सागर भण्डारी/मध्यान्ह
गुल्मी, १८ माघ । गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम शुरु गरेको छ । नगरपालिकाका ४ वटा वडाबाट निस्सा वितरणको काम शुरु भएको हो । पहिलो चरणमा वडा नम्बर १, २, ३ र ४ का १ सय २६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष राम मल्ल ठकुरी, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताए ।
भूमि आयोग गुल्मीका अनुसार मुसिकोट नगरपालिकामा ४५ भूमिहिन दलित, १९ जना भूमिहिन सुकुम्बासी र १७३ अव्यवस्थित बसोबासी रहेका छन् । ४ वटा वडाको काम जिल्ला मालपोत कार्यालय गुल्मी मार्फत् हुने र बाँकी ४ देखि ९ नम्बर वडासम्मको काम मालपोत कार्यालय मजुवा मार्फत् हुने भएकाले बाँकी रहेका वडाको निस्सा वितरण पनि केही दिनमा हुने भूमि आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए । भूमि आयोग गुल्मीका अध्यक्ष ठकुरीले गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिका निस्सा वितरण गर्ने दोश्रो पालिका बनेको बताए । ‘यो जग्गा प्राप्ति होइन, जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’
साथै विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न कारणले सुकुम्बासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफूहरु खटिएको बताए । नगरप्रमुख खरेलले निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने र सोही बमोजिम लालपुर्जा पाउने बताए । उनले अहिले निस्सा नपाएका नागरिकहरुलाई पनि नआत्तिन आग्रह गर्दै सबैको प्रक्रियागत हिसाबले काम हुने जानकारी दिए ।
जग्गाको निस्सा पाएपछि मुसिकोट नगरपालिका वडा नम्बर १ का लाभग्राही हरिलाल सार्कीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेका आफूहरुलाई नगरपालिकाले जग्गाको प्रमाण स्वरुप निस्सा वितरण गर्दा खुसी लागेको बताए । ‘१० वर्षदेखि बस्दै आएको जग्गालाई आफ्नो भन्न सकेको थिएनौं, अब लालपूर्जा पनि पाउँने कुराले खुसी छु, नगरपालिकालाई धन्यवाद,’ सार्कीले भने ।
गुल्मी जिल्लामा यस अगाडि रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ । जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २ सय ३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६ सय २६ जना गरी कूल २ हजार १ सय ४७ जनाको तथ्यांक रहेको राष्ट्रिय भूमी आयोग गुल्मीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies