–विदुर दाहाल
बढ्दै गएको जाडो र धुलोलाई छल्न ज्याकेट, पन्जा, मास्क र चस्मा लगाएर ठीक ४ बजे अफिसबाट घर फर्किएँ म । सडक किनारा र बस बिसौनीमा अफिस समय भएर होला, मानिसहरूको भीडभाड बाक्लो छ ।
बाइक स्पिडमा कुदाउँदिनँ म । कम स्पिडमा दौडाउने हुँदा देब्रे साइड च्यापेर चलाउँछु । सडक किनाराका मानिस कहिलेकाहीँ रोक्न हात दिन्छन् । महिला र पुरुष विभेद नगरी रोकेर आफ्नो रुट परेको ठाउँसम्म लगिदिन्छु । धन्यवाद पाएको छु धेरैबाट ।
बिदाका दिनबाहेकको एउटै रुटिन छ मेरो । घर–अफिस, अफिस–घर । घर फर्किंदा बानेश्वरमा एक जना युवतीले बाइक रोक्न इसारा गरी । रोकेँ मैले । ‘कतासम्म जानु हुन्छ ?’, मुस्काउँदै भनी उसले ।
‘कोटेश्वर छोड्दिनु न, सार्वजनिक गाडी टेकी नसक्नु छ । पठाओ तथा इनड्राइभ दैनिक रूपमा प्रयोग गर्न खर्चिलो छ । सक्दिनँ पनि । लगिदिनु हुन्छ मलाई ?’ प्रश्न खस्न नपाउँदै ‘हुन्छ’ भनिदिएँ । सोच्दै सोचिनँ । बाइक चढी ऊ ।
मलाई अलिक असजिलो लाग्यो । श्रीमतीझैँ जीउमा टाँसिएर बसी मोरी ! ‘के खालकी केटी ! चाला ठीक छैन कि क्या हो ?’, मनमनै सोचेँ ।
सामान्य परिचय मागेँ उसको । ‘नाम के हो ? अफिस छ कि के गर्नु हुन्छ ?’ मेरा प्रश्नको फटाफट उत्तर दिई उसले । ‘सहकारीमा पार्ट टाइम काम गर्छु । कोटेश्वर बस्छु । निकिता हो नाम ।’
रोकिदिएँ बाइक । झरेर गई आफ्नो गन्तव्यतिर ।
अर्को दिन पनि मलाई बानेश्वरमा भेटी, जुन ठाउँमा हिजो थिई, त्यहीँ रहिछे आज पनि ऊ । बाइक रोक्न इसारा गरी । रोकेँ मैले । बाइक चढेको केही समयपछि प्रश्न सोध्न खोजी मलाई । ‘अन्यथा मान्नु हुन्न भने मात्र सोध्छु, नत्र सोध्दिनँ ।’ सोध्न अनुमति दिएँ मैले ।
‘तपाईं सेकेन्ड ह्यान्ड हो ? मेरो मतलब तपाईं विवाहित हो ?’
अक्मक्किएँ म । के भनौं के भनौं भयो । यस्तो प्रश्न अहिलेसम्म कसैले गरेकै थिएन । अचम्मै लाग्यो ।
‘हो, म विवाहित हो ।’
उमेरले ४० भएको मान्छे विवाहित होइन भन्ने आँटै आएन । उसको प्रश्नको मक्सद बुझ्न सकिनँ । कुन कोणबाट सोधेकी हो भेउ पाइनँ । मेरो उत्तरले खुसी वा दुखी के भई ऊ, त्यो थाहा भएन । प्रश्नको उत्तर भने दिएँ र प्रतिप्रश्न उसैलाई गरेँ, ‘मानिस पनि सेकेन्ड ह्यान्ड र फर्स्ट ह्यान्ड भन्ने हुन्छ र ?’ हाँसी मात्र ऊ ।
‘मेरै बाटो भएर सधैं आउजाउ गर्नुहुँदो रहेछ । मलाई कोटेश्वरसम्म छोडिदिनु हुन्छ नि !’, अनुरोधको भाषामा प्रश्न गरी । हुन्छ भन्ने सहमति संकेत गर्दै टाउको हल्लाएँ मैले । हाँस्दै ‘बाई सी यु सुन’ भन्दै गई । बाटो पार नगरुन्जेल हेरेर बसें उसलाई ।
खै कता बेपत्ता भई २–४ दिन, भेटिनँ उसलाई । आफ्नै समयमा घर फर्किएँ । बाटो किनारामा थिइन ऊ । आफ्नै सुरमा हिँडें म । खासै महत्त्व दिइनँ उसलाई । तर, कताकता मनमा झस्का पस्यो । याद आयो ।
सधैं एउटै समयमा अफिसबाट घर निस्कन्छु । बानेश्वरमा मोटरसाइकल रोक्न हात दिई ४ दिनपछि आज । उही चिरपरिचित निकिता हो ऊ । पहिलेभन्दा अझ बढी खुलेर बोली मसँग । ‘अरू दिनभन्दा फरक ड्रेसअप ! जाडो हुँदैन ?’, जिस्क्याएँ मैले । सारी र ब्लाउजमा सजिएकी छ । झन् सुहाएको छ उसलाई । ‘पार्टी थियो कि क्या हो ?’ भनेर थपेँ । थिएन भन्ने सामान्य जबाफ दिई । थप सोधी खोजी गरिन मैले ।
बाइकबाट ओर्लने बेला कोठामा गएर चिया पिउन निम्तो गरी उसले । अर्को कुनै दिन भनेर तर्किएँ । खासमा म डराएँ ।
