२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

फेरि वर्षाको चिन्ता

Nada
सपना बोहरा
२०८३ कार्तिक ९ गते ०६:४०
Shares
फेरि वर्षाको चिन्ता

काठमाडौं : दसैंको टीका, जमरा र पारिवारिक भेटघाटको रौनक सकिएसँगै जनजीवन पुनः नियमित लयमा फर्किन थालेको छ । तर, चाडपर्व मनाएर काम तथा अध्ययनका लागि गन्तव्यतर्फ लाग्ने नागरिक, पाक्न लागेको धान भित्र्याउने तयारीमा रहेका किसान र पदयात्राको योजना बनाएका पर्यटकलाई मौसमको अर्को चिन्ताले सताउन थालेको छ ।

ncell

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी सातादेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक भएपछि सतर्कता अपनाउनुपर्ने देखिएको हो । सम्भावित वर्षाले दसैं बिदापछि राजधानीलगायत विभिन्न सहर फर्किने यात्रु, धान भित्र्याउने तयारीमा रहेका किसान र हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटक प्रभावित हुन सक्नेछन् ।

नेपालबाट मनसुन अक्टोबर १४ मै बाहिरिएको थियो । दसैंका अधिकांश दिन मौसम सफा रहे पनि बंगालको खाडीमा विकसित भइरहेको नयाँ मौसमी प्रणालीले आगामी दिनमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढाएको छ । विशेषगरी बिहीबारदेखि शनिबार (कात्तिक १२ देखि १५ सम्म) यसको प्रभाव बढी पर्न सक्ने मौसमविद्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार बिहीबार दिउँसोदेखि कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही स्थान तथा पहाडी भू–भागमा वर्षा हुन सक्नेछ ।

‘आउँदो बुधबार (कात्तिक ११) सम्म खासै वर्षाको सम्भावना छैन । बादल लाग्ने र कतैकतै छिटपुट वर्षा हुन सक्छ । हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहन्छ । बिहीबारदेखि भने पानी पर्ने सम्भावना देखिएको छ,’ उनले भने ।

उनका अनुसार बिहीबार राति र शुक्रबार (कात्तिक १३) मौसमी प्रणालीको प्रभाव बढी देखिन सक्छ । वर्षा र हिमपातको सम्भावना शनिबारसम्मै रहे पनि पश्चिम नेपालको तुलनामा पूर्वी क्षेत्रमा बढी प्रभाव पर्न सक्ने अनुमान छ ।

वर्षा कहाँ र कति पर्न सक्छ ?

विभागको प्रारम्भिक मौसम विश्लेषणअनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको प्रभाव बढी पर्न सक्ने देखिएको छ । पोखरेलका अनुसार प्रारम्भिक जोखिम आकलनमा मनाङसहित २९ जिल्लालाई सम्भावित जोखिमका दृष्टिले ध्यान दिनुपर्ने क्षेत्रमा राखिएको छ ।

केही स्थानमा अक्टोबर २९ देखि नोभेम्बर १ सम्म भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, वर्षाको मात्रा, प्रभावित क्षेत्र र मौसमी प्रणालीको मार्गबारे यकिन निष्कर्ष निकाल्न अझै समय लाग्नेछ ।

‘यसको अर्थ देशभर एकैसाथ भारी वर्षा हुन्छ भन्ने होइन । तर, छोटो अवधिमा ठूलो पानी परेमा त्यसले निम्त्याउन सक्ने जोखिमलाई बेवास्ता गर्न मिल्दैन,’ पोखरेलले भने ।
उनका अनुसार पहाडी क्षेत्रमा पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र तराईका केही क्षेत्रमा डुबान हुने जोखिम रहेकाले पूर्वतयारी आवश्यक छ ।

पाकेको धान जोगाउने चुनौती

सम्भावित वर्षाले सबैभन्दा बढी चिन्तित बनाउन सक्ने समूह किसान हुन् । दसैंपछि धान काट्ने, खेतबाट भित्र्याउने र चिस्यान कम गर्न सुकाउने काम तीव्र हुने समयमा पानी परेमा उत्पादन र गुणस्तरमा असर पर्न सक्छ ।

मौसमविद्हरूले पाक्न लागेको धान र काटेर सुकाउन राखिएको बाली जोगाउने व्यवस्था गर्न सुझाव दिएका छन् । सम्भावित वर्षालाई ध्यानमा राखेर स्थानीय मौसम पूर्वानुमानअनुसार बाली भित्र्याउने र सुरक्षित ठाउँमा राख्ने योजना बनाउनुपर्ने देखिएको छ ।

मौसमविद् रोजन लामिछानेले सम्भव भएसम्म आगामी चार दिन धान नकाट्न र मौसम अनुकूल हुने अवस्था हेरेर कात्तिक १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउन सुझाव दिएका छन् ।

धान काटिसकेको अवस्थामा वर्षाले बाली भिज्ने र गुणस्तरमा असर पर्ने जोखिम हुने भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यद्यपि, आइतबार, सोमबार र मंगलबार देशभर वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमी प्रणालीको अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो पूर्वानुमान नियमित रूपमा हेर्न र सोहीअनुसार कृषि कार्य तथा यात्राको योजना बनाउन महाशाखाले आग्रह गरेको छ ।

दसैंपछि फर्किने यात्रु र सडकको जोखिम

दसैं मनाउन गाउँ पुगेका नागरिक काम, अध्ययन र व्यवसायका लागि सहर फर्किने क्रमसँगै सडकमा यात्रुको चाप बढ्न सक्छ । यस्तो समयमा वर्षा भएमा पहिरोको जोखिम भएका सडकखण्डमा यात्रा प्रभावित हुने सम्भावना रहन्छ ।

विगतका विपद्ले क्षति पुर्‍याएका सडक र कमजोर भौगोलिक संरचना भएका क्षेत्रमा थप सतर्कता आवश्यक हुन्छ । लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था र मौसमसम्बन्धी सूचना लिनु, प्रतिकूल मौसममा सम्भव भएसम्म यात्रा स्थगित गर्नु तथा पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक रूपमा नरोकिनु महत्वपूर्ण सावधानी हुन् ।

दसैंपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबारको यात्राअघि मौसमको अवस्था बुझ्न सुझाव दिइएको छ ।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटकले समेत सतर्कता अपनाउनुपर्ने मौसमविद्हरूको सुझाव छ । पदमार्गमा मौसम प्रतिकूल हुन सक्ने, दृश्यता घट्ने र तापक्रममा परिवर्तन आउने भएकाले यात्रा गर्नुअघि मौसमको पछिल्लो विवरण हेर्न आवश्यक छ । पदयात्राका क्रममा मौसम बिग्रिएमा सुरक्षित स्थानमा आश्रय लिन र जोखिमपूर्ण अवस्थामा यात्रा जारी नराख्न सुझाव दिइएको छ ।

सम्बन्धित खबर