएको दशक पनि नबित्दै देशमा द्वन्द्व सुरु भयो । भूपालको घर नजिकैबाट सेनाले कर्णाली राजमार्गको ट्र्याक रोड छिचोल्यो । गाउँमा बाटो त आयो, बाटोसँगै द्वन्द्व पनि आयो । द्वन्द्व बोकेर गैरराज्य आयो । प्रतिद्वन्द्व बोकेर राज्य पनि आयो ।
राज्यको सुरक्षा डफ्फामाथि विद्रोही डफ्फाले आक्रमण गर्यो । आक्रमणमाथि प्रतिआक्रमण भयो । पक्ष र प्रतिपक्ष दुवैतर्फका हताहत भए । हताहत पक्ष र प्रतिपक्ष मात्र भएनन्, निष्पक्ष पनि भए । सेनाको ब्यारेक मात्र भत्केन, सडक नजिकै रहेका गाउँलेका झुपडी पनि भत्किए । भत्किए होइन, विभिन्न बहानामा भत्काइए, जलाइए । भूपालको झुपडी घर पनि यही चपेटामा पर्यो ।
घर ध्वस्त भएको चिन्ताभन्दा आफू बाँचेकामा भूपालले भगवान्लाई धन्यवाद दियो । तर, भोलिपल्टै उसलाई गाउँमा गैरराज्य पक्षका लडाकुलाई घरमा आश्रय दिएको आरोपमा सेनाले समात्यो । सेनामाथि लडाकुले आक्रमण गरेको पनि भूपालले नै योजना बनाएझैं गरी राज्यले उसलाई आतंककारीको नाइके समातिएको प्रचार गर्यो ।
केही समयपछि भूपाल छुटे तर उनीमाथि राज्यले निगरानी राख्यो, विद्रोही भनेर । विद्रोहीले पनि निगरानीमा राख्यो, सेनाद्वारा समातिएपछि पक्कै पनि भूपालले आफ्नाबारेमा सेनालाई जानकारी दियो भनेर ।
राज्य र विद्रोही दुवै पक्षको चपेटामा परेपछि भूपाल बालबच्चा च्यापेर शहर पसे । भूपालको परिवार विस्थापित भयो । विस्थापित त द्वन्द्वमा पक्ष र विपक्ष पनि भए तर पक्ष र विपक्षमा लडेकाहरू स्थापित भए । निष्पक्षहरू विस्थापित भएको भएकै भए । भूपाल तिनै विस्थापितमध्येका प्रतिनिधि पात्र थिए । गणतन्त्र आएपछि भूपाल गाउँ त फर्के तर उनको आश्रयस्थल थिएन । बाटोको छेउमा एउटा सटर भाडामा लिए । उनको गुजारो चिया पसल भयो ।
भूपालको चिया पसलमा गरम चियाको सुर्कोसँग चुनावी गफ पनि गरमागरम हुँदै थियो । त्यहीबेला कुनै पार्टीका १ जना मिनी नेता आइपुगे । यद्यपि, उनी टोलमा आफूलाई ठूलै नेता भन्न रुचाउँथे । उनको आकाश–पाताल कुरा सुन्दा लाथ्यो, मानौं, उनको पार्टीको सिद्धान्तकार उनै हुन् । तर, भूपाललाई के थाहा थियो भने, द्वन्द्वको त्यो रापको बेला जो भूपालले भोगे, ती आकाश–पाताल कुरा गर्ने मिनी नेता त्यसबेला जन्मेका पनि थिएनन् ।
सानो चिया पसलको मिनी चियागफमा उपस्थित सबैलाई नमस्कार गर्दै ती नेता पनि समूहमा मिसिए । समूहमा अधिकांशको धारणाा वर्तमान राजनीतिप्रति वितृष्णा र निराशायुक्त थियो । ती नेताले केहीछिन चाखपूर्वक बहस सुने र सदाझैं आफू बोल्न सुरु गरे, ‘विगतको चुनावमा जनताको पार्टीले नजितेकै कारण तपाईंहरूमा निराशा देखिएको हो । यसपालिको चुनवामा चाहिँ जनतालाई जिताउनुपर्छ । जनतालाई जिताउन जनताको पार्टीलाई भोट दिनुपर्छ । त्यसैले यस पटकचाहिँ आफ्नो मतदानमा होसियार है मित्रहरू !’
नेताजी चर्को स्वरमा राजनीतिक दर्शन छाँटिरहेका थिए । बेलाबेला उपदेश पनि बाँडिरहेका थिए । उनी हरेक वाक्यमा ‘जनताको जित’ भनिरहेका थिए । उनको कुरा सुन्दा यस्तो लाग्थ्यो, उनी सपनामा पनि जनता नै बर्बराउँछन् ।
नेताजीको मुखारबिन्दबाट राजनीतिक दर्शन र जनताको हवाला केही युवाहरू पनि चाखपूर्वक सुनिरहेका थिए । नेताको कुरामा कोही मुख बंग्याउँदै थिए, कोही मुसुमुसु हाँसिरहेका थिए ।
नेताको धारा प्रवाह भाषण र उपदेशबाट आफूलाई असह्य भएपछि एक युवाले प्रश्न गर्यो, ‘जनता भनेको को नि नेताज्यू ?’