बेलाबेलामा आइरहने हनी ट्र्यापको समाचार सम्झिएँ । आफू पनि हनी ट्र्यापको फन्दामा परेको कल्पना गरें । बेस्सरी झस्किएँ । यदि त्यसो भए सबै कुरा बर्बाद हुन्छ । घर परिवार र अफिसमा बेइज्जत हुन्छ । कमाएको इज्जत र सम्पत्तिको स्वाहा हुन्छ ।
वनको बाघले खाला, नखाला, मनको बाघले खायो मलाई । जाती केटी होइन कि क्या हो ? रेस्टुरेन्टमा खाजा खाँदा कोठामा एक्लै बस्छु भनेको याद आयो मलाई । सजग हुनुपर्छ भन्यो अन्तरमनले आफैंलाई ।
धेरै दिन बाइक रोक्न हात दिई उसले । रोक्न अनुरोध गरेपछि नरोकी हिँड्न सकिनँ । केटी मान्छे देखेपछि केटा मान्छे पग्लन्छ भन्थे । हो रहेछ । ममा पनि त्यही नियम लागू भयो । सधैं गन्तव्यसम्म लगिदिएँ उसलाई । अलिक पछि उसले हात नदिए पनि आफैं रोक्न लागें । कोटेश्वरसम्म पु¥याउने दैनिकी नै भयो मेरो ।
धेरै दिनपछि ऊ आफ्नै जस्तो लाग्यो । जुन रूपमा उसलाई बुझ्न खोजेको थिएँ, त्यस्तो होइन रहेछ । महिनौंको संगतले ऊसँगको डर पूरै हरायो । एक्लोपन निवारण गर्न विश्वासिलो साथीको खोजीमा रहिछे ऊ । त्यो स्वाभाविक र प्राकृतिक कुरा लाग्यो मलाई । दोष उसको होइन । अरू गलत नियत नरहेको प्रस्ट बुझें मैले ।
अरू दिन जस्तै कोठामा गएर खाजा खान कर गरी उसले आज पनि । कोठामा होइन, रेस्टुरेन्टमा गएर खाजा खाने भनेँ । कोठामा जान तर्किएँ । ‘कोठामा तिमीले खाजा बनाउनुपर्छ । गफै हुन्न । होइन र ?’ भनें मैले । सहमत भई मेरो कुरामा । झन्डै १ घण्टाको रेस्टुरेन्ट बसाइमा आफ्नो बेलिबिस्तार लगाई उसले ।
‘सासू–ससुराको दैनिक कचकच । पढेलेखेकी मान्छे, घाँस–दाउरा गरेर गाउँमा बसी भनेर खिस्याउने कम भएनन् मलाई ! आत्मग्लानि भयो । अनुत्पादक काममा जीवन बितेको अनुभूति भयो । श्रीमान् विदेशमा । निरस जीवन बिताएर गाउँमा बस्न सकिनँ । यो मेरो कमजोरी पनि हुन सक्छ । त्यसै भएर शहर आएँ । तपाईंसँग भेट भयो’, उसले एकै सासमा भनी ।
अविवाहित केटाहरू मनपर्दैन रे उसलाई । विवाह गर्न कर गर्छन् रे ! छिटो आवेगमा आउँछन् । झनक्क रिसाउँछन् । ‘विदेशमा श्रीमान् हुँदाहुँदै विवाह गर्न सक्दिनँ । मिल्छ त ?’, मलाई पो प्रश्न गरी उसले ।
खासमा विवाहित पुरुषलाई साथी बनाउन चाहेकी रहिछ । बल्ल उसले पहिले सोधेको प्रश्नको मक्सद बुझें मैले ।
मलाई भेटेर खुसी लाग्यो रे उसलाई । ऊ भन्दै गई, म सुन्दै गएँ । ‘लाइफ शेयर गर्ने र जीवनसाथी बन्ने होइन, घुम्ने र रम्ने साथी बन्न सक्नु हुन्छ तपाईं’, उसले भनी । यति प्रस्ट आइमाई मान्छे अहिलेसम्म भेटेकै थिइनँ मैले । पश्चिमा जगत्की स्वच्छन्द महिलाझैं लाग्यो मलाई ऊ ।
अचम्मकी रहिछ । सोचेभन्दा फरक । खाजा खाएको र चिया पिएको पैसा पटक–पटक उसैले तिरी । मलाई तिर्नै दिइन । केटा मान्छेको खाने र पैसा खर्च गराउने खालकी होइन रहिछ । अरू महिलाभन्दा बिलकुलै भिन्न । बिल तिर्छु भन्दा ‘पछि तिर्नु होला, अहिले म तिर्छु’ भन्थी । पैसा दिन लागेका मेरा हात पटक–पटक समाई उसले । यसरी नै दिन र महिनाहरू बित्दै गए ।
अन्ततः उसको कोठामा नगई सुखै दिइन मलाई । पहिलो पटक उसको कोठामा गएँ म । अलिक फरक हाउभाउ प्रस्तुत गरी अरू दिनभन्दा । नरमाइलो मानी । ‘मेरो भिसा लाग्यो । केही दिनपछि विदेश जाँदै छु । श्रीमान्सँगै हुने छु’ भन्दै असल साथी बन्नेकामा धन्यवाद दिई मलाई ।
मैले पनि विदेश यात्राको शुभकामना र बधाई दिएँ उसलाई । ‘विदेश गए पनि नबिर्सनू है !’ भनें । रोई ऊ । परिचित मान्छे टाढा हुन लाग्दा नरमाइलो लाग्यो मलाई ।