२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुरइ धानखोला सडकको काम तीव्र गतिमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ७ गते २०:५६
सुरइ धानखोला सडकको काम तीव्र गतिमा

अर्घाखाँची : पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सुरइ खोला, धानखोला सडकखण्डको काम तीव्र गतिले अगाडि बढिरहेको छ ।

सो सडकमा अहिले सडक ढलान, नालि निर्माण तथा सडक मर्मत, कालोपत्रेको काम तीव्र पारिएको अनुगमनमा पुगेका कार्यालय प्रमुख इन्जिनियर विवश बाबु सदादेवले बताए ।  

सडक डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सदादेवका अनुसार सुरइ खोला धानखोला सडकमा ठूला खाल्डाखुल्डी रहेको, सडक नाली बिग्रिएको तथा भत्किएको र विभिन्न मोडहरुमा समेत सडक जीर्ण भएकोले उक्त ठाउँमा सडक निर्माण भएपछि यात्रु तथा सवारी चालकहरुलाई सहजता हुने गरी निर्माणको कामलाई तीव्र पारिएको हो  । यो  सडक मर्मत नहुँदा बर्खा याममा पहिरो जाने र सडक अवरुद्ध हुने,गर्मी लागेपछि हिँड्न नै नसकिने गरी धुलो उड्ने हुँदा यात्रु र सवारी चालकहरुलाई सास्ती हुँदै आएकोले सडकले मर्मत सम्भारको काम शुरु गरेको थियो ।

राजमार्ग  स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सात सय मिटर दुई लेन सडक ढलान तथा  ३५ सय मिटर नालि निर्माण गर्ने काम अहिले दूर्त गतिमा अगाडि बढेको र अब छिटोभन्दा छिटो काम  सम्पन्न गर्ने गरी कामलाई द्रुत गतिमा अगाडि बढाएको  सडक डिभिजन प्रमुख सदादेवले बताए । 

उनका अनुसार हाल यो सडकको कामको भौतिक प्रगति ९०  प्रतिशत भन्दा माथि  रहेको र निर्माण प्रगती राम्रो रहेको छ ।  सुरइ खोला–धानखोला सडक खण्डमध्ये जतिबेला पनि बिग्रिरहने सडक सुरइ खोला–दोवाटा खण्ड अन्तर्गतको झण्डै ५ सय मिटर १ लेनको सडक ढलानको काम समेत सम्पन्न भइ अर्को लेनको काम र नालि निर्माणको काम पनि सम्पन्नको तयारीमा रहेको प्राविधिक नवीन पाण्डेले बताए ।

चोरखोला, ठाडे खोला र पैरा खोलामा पनि अहिले सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा यो सडकको जिम्मेवारी मंगलादेवी शुभास–अल्कापुरी जे.भी.ले असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम गरि रहेकोमा हाल कामको प्रगति पनि निकै अगाडि बढेको हो । 

सो सडक निर्माण गर्दा वैकल्पिक सडक नभएको कारणले पनि ट्राफिक समस्या हुने र सडकमा जताततैका गाडिहरुको प्रेसर हुने कारण निर्माण कार्यमा प्रभाव पारेको निर्माण व्यवसायीहरु बताउँछन् । दोवाटादेखि  धानखोला सम्मको सडकको पटहोल्स मर्मत सम्पन्न भइसकेकाले केही सहज भएको छ ।

त्यसैगरी शिवपुर सडक डिभिजन कार्यालयले  गोरुसिङ्गेदेखि सन्धिखर्क जोड्ने मुख्य सडकको  ६८ किलोमिटर सडक मध्येका विभिन्न भागहरुमा अहिले धमाधम कालोपत्रे  दुई लेनको सडक बनाउने कार्यको भौतिक प्रगति ८० प्रतिशत माथि पुगेको छ ।  

डिभिजन प्रमुख सदादेवका अनुसार यतिबेला  सडक चौडाइ  पार्ने  कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने नालि निर्माण गर्ने डबल कटिङ गर्ने ग्राभेल गर्ने कालोपत्रे गर्ने लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । 

त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको सदादेवले बताए  । कालोपत्रका लागि सडकको स्तर मिलाउने काम भइरहेको सदादेवको भनाइ छ  । सडकको नाली बनाउने काम पनि भइरहेको उक्त कार्यालयका इन्जिनियर पाण्डेको भनाइ छ । 

आगामी वर्ष २०८१/८२ मा लागेका ठेक्काहरु सम्पन्न गर्नका लागि बर्खा नलाग्दै काम सम्पन्न गर्नका लागि निर्धारित समयमा काम सम्पन्न नहुने हो कि भन्ने चिन्ताले  यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा कार्यालयका कर्मचारी र निर्माण व्यवसायी लागि परेको डिभिजन प्रमुख सदादेवले बताए । पथरकोटदेखि सन्धिखर्क बजारसम्म सडकको काम सम्पन्न गर्ने लक्ष्य अनुसार अहिले धेरै ठाउँमा दुई लेनको सडक बनाउन थालिएको छ ।

यस्तै अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तारको काम भइरहेको योजना प्रमुख सदादेवले बताए  । उनका अनुसार कडा चट्टान पाइएपछि यसको नयाँ प्रविधि प्रयोग गरी ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको छ ।

जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म झण्डै दुई सय मिटर कडा चट्टान र ठूलो भिर भएको  कारण साँघुरो भइ यातायात आवागमनमा समस्या भएपछि सडक विस्तारको काम शुरु गर्न सडकले टेण्डर आह्वान गरी साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेकोले  गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने कामलाई अगाडि बढाइएको छ ।  शिवपुर सडकले कपिलवस्तु जिल्लामा पनि १ दर्जन संघीय सडकहरुलाई द्रुत गतिमा अगाडि बढाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise