२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

राष्ट्रियताबारे आफ्नै बोलीले दोस्रोपटक विवादमा डा. वाग्ले

Nada
मुकुन्द लामिछाने
२०८३ कार्तिक ९ गते ०६:२०
Shares
राष्ट्रियताबारे आफ्नै बोलीले दोस्रोपटक विवादमा डा. वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियता र भारतसँगको सम्बन्धबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालमा बचाउ र विरोध सुरु भएको छ । भारत भ्रमणका क्रममा डा. वाग्ले नयाँदिल्लीमा आयोजित एनडिटिभी वर्ल्ड समिट २०२६ मा सहभागी भएका थिए । त्यसक्रममा उनले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको बताएका हुन् । 

ncell

योसँगै नेपालमा पक्ष र विपक्षमा बहस सुरु भएको हो । विभिन्न राजनीतिक दलका नेता र अर्थशास्त्रीले डा. वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । रास्वपाका कतिपय नेता÷कार्यकर्ताले भने उनमको बचाउ गरेका छन् । 

नयाँदिल्लीमा आयोजित एनडिटिभी वर्ल्ड समिटमा आयोजित संवादका क्रममा वाग्लेले नेपाल र भारतबीच भौगोलिक निकटतासँगै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए । दुई देशबीच कहिलेकाहीँ समस्या देखिए पनि सम्बन्ध असाधारण रूपमा निकट रहेको उनको भनाइ थियो । ‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौं, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौं,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’सँग जोड्ने त्यो युग अब सकियो ।’

तीन वर्षअघि डा. वाग्लेले ‘साउथ एसियन मनरो डक्ट्रिन’को प्रसंग उठाएका थिए । त्यसप्रति कतिपयले राख्दै आएको शंका मेटिन नपाउँदै वाग्लेले ‘नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकियो’ भन्ने अभिव्यक्ति दिएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापा, नेकपा एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्य, एमाले नेता गोकुल बाँस्कोटा र त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले वाग्लेको अभिव्यक्तिको आलोचना गरेका छन् । उनीहरूले भारतसँग सम्बन्ध सुधार गर्ने नाममा नेपालको राष्ट्रिय स्वार्थ र सार्वभौमिकतासँग जोडिएका विषयलाई ओझेलमा पार्न नहुने तर्क गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले वाग्लेको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाली राष्ट्रवादको अवमूल्यन भएको टिप्पणी गरेका छन् । नेपाली राष्ट्रवाद कुनै खास देशको विरोधमा आधारित नभई देशको सार्वभौमिकता, स्वाधीनता र जनताको हितको रक्षामा आधारित रहेको उनको भनाइ छ ।

भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहनु एउटा विषय भएको उल्लेख गर्दै थापाले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोधी भावना नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन् । ‘विदेशी मञ्चमा गएर भारतविरोधी राष्ट्रवादको युग सकिएको भन्नु राष्ट्रिय सरोकारका विषयलाई अवमूल्यन गर्नु हो,’ थापाको तर्क छ । उनले वाग्लेले यसअघि अघि सारेको ‘साउथ एसियन मनरो डक्ट्रिन’को अवधारणासँग अहिलेको अभिव्यक्तिलाई जोड्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग सरकारको आधिकारिक धारणा मागेका छन् ।

रास्वपाले २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा नीतिगत छलफल राखेको थियो । उक्त कार्यक्रममा डा. वाग्लेले नेपालको जलविद्युतको प्रयोग, विदेश निर्यातलगायतको विषयमा भूराजनीतिलाई समेत जोडेर व्याख्या गरेका थिए । 

चीनको संलग्नता भएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीतिसँग सम्बन्धित बहसमा उनले ‘साउथ एसियन मनरो डक्ट्रिन’को प्रसंग उठाएका थिए । भारतले आफ्नो प्रभाव क्षेत्र सुरक्षित गर्न खोजेको यथार्थ बुझ्नुपर्ने र नेपालले अपरिपक्व राष्ट्रवादबाट जोगिनुपर्ने उनको तर्क थियो । ‘सबैभन्दा ठुलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइराख्या छ । अब इन्डियाले यो होल गेममा हामी अवेर (सचेत) हुनुपर्छ,’ उनले भनेका थिए, ‘चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकोमा हामी लिँदैनौं भनेर अब उसले भन्न पायो । आफ्नो स्वभरिनिटी च्वाइस पनि हो ।’

त्यसबेला विवादमा तानिएपछि डा. वाग्लेले संसद्मै जवाफ दिनुपरेको थियो । आफू गोरखाको भएको र गोरखालीको रगत आफूमा रहेको भनेर राष्ट्रियताको सन्दर्भमा अडिग रहेको सन्देश प्रवाह गरेका थिए । 

तथापि डा. वाग्लेलाई उक्त अभिव्यक्तिपछि कतिपयले शंका गर्न छाडेका छैनन् । यही बेला राष्ट्रियताबारे अर्को विवादित अभिव्यक्ति दिएको र डा. वाग्लेको पछिल्लो अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाएको बताउँछन्, एमाले प्रचार विभाग प्रमुख नीरज आचार्य । 

आचार्यका अनुसार व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीमा भारतसँग सहकार्य बढाउनुपर्छ । तर सीमा विवादलगायत द्विपक्षीय सरोकारमा नेपालको धारणा स्पष्ट रूपमा राख्न पनि उत्तिकै आवश्यक छ ।

एमाले नेता गोकुल बाँस्कोटाले भने वाग्ले भारत भ्रमणमा जाँदा नेपालविरुद्ध बोल्ने गरेको आरोप लगाउँदै उनको अभिव्यक्तिलाई कडा आलोचना गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले वाग्लेको अभिव्यक्तिको समय, मञ्च र कूटनीतिक सन्देशमाथि प्रश्न उठाएका छन् । 

अन्तर्राष्ट्रिय मञ्चमा अर्थतन्त्र र क्षेत्रीय सहकार्यबारे छलफल गर्नु सकारात्मक भए पनि भारतमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले दिएको अभिव्यक्तिको सन्दर्भलाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ ।

भुसालले नेपाल–भारत सम्बन्धका मुख्य आर्थिक मुद्दा व्यापार घाटा, गैरभन्सार अवरोध, ऊर्जा व्यापार र कालापानी–लिपुलेकजस्ता सीमा विवाद भएको उल्लेख गरेका छन् । यस्ता विषयमा नेपालको चासो स्पष्ट पार्नुको सट्टा कम विवादित विषयमा मात्रै केन्द्रित भएको भन्दै उनले वाग्लेको आलोचना गरेका हुन् ।

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘भारतविरोधी अन्ध–राष्ट्रवाद गलत हो, त्यसमा दुईमत छैन । तर, भारतविरोधी नहुनुको अर्थ नेपालका वास्तविक आर्थिक र भौगोलिक चासोहरूलाई बिर्सेर भारतीय संस्थापनकै बोलीमा बोली मिलाउनु होइन ।’

विभिन्न कोणबाट वाग्लेको अभिव्यक्तिको आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले भने उनको बचाउ गरेका छन् । भण्डारीले नयाँदिल्लीमा अर्थमन्त्रीले दिएको मन्तव्य सोचविचारपूर्ण र सुझबुझपूर्ण रहेको दाबी गर्दै त्यसलाई अनावश्यक रूपमा टीकाटिप्पणी गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

आइतबार रिपोटर्स नेपाल काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने वाग्लेको भनाइलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । ‘भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने दिन गए भनेर अर्थमन्त्रीले भन्दा कसरी राष्ट्रघाती हुन्छ ?’ भण्डारीले प्रश्न गरे । उनले विगतमा भारतको विरोध गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति देखाउने पुराना राजनीतिक दलहरूले गरेका सम्झौताहरूको पनि निष्पक्ष मूल्यांकन हुनुपर्ने बताएका छन् । 

सम्बन्धित खबर