२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

धैर्यताको बाँध अझैपनि टुटेको छैनः मुख्यमन्त्री आचार्य

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक १० गते २१:०५
धैर्यताको बाँध अझैपनि टुटेको छैनः मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएका घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका थिए । उनले भने,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’

आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउँदै भने,‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’

उनले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै जनताको साथ, विश्वास र समर्थनले एमाले पुनः सबल हुँदै गएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे । उनले भने,‘हामीले दुईवटा निर्णय गरेका छौं । पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने, दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’

थापाले अहिलेको परिस्थिति अस्थिर र अराजक रहेको बताउँदै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको आरोप लगाए । उनले भने,‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो, हुल अफ ल मुर्दावाद, हामी कानुनी शासनको पक्षमा छौं ।’

कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेकोले वर्तमान सरकारले चुनाव गराउन नसक्ने बताए ।

उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए ।

विश्वकर्माले भने,‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’ संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निकालिएको उक्त बृहत् सद्भाव ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट नेताकार्यकर्ता, जनप्रतिनिधि, एवम् शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise