२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'स्टार्टअप उद्यमको विकासले घट्छ मुलुकको बेरोजगारी'

ADV
२०८१ असार ९ गते ०६:५०
'स्टार्टअप उद्यमको विकासले घट्छ मुलुकको बेरोजगारी'

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ अन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना २०५३ कार्तिक १९ गते भएको हो । तर २०४० सालमै जर्मन प्राविधिक सहयोग नियोगको सहयोगमा साना व्यवसाय प्रर्वद्धन आयोजनाको रुपमा शुरु गरिएको थियो । उद्योग व्यवसाय सञ्चालन गरेका वा चाहने व्यक्तिहरुलाई कर्जा प्रवाह, सिप तथा तालिम दिने काम प्रतिष्ठान गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा उद्यम युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रर्वतनका लागि इकोसिस्टम विकासका लागि जोड दिइएको छ । उद्यमशीलताको वातावरण बनाउन स्टार्टअप उद्यमी सहजीकरण र नियमन बोर्ड मार्फत् एक अर्बको कोष बजेटमा छुट्टाइएको छ । यिनै समसामयिक सन्दर्भमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इञ्जिनियर उमेश कुमार गुप्तासँग मध्यान्हका छबि सापकोटाले सरकारको स्टार्टअप योजना बारेमा कुराकानी गरेका छन् । 

स्टार्टअप उद्यमका लागि बजेटले प्रथामिकता दिएको देखिन्छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कस्ता योजना बनाइरहेको छ ? 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्थापना कालदेखि नै राष्ट्रको औद्योगिक विकासको लागि उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, अनुसन्धान काम गर्दै आएको छ  । उद्योग व्यवसयको विकासको लागि आवश्यक जनशक्तिको निमार्णका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवप्रर्वतक उद्यमी प्रोत्साहन गर्न स्टार्टअप उद्यमलाई विषेश प्रथामिकता राखेर सरकारले गत वर्ष भन्दा झण्डै चार गुणा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा उद्यम कर्जाका लागि एक सय ८३ वटा परियोजना छनोट भएर काम शुरु गरेका छन् । आगामी आर्थिक वर्षमा सरकारले स्टार्टअप उद्यमको विकास प्राथामिकता दिएको कारण उद्यम व्यवसाय गर्ने नवीनतम सोच र क्षमता भएका उद्यमीलाई पहिचान गरेर सरकारको ल्याएको कार्यक्रमलाई साउन देखि नै कार्यान्वयन शुरु गर्दै छौँ । यस पटक अनलाईनबाटै आवेदन लिने देखि परियोजना छनोटमा प्रतिष्ठानले आफैँ पनि अनुगमन र अध्ययन गरेर काम गर्दैछ । 

कस्ता स्टार्टअप उद्यम क्षेत्रलाई प्राथामिकता दिनुहुन्छ ? 

नेपालमा पछिल्लो समय काम गर्न सक्ने युवा जनशक्ति पलायन भइरहेको छ । पलायन समाधान होइन स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण समेत स्टार्टअप व्यवसायमा लाग्नु भएकाले गरेर देखाउनु भएको छ । नेपालमा केही गर्न सकिन्छ भनेर विदेशबाट फर्केर नयाँ स्टार्ट उद्यममा लाग्नेको संख्या समेत बढ्दो छ । त्यसैले सरकारले आगामी आर्थिक वर्षको बजेटले समेत स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको हो । विषेशगरी प्रतिष्ठानले कृषि, पर्यटन प्रवर्द्धन ,मनोरञ्जन, आइटी, स्वास्थ्य, अटोमोबाइल, खानी तथा खनिज अनुसन्धानलगायतको क्षेत्रमा प्राथिमिकता दिने काम भएको छ । नेपालमा पनि स्टार्टअप व्यवसाय गरेर धेरै राम्रो प्रगति गरेका स्वदेशी कम्पनीहरु समेत छन् । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भएको छ, यसले अझै काम गर्नका लागि सहज बनाएको छ । स्वरोजगार बन्नका लागि स्टार्टअप व्यवसायको महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समेत हामी स–साना व्यवसायलाई सिप र तालिम दिने र ठुलो व्यवसायलाई लगानी गर्ने वातावरणको बनाउँदै गएका छौं । नयाँ आर्थिक वर्षदेखि देशैभरबाट स्टार्टअप व्यवसायको खोजी गर्ने,उनीहरुलाई कसरी राज्यको तर्फबाट सहयोग गर्न सकिन्छ भनेर केन्द्रित भएका छौं । 

नेपालको अर्थतन्त्रको विकासको लागि उद्यमशीलताको आवश्यकता कति छ ? 