‘जनता भनेको जनता नि ! तपाईं–हामी सबै जनता । कस्तो जनता भनेको पनि नबुझेको ?’, नेताले ती युवालाई जनता को हो भनेर बुझाउन खोजे ।
‘अनि, जनताको पार्टी भनेको चाहिँ कुन नि ?’, नेतामाथि अर्को युवाको प्रश्न तेर्सियो ।
‘हाम्रो पार्टी क्या त !’, नेताले हतारहतारमा भने । यति हतारमा भने कि मानौं, कुनै अर्को पार्टीकाले जनताको पार्टी भनेको हाम्रो पार्टी भनेर दाबी गर्छ र आफू जनताको पार्टीको रिङबाट बाहिर परिन्छ ।
‘अनि, जनताको जित भनेको नि ?’, प्रश्न एकपछि अर्को गर्दै वर्षिरहेका थिए ।
‘लौ ! हाम्रो पार्टी जनताको पार्टी भएपछि हाम्रो पार्टीको जित जनताको जित भएन त भाइ ? यो त सोध्नपर्ने प्रश्न नै भएन नि होइन र ?’। नेताले युवाप्रति अलिक दबाब बढाउने शैलीमा भने ।
‘अनि, हिजो भोट माग्ने पनि पार्टी, आज भोट माग्ने नि पार्टी । हिजो जित्ने नि पार्टी, आज जित्ने नि पार्टी । तपाईंको पार्टीले जिते नि अर्को पार्टीले जिते नि फरकचाहिँ के हुन्छ नेताजी ?’, युवाहरूको आक्रोश बढ्दै गयो ।
‘फरकचाहिँ जनताको जित के त ! मतलब, जनताको पार्टीको जित । अरू पार्टी जनताका होइनन्, हाम्रो पार्टीले जिते जनताले जित्छन्’, नेताले भने ।
‘मतलब, तपाईंँले जिते जनताको जित हुने रहेछ, अरूले जितेचाहिँ के नि ?’, अर्को युवा जोसियो ।
‘त्यो त प्रस्टै छ नि ! जनताको हार । जनताले हार्नु भएन नि ! त्यसैले जनताको जितका लागि हामीले जित्नुपर्यो क्या ! मतलब, जनताको पार्टीले’, नेताले यस पटक अलिक लेघ्रो तानेर भने ।
नेताको कुरा सुनेर युवाहरू झनै आक्रोशित हुँदै थिए । उनीहरूले एक स्वरमा नेतालाई थप प्रश्न गरे, ‘जनताको पार्टी भनेर कसरी चिन्ने ? तपाईंले भन्दैमा जनताको पार्टी अनि तपाईंले जित्दैमा जनताको जितचाहिँ कसरी मान्ने ?’
युवाको एकपछि अर्को प्रश्नले नेता अलमलमा पर्दै थिए ।
प्रश्नको ओइरो लाग्ने क्रम जारी थियो । नेताको कुरा सुनेर युवाहरूको कन्सिरीको पारो तात्दै थियो ।
‘भन्नुस् नेताज्यू, जनताको पार्टी कस्तो हुन्छ ?’
‘जनताको पार्टीको रङ कस्तो हुन्छ ?’
‘के जनताका पार्टीका सिङ पनि हुन्छन् ?’
‘कानचाहिँ कतिवटा हुन्छन् जनताका पार्टीका ?’
‘कतै जनताको पार्टीको ३ नेत्र नै त छैन ?’
‘अरू केके विशेषताहरू छन् तपाईंको पार्टीलाई जनताको पार्टी मान्ने ?’
‘कि नेपालको संविधानको कुनै धारामा नै तपाईंको पार्टी नै जनताको पार्टी हो भन्ने उल्लेख छ ?’
‘यदि छैन भने जनताको नाममा आफ्नो राजनीति गर्ने, आफू चुनाव जितेर आफैं तलबभत्ता खाने अनि जनताको जित भनेर प्रचारप्रसार गर्ने, आफूले सबै बुझेको छु ठान्ने र जनतालाई भेडाबाख्रा मान्ने तर जनताको नाम भने जपिरहने जमाना गए नेताज्यू !’
‘पहिले पनि तपाईंको पार्टीले चुनाव जितेको हो । त्योबेला चुनाव जित्दा जनताका लागि के गर्नुभो ? भ्रष्टाचार गर्नेबेलामा जनतालाई सोध्नुभो ? संसद्मा कुर्सी हानाहान गर्दा भोट दिने जनताको भोट सम्झनुभो ? मन्त्री हुँदा आफू जनताको मन्त्री जस्तो व्यवहार गर्नुभो ? फेरि पनि तपाईंको पार्टी कसरी जनताको पार्टी ? तपाईंको जित कसरी जनताको जित ?’
युवाहरूका जोसिला प्रश्न सुनेर चौतारीमा एकपछि अर्को गर्दै गाउँलेहरू थपिँदै थिए । युवाका प्रश्नहरू वर्षने क्रम रोकिएको थिएन । नेता भने चौतारीबाट लुसुक्क सुइँकुच्चा ठोकिसकेका थिए । नेतालाई उल्लीबिल्ली पार्न सकेकामा युवाहरू हर्षोल्लास मनाइरहेका थिए ।
नेता सुइँकुच्चा ठोके पनि युवाले उल्लीबिल्ली पारे पनि कथा सुइँकुच्चा ठेकेको थिएन । युवाको उल्लीबिल्लीमा कथाका पात्रका घाउहरू दुख्न छाडेका थिएनन् । कथाव्यथा त्यतै रुमलिएको थियो । गाउँमा रुमलिएको थियो, शहरमा रुमलिएको थियो, परिवारमा रुमलिएको थियो । व्यक्तिको तन तनमा र मन मनमा रुमलिएको थियो ।
त्यसो त जनताको नाममा खेलिने खेलको पनि अन्त्य भएको थिएन । पात्लेबारी कृष्ण काका वर्षले साठी पुगे पनि हलो जोतिरहेका थिए । उनको कुप्रो ढाडलाई सोझो बनाउने जाँगर जनताको पार्टीलाई थिएन ।
कति द्वन्द्वपीडितले भत्ता पाए पनि सबै विस्थापितले भत्ता पाएका थिएनन् । परिवारको बिल्लीबाठ भएको थियो । द्वन्द्वको चपेटाबाट बचेको भूपालको जेठो छोरो अरब मुलुक पुग्यो तर विदेशबाट पैसा आउला भन्दा छोरोका लास आयो ।
दिलबहादुर काका जो थिए, उनको घर केही वर्ष पहिले पहिरोमा पर्यो । घर मात्र परेन सबै परिवार एक चिहान भए । शहरमा साहुको भारी बोक्न गएका कारण उनी मात्र भाग्यले बाँचे । तर, उनी आफू भाग्यले बाँचेको भन्दा पनि सबै परिवार गुमाएर आफू बाँच्नुलाई अभागले बाँचेको ठान्थे ।
गैराघरका बेलबहादुर पोहोर सालबाट आँखा नदेख्ने भएका थिए । देश बदल्छु भनेर द्वन्द्वमा लागेको छोराले द्वन्द्वमै चोला बदल्यो । बेलबहादुरकी बूढी पोहोर साल महिनौं थला परिन् । बेलबहादुरले झारफुक नगराएका त होइनन्, तर, धामीले फुक्दाफुक्दै उनले धामीकै अगाडि देहत्याग गरिन् । उनकी एउटी छोरीमा मानसिक अपांगता थियो । उपचारको कुरै छाडौं, हेर्ने थेग्ने मान्छे नभएर दाम्लोमा बाँधेर राखिएको थियो ।
गाउँमा जीवित प्राणी थिए । हेर्दा तिनीहरू मान्छे जस्ता देखिन्थे तर यथार्थमा तिनीहरू मान्छे थिएनन् किनकि तिनीहरूको मानवअधिकार थिएन । जनता त तिनीहरू छँदै थिएनन् । जनताको अधिकार तिनलाई थाहा थिएन, लोकतन्त्र थाहा थिएन, गणतन्त्र थाहा थिएन । मात्र थाहा थियो त चुनावको बेला आउने नेताको नाम । नेताका पार्टीको नाम पनि थाहा थियो ।
हो, गाउँमा मान्छे जस्ता देखिने प्राणी थिए तर वास्तविक मान्छे थिएनन् । गाउँगाउँमा जनताको पार्टी थियो तर गाउँमा जनता थिएनन् । गाउँमा जनता
नभए पनि चुनाव आयो ।
... र चुनाव गयो ।
‘यो जित कसको– जनताको ।’
जित्नेले नारा लायो ।
कसैले चुनाव हार्यो, कसैले चुनाव जित्यो ।
होइन, होइन । कसैले हारेन । त्यहाँ हार्ने पार्टीले पनि अन्यत्र कतै न कतै जित्यो ।
हार्न त जताततै पार्टीबाट जनताको उपमा पाएको तर अधिकार नपाएको मान्छेले हार्यो र मान्छेको अधिकारसमेत नपाएको मान्छे जस्तो देखिने गाउँको प्राणीले हार्यो ।
मान्छे जस्ता लाग्ने प्राणीले हार्दै गर्दा सबैभन्दा बढी यी प्राणीहरू बस्ने देशले हार्यो । देशले एक पटक मात्र होइन, पटकपटक हार्यो ।