–ओम बस्नेत
‘काँन्छोलाई बोलाइदेऊ न । नातिनीलाई पनि हेर्छु’ भनेर मृत्यु शय्यामै पुगेकी दोकाने अजीले अन्तिम इच्छा जाहेर गरिन् ।
जेठो छोरोले मूलघर सम्हालेर बसेको छ । गाउँमै पैतृक पसल चलाउँछ । कान्छो शहरमा जागिरे । दुवैका एक/एकवटी छोरी छन् ।
‘कान्छा, घर आइज न हौ ! आमाको घिडघिडो छ तँलाई हेर्ने । दबाइको पर्ची पनि ह्वाट्सएप गरेको छु, त्यो पनि लिएर आइज है भाइ !’ भनेर फोन गर्यो । कान्छाको उत्तरको वास्ता नगरी फोन काट्यो । उताबाट ‘मेरो छुट्टी ...’ भन्दै थियो तर वाक्य पूरा गर्न पाएन ।
बेलुकी घर आइपुग्यो श्रीमती र छोरी लिएर ।
‘अब मलाई यो अंग्रेजी दबाइ नगर । म पचाउनु सक्दिनँ ब्वारी’ भनेर दिक्क मान्दै दोकाने अजीले भनिन् जेठी बुहारीलाई । यो सुनेर कान्छाले बिरामी आमाको सातो खायो, ‘तपाईंलाई थाहा छ ? यो कति हजारको दबाइ हो ? यसरी खान्नँ भनेर हुन्छ ?’
यस्तो वचन सुन्दा आँखाभरि आँसु छचल्कियो आमाको । असलमा बूढीआमाले चाहेको चाहिँ छोरो नजिक बसोस्, आफ्नै हातले दबाइ–पानी गरोस् भन्ने हो तर कान्छोले के बुझ्थ्यो र !
केही दिनमा अजीको चोला उठ्यो । कान्छाकी १३ वर्षकी र जेठाकी १५ वर्षकी छोरीहरूले रोएर घात गरे । दिदी–बहिनी असाध्य मिल्थे ।
अन्त्येष्टिको भोलिपल्ट सरौको ढवाङ फोरे । सबै तिरोतारो गरेर ४५ हजार बचेछ । त्यो पैसा बोकेर हिँड्न खोज्यो कान्छो । ‘यो पैसा त दुई भाइबीचमा बराबरी हुनुपर्छ’ भन्यो जेठोले तर भाइले मानेन, ‘मेरो अफिसका साथीहरूले बेसी सरौ हालेका छन् । यसमा मेरो अधिकार लाग्छ’ भन्यो ।
छक्क प¥यो जेठो । कान्छी बुहारीले छोरीलाई तानेर बाहिर ल्याई तर छोरी रुनु थाली, ‘नाइँ, म दिदीसँग बस्छु, घर जान्नँ’ भनेर लडीबुडी गर्न थाली ।
जेठाको चित्त बुझेन । गाउँका बूढापाका बटुलेर ल्यायो । छलफल भयो । आखिरमा मरौको सरौ बराबरी भयो ।
जेठाकी छोरीले भनी, ‘बाबा ! सबै पैसा काकालाई दिनुस्, बैनी हामीसँग बस्छु भन्दै छ, म बैनीलाई राख्छु ।’
सानीले पनि ‘ठूलोबाबा ! म तपाईंहरूसँग बस्छु । म पछि धेरै पैसा कमाएर तपाईंलाई दिन्छु । त्यो पैसा सबै बाबालाई दिएर पठाइदिनुस्’ भनी । जेठाको मन कटक्क खायो र सानीलाई अँगाल्यो । कान्छोले के सोच्यो कुन्नि, ‘दाइ ! यो पैसालाई त बरु वृद्धाश्रममा दान गर्दा कसो होला ?’ भन्यो । जेठा खिस्स हाँस्यो ।