नेपालमा उद्यमशीलता अर्थात स्टार्टअप उद्यमको सुरुवात राम्रो छ । हाम्रोमा ठूला–ठूला उद्योग भन्दा स–साना तथा घरेलु उद्यमबाट नै अर्थतन्त्र चलायनमान भएको छ । स्टार्टअप व्यवसायमा शुरु गरेको कम्पनी अहिले हजारौंलाई रोजगारी दिने भएका छन् । हाम्रो मुलुकमा स–सानो काम मात्र गर्ने हो भने अर्थतन्त्रलाई समेत माथि उठाउने काम गर्न सकिन्छ । हामी पछिल्लो समय परम्परागत कृषि र पशुपालनबाट व्यवसायतर्फ अगाडि बढेका छौं । उत्पादनमूलक उद्योग, पर्यटन, आइटी क्षेत्रसमेत धेरै आशावादी क्षेत्र हुन् । यी क्षेत्रमा लगानी गरेर प्रतिफल राम्रै ल्याउन सक्ने अवस्था छ । सरकारको नीति तथा कार्यक्रम समेत स्टार्टअपकै रुपमा थोरै लगानीबाट उद्यमलाई अगाडी बढाउने नै छ । जसरी उद्यम क्षेत्रमा लगानी र कर्जा हुन्छ त्यसले अर्थतन्त्र ठूलो योगदान दिन सक्छ । 

नेपालमा स्टार्टअप उद्यमको प्रवर्द्धन र  विकास गर्न कस्तो अवसर छ ? 

नेपालमा उद्यम क्षेत्रमा राम्रो सम्भावना छ । तर, यसको लागि धैर्यता आवश्यक छ । अहिले आजै लगानी गरेर एकैपटक कमाई गर्ने सोच युवा पुस्तामा हुँदा स्टार्टअपमा लगानी गर्नेहरु समेत हतोत्साहित भएको देखिन्छ । तर, चिया पसलदेखि आइटी क्षेत्रमा काम गर्नेहरुको प्रगति धेरै राम्रो छ । कृषिमा माछापालन, अफ सिजनको तरकारी, फलफूल जस्ता क्षेत्रमा राम्रो आम्दानी भएको देखिन्छ । पछिल्लो समय ग्रामिण पर्यटकको लागि होमस्टेदेखि रिसोर्ट सञ्चालन गरेर राम्रो आम्दानी गरेका छन् । नेपालमा व्यवसाय गर्ने संस्कारको कमीको कारणले विदेश पलायन बढेको हो । तर, अहिले देशमै गरे हुन्छ भन्ने सोच भएका केही युवा पुस्ताले काम पनि गरेका छन् । त्यसमा उनीहरुलाई सरकारको साथ चाहिन्छ । सरकारले समेत आगामी आर्थिक वर्षको बजेटमा नै उद्यमशीलतालाई जसरी प्राथामिकता राखेको छ त्यसले स्टार्टअप व्यवसाय गर्नेका लागि अवसर बन्ने छ । 

प्रतिष्ठानले सरकार र निजी क्षेत्रसँग कसरी सहकार्य गर्छ ? 

हामी सरकारी निकाय हौं । सरकारको नीति तथा कार्यक्रम अनुसार नै हामी उद्यमशीलताको विकासको लागि काम गरिरहेका छौं । उद्यमशिलतामा सबै भन्दा बढी काम निजी क्षेत्रले गरेका छन् । हामी निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघ÷सस्था समेत सो विषयमा सहकार्य गरेका छौं । पुँजी अभावका कारण इनोभेसन क्षेत्र पलायन नहोस भनेर प्रतिष्ठानले सबैसँग सहकार्य गरेर काम गर्ने हो । यस्तै स्वदेशकै केही गर्ने चाहना भएकाको लागि विभिन्न सिप, तालिम र कर्जाको साथै उनीको व्यवस्थापनको लागि काम गरिरहेका छौँ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने निजी क्षेत्रको समेत महत्वपूर्ण योगदान छ । हामी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतको संस्थासँग समेत सहकार्य गरेर उद्यम क्षेत्रको विकासको लागि काम गरिहेको छ । हामी नयाँ उद्यमी बनाउन स्टार्टअप उद्यम कर्जाको सदुपयोग गर्ने तर्फ लागिरहेको छौं । 

ADVADV

सम्बन्धित खबर

Advertise