२०८२ असोज २१ गते मङ्गलवार / Oct 07 , 2025 , Tuesday
२०८२ असोज २१ गते मङ्गलवार
Ads

ओली–लेखकबिरुद्धको जाहेरी प्रहरीले आयोगमा पठाउने, बालेन–सुदनबिरुद्ध अखिलकाे जाहेरी

shivam cement
मध्यान्ह
२०८२ असोज २१ गते १७:३४
ओली–लेखकबिरुद्धको जाहेरी प्रहरीले आयोगमा पठाउने, बालेन–सुदनबिरुद्ध अखिलकाे जाहेरी

प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबिरुद्ध मृतकका परिवारले दिएको जाहेरी अन्ततः दर्ता गरेको छ । तर, ती जाहेरीबारे प्रहरीले अनुसन्धान भने गर्ने छैन । 

ओली र लेखकबिरुद्ध परेको जाहेरी २३ र २४ भदौंमा भएको प्रहरी दमन तथा विध्वंसबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ । जाहेरी जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले उतै पठाएको प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले बताएका छन् । आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमित संयन्त्रबाट काम कारबाही नहुने भन्ने गृह मन्त्रालयको निर्णय अनुसार प्रहरीमा आएका उजुरी, जाहेरी र सूचना उतै पठाइने उल्लेख गर्दै उनले भने, ‘आएका जाहेरी दरखास्त पनि त्यहीँ पठाएका छौं।’
२३ भदौंको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवाका परिवारका तर्फबाट पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दरखास्त दिएका थिए । 

तत्कालीन प्रधानमन्त्री ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेकोभन्दै किटानी जाहेरी दिइएको थियो । गृहमन्त्री ओमप्रकाश अर्याल जाहेरी लिएर उनीहरुलाई पक्राउ गर्ने पक्षमा थिए । तर, प्रहरीले पर्याप्त कानुनी आधार नभएकोभन्दै पक्राउ पुर्जी लिनसमेत मुस्किल हुनेभन्दै असहमति जनाएको थियो । ‘गोली चलाउने आदेश प्रत्यक्षतः प्रधानमन्त्री र गृहमन्त्री वा आईजीपीले दिने हैन, प्रमुख जिल्ला अधिकारीले दिने हो । जाहेरीका भरमा पक्राउ गर्दै जाने हो भने बालेन शाह र सुदन गुरुङलाई पनि पक्राउ गर्नुपर्ने हुन्छ । त्यो अवस्थामा मुलुक मुठभेडमा जान्छ भन्दै उच्च प्रहरी अधिकारीले गृहमन्त्री अर्याललाई सम्झाएका थिए’ प्रहरी स्रोतले भन्यो ।

सोमबार मध्यरात गृह मन्त्रालय र बालुवाटारमा ओली र लेखकलाई पक्राउ गर्ने आधार खोज्दै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल र चार वटै सुरक्षा प्रमुखहरुले लामो छलफल गरेका थिए । कानुन आधार नहुँदा पक्राउ पुर्जी जारी गराउनै मुस्किल हुनेभन्दै आईजीपी चन्द्रकुबेर खापुङले पक्राउ नै गर्ने भए प्रधानमन्त्रीको लिखित आदेश मागेका थिए ।  त्यसपछि भने कार्की र अर्याल हच्किएका थिए । 

जेनजी आन्दोलन दमनबाहेक अरु मुद्दामा उनीलाई पक्राउ गर्नेबारे गृहमन्त्री अर्यालले गृहकार्य गरिरहेका छन् । लेखकलाई भिजिट भिसा प्रकरण र ओलीलाई गिरिबन्धु टी स्टेटमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको गृहस्रोतले बतायो ।  

पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्न सरकारले कानुनी आधार खोजिरहेका बेला उनको पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध उजुरी दिने भएको छ।

अनेरास्ववियुका महासचिव दीपक धामीले जिल्ला प्रहरी परिसरमा उनीहरुबिरुद्ध उजुरी दिन लागेको बताएका छन् । ‘बालेन र सुदन गुरूङविरूद्ध उजुरी लिएर हामी प्रहरीमा जाँदैछौं,’ उनले भने। सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, बालुवाटार, संसद् भवनलगायत सरकारी कार्यालय र नेताहरूको घरमा भएको आगजनीमा उनीहरुको उक्साहट र संलग्नता रहेको अनेरास्ववियुको आरोप छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise