रौतहट : रौतहट गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले नगरपालिकाको हक र हितको लागि नगर प्रहरी परिचालन गरिने बताएका छन् । सोमबार गरुडाको तुलसीलाल स्मृति भवन हलमा गरुडा नगर प्रहरी जवान आधारभूत तालिम समूहको दीक्षान्त समारोहमा नगर प्रमुख जयसवालले यस्तो बताएका हुन् । नगर प्रमुख जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नगर प्रहरीलाई सक्षम, मर्यादित र अनुशासित बनाउने लक्ष्य अनुरूप प्रशिक्षार्थी प्रहरी जवानहरूको दीक्षान्त गराइएको थियो ।
समारोहमा नगर प्रमुख जयसवालले प्रशिक्षार्थी प्रहरी जवानहरूलाई अनुशासन, व्यवसायिकता र कर्तव्यपरायणताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिए । नगर प्रहरीको भूमिकालाई उत्कृष्ट र उदाहरणीय बनाउनु नै मुख्य उद्देश्य रहेको र विधि, प्रक्रिया र योग्यतालाई प्राथमिकता दिँदै प्रहरी छनोट गरिएको नगर प्रमुख जयसवालको भनाइ छ । नगर प्रमुख जयसवालले स्थानीय सरकार सञ्चालन ऐन र नेपालको संविधान अनुरूप गरुडा नगरपालिकाले प्रहरी ऐन बनाइ प्रक्रियागत ढंगले नगर प्रहरी स्थापनाको योजना अघि बढाएको समेत जानकारी दिए । गतिशील र स्वच्छ नगर निर्माणको परिकल्पना पूरा गर्न नगर प्रहरीले उच्च व्यवसायिकता प्रदर्शन गर्ने विश्वास लिएको नगर प्रमुख जयसवालले बताए ।
नगर प्रमुख जयसवालले तालिम पूरा गरेका प्रहरी जवानहरूलाई भविष्यमा नगरपालिकाको नीति र योजनाअनुसार जिम्मेवारी निर्वाह गर्दै गरुडा नगरपालिकालाई नमुना नगर बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
दीक्षान्त समारोहमा गरुडा ईलाका प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक ओमप्रकाश यादवले नगरपालिकाले दिएको आवासीय सुविधा र विशेष तालिमको प्रशंसा गर्दै यसलाई नमुना योजना भएको बताए । गरुडा नगरपालिकाले तालिमका लागि गरेको लगानी र व्यवस्थापनले नगर प्रहरीलाई सशक्त बनाउने उनले बताए । तालिमका संयोजक प्रहरी निरीक्षक केदार ठाकुरले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २ महिला र १२ पुरुष गरी १४ जना प्रशिक्षार्थी प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको थियो । तालिम अवधिमा उनीहरूलाई कानूनी ज्ञान, अनुशासन, भौतिक तालिम, नागरिक सुरक्षा, र नगर प्रहरीको विशेष भूमिकाका बारेमा प्रशिक्षण दिइएको जानकारी दिइएको थियो ।
दीक्षान्त समारोहमा नगर प्रहरीका पदाधिकारी, तालिम केन्द्रका प्रशिक्षकहरू, नगरपालिकाका जनप्रतिनिधिहरू र स्थानीय समुदायका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले नगर प्रहरीको यो कदमलाई स्थानीय शान्ति, सुरक्षा र समृद्धिका लागि महत्वपूर्ण रहेको बताएका थिए ।