गुल्मी : तत्कालिन मर्भुङ्ग गाविससहित हालको मालिका गाउँपालिका क्षेत्रको लागि गजीन्द्र पौडेल कुनै नौलो नाम होइन ।
२९ वर्ष भारतीय सेनामा जागीर गरेका पौडेलको स्वभाव सैनिक जस्तो देखिँदैन । साधारण जीवनशैलीका गजीन्द्रले २०५४ सालमा अवकाश लिएका थिए । त्यसबेला सदरमुकाम तम्घास, बुटवल लगायत क्षेत्रमा घर घडेरी किन्ने प्रचलन व्यापक रहेपनि पौडेलले आफ्नो जन्म थलो छोड्न चाहेन । त्यहीँ मर्भुङ्गकै माटोमा लडिबुडी गरी आफ्नो दैनिकीसँगै सामाजिक कार्यमा सक्रिय रहे । विकास र सामाज सेवाको पर्यावाची जस्तैः बनेका पौडेलको पछिल्लो २८ वर्षलाई हेर्दा उनले नेतृत्व र सहभागीता नजनाएको मर्भुङ्गमा कुनै संघसंस्था छैनन् । उमेर बढ्दै गयो, तागत घट्दै तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।
तत्कालिन थानपति प्राथमिक र अहिलेको थानपति निमाविमा उनी १५ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । १५ वर्ष विद्यालयको नेतृत्व गरेका पौडेलले विद्यालयमा थुप्रै सुधारका काम गरे सिमित स्रोत साधनका बाबजुद उनको अथक प्रयासमा विद्यालयले धेरै अविस्मरणीय कार्य गर्यो । २०१५ सालमा विद्यालय स्थापना भएको विद्यालयले निमावी तह बन्नको लागि २०६६ सालसँगै पौडेलकै नेतृत्व कुर्नु पर्यो ।
अर्थात् पौडेलकै नेतृत्वमा तत्कालिन निमावी तह कक्षा ६–८ सञ्चालन भयो । विद्यालय त एउटा उदाहरण मात्रै हो मर्भुङ्गका सामुदायिक बन, मठ मन्दिर, मर्भुङ्ग स्वास्थ्य चौकी, मालिका मावी जस्ता महत्वपूर्ण संस्थामा उनको अतुलनीय योगदान छ । त्यति मात्रै होइन दघास मैदानसम्म पहिलो पटक मोटर समेत पौडेलकै नेतृत्वमा आएको थियो । २०६३ देखि २०६८ सम्म दघासको मोटर उपभोक्ता समितिको अध्यक्ष बनेर पौडेलले पहिलो पटक समैरुख, दोस्रो पटक बरारुख र तेसो पटक मैदानसम्म मोटर ल्याएका थिए । जुन अहिले यस मोटर बाटोमा बस, ट्रक समेत चल्ने गर्दछन् ।
यसरी मरभुङ्गको विकासमा अहोरात्र खटिएका पौडेलले आइतबार अर्को सहयोग छन् । उनले दघासको थानपति निमाविलाई ३५ हजार सहयोग गरेका छन् । आफ्ना स्वर्गीय बुबा लाल बहादुर पौडेलले स्थापना कालमा अध्यापन गराएको विद्यालयलाई उनले आर्थिक सहयोग गरेका हुन् । विद्यालयले पछिल्लो समय सुरु गरेको बृहत् आर्थिक अभियानलाई साथ दिने उद्देश्यले सहयोग गरेको उनले बताए । उनले भने,‘यो विद्यालय यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय हो । यसलाई फलाउने फुलाउने हामी सबैको दायित्व सम्झेर मैले मेरो बुबाको सम्झनामा सहयोग गरे ।’
पूर्व अध्यक्ष समेत रहेका पौडेलले अहिलेको कार्यसमितिले गरेको कामको समेत खुलेर चर्चा गरे । ग्रामीण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अंग्रेजी र नेपाली माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले बताए ।
अभियानबाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरी शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पूर्तिको लागि अभियान चलाइएको विद्यालय स्रोतले जनाएको छ । साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सिमलाटारी शाखामा थानपति कल्याणकारी कोष (खाता नम्बर ०१४००७००६९०४७९०००००१) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।