काठमाडौं : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाइल नेपालबाट कामदार आपूर्तिको महत्वपूर्ण एजेण्डासहित बिहीबार साँझ काठमाडौं आउँदै छन् । ११ सदस्यीय मलेसियाली टोलीसहित नेपाल आउनु अघि उनले मलेसियाका विदेशी कामदार आपूर्ति गर्ने अर्को श्रोत मुलुक इन्डोनेशियाको उच्चस्तरीय भ्रमण गरेका छन् । उनी बिहीबार साँझ विशेष विमानबाट नेपाल आएर शनिबार बंगलादेश जाने बताइएको छ ।
कोरोना संक्रमणपछि निर्यातमा आधारित मलेसियाको अर्थतन्त्रको सबै क्षेत्रमा विदेशी कामदारको अभाव भएपछि गृहमन्त्री सैफुद्दिन आफैं विदेशी कामदार आपूर्ति गर्ने श्रोत मुलुकको भ्रमणमा निस्केका हुन् । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लिने बताएको छ ।
उनले नेपालबाट आपूर्ति हुन सक्ने कामदारको सीप तथा संख्याका बारेमा बुझ्ने बताइएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छलफल गर्ने तय भएको बताइएको छ ।
छलफल तथा भेटवार्तामा निजी क्षेत्रलाई सहभागी गराउने बारेमा बुधबार साँझसम्म कुनै निर्णय भएको छैन । मलेसिया कामदार पठाउने विषयमा नेपालको निजी क्षेत्रको महत्वपूर्ण संलग्नता रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का दुवै जनाले सरकारी स्तरबाट कुनै सम्पर्क नगरिएको मध्यान्हलाई जानकारी दिए ।
‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति लिएको मलेसियाले सेवा, औद्योगिक उत्पादन, कृषि तथा प्लान्टेसन र निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ । गृहमन्त्री सैफुद्दिनले इन्डोनेशियाले आफ्नो मुलुकले कार्यान्वयनमा ल्याएको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’को स्वागत गरेकोे बताएका छन् । इन्डोनेशियासँग मलेसियाले नयाँ कामदार भर्नाको अतिरिक्त आफ्नो मुलुकमा ठूलो संख्यामा अवैधानिकरूपमा रहेका इन्डोनेशियाली कामदार फिर्ताको विषय र डिजिटल प्रविधिको प्रयोगका माध्यमबाट कामदार भर्ना प्रक्रियालाई छोटो बनाउने विषय उठाएको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
इन्डोनेशिया मलेसियाका श्रोत मुलुकमध्ये पहिलो स्थानमा रहेको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले मलेसियाले नेपाललाई पनि उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies