दोहा, कतार : कतारको नेपाली नियोगमा शुक्रबार आयोजित कार्यक्रममा कतारका लागि नवनियुक्त नेपाली राजदूत समक्ष समस्या र सुझावका चाङ लागेका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, (एनआरएनए एनसीसी) कतारको समन्वयमा कतारमा स्थापित सम्पूर्ण संघसंस्थाहरूद्वारा आयोजित कतारका लागि नवनियुक्त नेपाली राजदूत रमेशचन्द्र पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले समस्या राखेका हुन् ।
कार्यक्रममा उनीहरूले श्रम रिन्युको अप्रुभल समयमै नहुने र दूतावासमा फोन गरेर अथवा दूतावास नै जानुपर्ने बाध्यता रहेको, पासपोर्टको स्लट नखुल्ने, आजाद भिसामा बसेकालाई कम्पनीले समयमा आईडी नलगाइदिँदा श्रमिकले पीडा भोगेको समस्या राखे ।
नेपाली दूतावासको टेलिफोन नउठ्ने र फोन उठे पनि ठाडो जबाफ दिने गरेको प्रति वक्ताहरू रुष्ट देखिए । वक्ताहरूले दूतावासका कर्मचारीमा शिष्टता नभएको गुनासो राजदूत समक्ष गरे ।
नेपालमा सरकार परिवर्तनसँगै राजदूतको कार्यकाल निर्धारण हुने अस्थिरताप्रति समेत वक्ताहरूले चिन्ता व्यक्त गरे । उनीहरूले अन्य समस्याका चाङ भए पनि राहदानीकै समस्याले अन्य मुद्दाहरू ओझेलमा पारेका प्रति दुःखसमेत व्यक्त गरे ।
नियोगले गत हप्तादेखि जारी गरेको ह्वाट्सएप सुविधालाई लक्षित गर्दै राहदानीका लागि पठाइएको म्यासेजको जबाफ नपाएको भन्दै वक्ताहरूले असन्तुष्टि पोखे ।
राजदूत कुनै दलको नभएर कतारमा रहेका नेपालीहरूको अभिभावक हुने हुँदा श्रमिकका समस्या चुस्त रूपमा समाधान गर्नका लागि कदम बढाउन सुझाव दिए । कतारमा रहेको नेपालीको जनसंख्याका आधारमा राहदानी जारी गर्न राजदूतमार्फत परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदै दूतावासले समाधान गर्न नसकेका श्रमिकको समस्या कतारमा रहेको मानवअधिकारलाई रिफर गर्नसमेत उनीहरूले सुझाव दिए ।
कतारका अमिरको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र अमिरबीच भएका २ वटा सम्झौता र ६ वटा सहमतिलाई फलोअप गर्न अनुरोध गर्दै वैदेशिक लगानी नेपालमा भित्र्याउन पहल गर्न राजदूतलाई अनुरोध गरे । नेपालबाट दक्ष जनशक्ति कतारमा भित्र्याउन र कतारका अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीलाई नेपाल लैजान सहजीकरण गर्ने कार्यमा दूतावास चुकिरहेको वक्ताहरूको भनाइ थियो ।
कतारमा फ्रि भिसाका नाममा लाखौं असुली हुने गरेको प्रति चिन्ता व्यक्त गरे । दूतावासमा खराब शीर्षकमा उजुरी परेका कुनै पनि कम्पनीको डिमान्ड पुनः स्वीकृति नगर्न सुझाव दिए । उनीहरूले दूतावासले पटकपटक केस परेका कम्पनीको पनि डिमान्ड स्वीकृत हुने गरेको प्रति रोष व्यक्त गरे ।
नेपाली दूतावासले छिटो कल्चरल हाउस खोल्न सके हप्तैपिच्छे बाहिरिने लाखौं रुपैयाँ नेपालमा भित्रिने हुँदा कल्चरल हाउसको आवश्यकतालाई प्राथमिकता दिन सुझाव दिए । जेलमा रहेका नेपालीहरूलाई नेपाल फर्कन सबै किसिमको सहयोग गर्न दूतावास अग्रसर नभएको पनि उनीहरूले गुनासो गरे ।
कतारमा नेपाली विद्यालयको व्यवस्थासहित कतारका युनिभर्सिटीमा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको पहल गर्न उनीहरुले आग्रह गरेका थिए । कतारमा ‘म सीआईडीको मान्छे हुँ’ भन्दै गुण्डागर्दी गर्ने, धम्की दिने तथा ठग्ने कार्य भइरहेको हुँदै त्यसलाई रोक्न र त्यस्ताविरुद्ध उजुरी परेमा दूतावासले आवश्यक कारबाही गर्न हिचकिचाउन नहुने बताउँदै कतिपय तराईवासीलाई भाषामा समस्या पर्ने गरेको हुँदा सहजीकरण गरिदिन आग्रह गरे ।
दूतावासभित्र पनी नहुने र आसपास पनि फोटोकपी र प्रिन्ट गर्न स्थान नहुँदा दूतावास बाहिरका बिचौलिया सोझा नेपाली ठग्ने गरेको बताउँदै फोटोकपी मेसिन राख्न आग्रह गरे । कतारमा जन्मिएका बच्चाहरूलाई राहदानीका लागि कानुनी सहजीकरण प्रभावकारी नभएको प्रति अभिभावकहरूले चिन्ता व्यक्त गरे ।
कतारमा कानुनी लडाइँका लागि श्रमिकलाई चर्को शुल्क लाग्ने हुँदा न्यूनतम शुल्कमा कानुनी व्यवसायीको व्यवस्था दूतावासले गर्न सके र दूतावासमा आवश्यकताअनुसार पीआरओ थप्न पनि सुझाव दिए । वक्ताहरूले नेपाली दूतावाससँग साक्षात्कार कार्यक्रम निरन्तरताको आवश्यकता औंल्याए ।
वक्ताहरूले जनप्रतिनिधिका रूपमा कार्यकारिणी भूमिका निर्वाह गरिसकेका व्यक्तिलाई हुँदा उक्त अनुभव कतारमा रहेका नेपालीहरूले महसुस गर्न पाइयोस् भन्दै कतारमा रहेका नेपालीहरूले कतारको कानुन र रीति रिवाजलाई सम्मान गर्न आग्रह गरे ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभाध्यक्षता तथा राजदूत पौडेलकै प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राजदूत पौडेलले आफ्नो कार्यकाल भर्खर सुरु भएको र परिचयात्मक कार्यक्रम भनेर बोलाइए पनि गुनासा र समस्याका चाङ सुन्दा अलिक अप्ठ्यारो महसुस भएको बताए । उनले प्रत्येक समस्या र गुनासालाई समाधान गर्न आफूले पहल गर्ने बताउँदै दूतावास भनेको राजदूतको वान म्यान आर्मी नहुने हुँदा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
उनले पासपोर्ट भनेको विदेशमा नेपालीको परिचयपत्र रहेको हुँदा यो समस्यालाई सम्बोधन गर्दै जाने बताए । कुनै पनि नेपाली पासपोर्टका कारण कुनै पनि अधिकारबाट बञ्चित हुनु हुँदैन भन्नेतर्फ आफू सचेत रहेको बताए ।
एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकमुष्ट आसन ग्रहण गराइएको थियो । महासचिव रविन मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भट्टले श्रमिकका समस्या समाधानका लागि एनसीसी कतार सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा आफ्ना विचार राखेर हलबाट बाहिरिने प्रवृत्ति पनि कतारका नेपाली समाजका अग्रज तथा संस्था प्रमुखले सुधार्न सुझाव दिए ।
कार्यक्रममा कतारमा स्थापित ६ दर्जनभन्दा बढी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।