२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीलाई दुना टपरी बनाउने तालिम

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ८ गते २०:२१
विद्यार्थीलाई दुना टपरी बनाउने तालिम

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटामा रहेको  अन्नपूर्ण माध्यमिक विद्यालयले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको छ । पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत छात्र छात्राहरुलाई तालिम दिइएको हो ।

विद्यालयका प्रधानाध्यापक सुभाष चन्द्र बन्जाडेले सालको पातबाट बनाइने दुना–टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै गएकोले यसको संरक्षणको लागि तालिमको आयोजन गरिएको बताए । 

उनले भने, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना, टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । प्रत्येक सातामा हामीले विद्यार्थीलाई नयाँ व्यावहारिक ज्ञान दिने गरी सीप सिकाउँछौं ।’

विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत २ सय ४५ जना विद्यार्थीलाई उक्त तालिम दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भुसालले बताए ।

सो विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत दुना टपरी बनाउने तालिमको  शिक्षिकाहरु गोमा बन्जाडे, गोमा खड्का, सुनिता भुसाल, सीता बन्जाडेले सहजीकरण गरेको विद्यालयका शिक्षक लेखनाथ बन्जाडेले बताए ।

तालिममा विद्यालयका शिक्षक शिक्षकाहरुले सालको पातबाट बनाइने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्दे विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाएपछि विद्यार्थीहरु समेत खुसी भएको विद्यालयका सूचना अधिकारी भेषराज भुसालले बताए । विद्यालयले अतिरिक्त सीपहरु सिकाउँदा आफुहरुको पढाइ र व्यवहारिक ज्ञानमा समेत सकारात्मक प्रभाव परेको  कक्षा १० मा अध्यानरत छात्रा शोभा खड्काले बताइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise