काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक संरचनामा समस्यामा परेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियुक्त बनेपछि मूल नेतृत्व नै कार्यबाहक जिम्मेवारीमा पुगेको हो ।
पार्टी प्रवक्ता, पार्टी महामन्त्री र पार्टी सभापति कार्यबाहक छन् । सोमबार मात्र पार्टीको सभापतिमा कार्यबाहक जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् । नेताहरूका अनुसार पार्टी सभापति लामिछानेले नै ‘अर्याललाई कार्यबाहकको जिम्मेवारी दिनू’ भनेपछि रास्वपाको सचिवालय बैठकले त्यसलाई अनुमोदन गरेको हो ।
लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध आइतबार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
रास्वपामा पार्टीका महामन्त्री र प्रवक्ता पनि कार्यबाहक नै छन् । महामन्त्री, प्रवक्ताको जिम्मेवारीबाट रास्वपाले गत २५ असारमा मुकुल ढकाललाई पदमुक्त गरेको थियो । त्यसपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिइएको छ ।
ढकालले तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको खस्कँदो स्थितिबारे उल्लेख गरेको र ती कुरा बाहिर ल्याएको अभियोगमा ढकाललाई रास्वपाले कारबाही गरेको हो ।
पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिइएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर संचार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप लगाउँदै रास्वपाले ११ भदौमा ढकाललाई साधारण सदस्यबाट पनि निष्कासित गरेको थियो । त्यसयता रास्वपाले महामन्त्री र प्रवक्ता तोकेको छैन ।
अब रास्वपाले संसदीय दलको नेतामा समेत कार्यबाहक तोक्नुपर्ने छ ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की लामिछानेको सांसद पद निलम्बनमा परे पनि सांसद पद नै खारेज भएको रूपमा बुझ्न नहुने बताउँछन् । उनी भन्छन्, ‘निलम्बनमा पर्नु भनेको पद खालि हुनु होइन । यस कारण संसदीय दलको नेता के हुन्छ भन्ने प्रश्न छैन ।’
तथापि, दलको नेता नै निलम्बनमा रहँदा संसदीय दलको बैठक बस्नुपर्दा के गर्ने भन्ने कल्पना रास्वपाको विधानले गरेको छ ।
हाल रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ छन् । अब रास्वपा संसदीय दलको बैठक बस्नुपर्दा रवि लामिछाने निलम्बनमा रहुञ्जेल श्रेष्ठले संसदीय दलको बैठकको अध्यक्षता गर्ने छन् । अर्थात्, श्रेष्ठले संसदीय दलको नेताको भूमिका निर्वाह गर्ने छन् ।
रास्वपाका एक नेता भन्छन्, ‘दलको विधानले संसदीय दलको नेताको अनुपस्थितिको कल्पना गरेको छ । यस्तो भएको अवस्थामा उपनेताले स्वतः दलको नेताको भूमिका पाउने छन् ।’
श्रेष्ठ भने यस सम्बन्धमा पार्टीको केन्द्रीय समिति र पदाधिकारी स्तरमा छलफल हुनुपर्ने अडानमा रहेको नेताहरू बताउँछन् । रास्वपाकै अर्का एक नेताका अनुसार केहीले यसअघि नै श्रेष्ठको नेतृत्वमा संसदीय दलको बैठक राख्नुपर्ने माग राखेका थिए । तर, श्रेष्ठले मानेका थिएनन् ।
संसदीय दलका नेता प्रहरी हिरासतमा रहेका बेला उपनेताको नेतृत्वमा दलको बैठक राख्दा राम्रो सन्देश नजाने भन्दै श्रेष्ठले मानेका थिएनन् । अब भने दलको नेता नै निलम्बनमा पर्ने अवस्थामा श्रेष्ठले दलको नेताको भूमिका निर्वाह गर्नुपर्ने भएको छ ।
यसका लागिसमेत केन्द्रीय समितिको बैठक र पदाधिकारीको बैठक बसेर निर्णय लिएर अगाडि बढ्ने तयारीमा रास्वपाका नेताहरू छन् ।
‘रास्वपाको विधानतः दलको नेता निलम्बनमा पर्दा उपनेताले नेतृत्व गर्ने हो । तथापि, यो एउटा खालि जिम्मेवारीको कुरा हो । जे हुन्छ, सल्लाहमै हुन्छ’, ती नेताले भने ।