२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

अर्घाखाँचीका शक्तिपीठहरूमा ‘सराएँ नाच’ सँगै दशैं समापन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज २१ गते २०:४६
Shares
अर्घाखाँचीका शक्तिपीठहरूमा ‘सराएँ नाच’ सँगै दशैं समापन

अर्घाखाँची : हिन्दु–नेपालीहरूको महान् पर्व बडादशैंको दिनदेखि कोजाग्रत पूर्णिमासम्म अर्घाखाँचीका विभिन्न शक्तिपीठहरूमा परम्परागत ‘सराएँ नाच’ ले जिल्लाबासीमा उत्साह थप्ने गरेको छ ।  अर्घाखाँचीको मौलिक धार्मिक नाच मानिने ‘सराएँ नाच’मा महिला र पुरुषहरू हातमा तरवार, खुँडा, खुकुरी आदि लिएर ‘डुङ डुङ वाखै भाइ हो...’भन्दै नाच्ने परम्परा छ ।

हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना, समुदायबीच धार्मिक सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘सराएँ नाच’ निकाल्ने चलन सुरु गरिएको स्थानीय बुढापाकाहरू बताउँछन् । यस नाचमा महिला–पुरुष मात्र नभइ सबै जात, धर्म र भाषाका मानिसहरू सहभागी हुने भएकाले यो नाच एकता र सहअस्तित्वको प्रतिकका रूपमा विकसित भएको मानिन्छ ।

विजयादशमीको टीकादेखि जिल्लाका सबै कोटमा सुरु भएको सराएँ नाच कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ । पूर्णिमाको दिन सन्धिखर्क–९ अर्घामा विशेष मेला लाग्ने गर्छ भने भूमिकास्थानको ढिकुरा, सुवर्णखाल, पाणिनीको मैदान, सितगंगाको जुकेना लगायत जिल्लाका अधिकांश शक्तिपीठहरूमा नाचिएपछि यस वर्षको दशैं औपचारिक रूपमा समापन भएको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिए ।

भुसालका अनुसार अर्घा भगवती मन्दिरमा सराएँ नाच, पूर्णिमा मेला र फूलपाती विसर्जनसँगै यस वर्षको दशैं समाप्त भएको हो । तरवार, खुँडा, खुकुरीसहित देवीको प्रतीक ‘आलम’ लिएर पञ्चेबाजाको तालमा नाचिने यो नाच देवी खुसी हुने जनविश्वासमा आधारित रहेको पुजारी विष्णु भुसालले बताए ।

यस नाचको क्रममा अर्घाखाँचीका विभिन्न ठाउँहरूमा एकादशीका दिन सन्धिखर्क भुमिकास्थान चौतारा, द्वादशीका दिन शितगंगा–ठाडादह, त्रयोदशीका दिन सन्धिखर्क–खाँचीकोट, नुवाकोट–ताराखसे, पाकु, मालिका, चतुर्दशीका दिन हंसपुर–राँगामारे, कुर, र पूर्णिमामा सुवर्णखाल तथा रानीगैरमा नाचिने गर्छ । हरेक वर्ष करिब तीन लाख जनाले सहभागी हुने अनुमान गरिएको छ ।

रुपन्देही र कपिलवस्तुमा बसाइँ सरेका अर्घाखाँचीवासीहरूले पनि असोज २१ गते रुपन्देहीमा सराएँ नाच आयोजना गरेका थिए । अर्घाखाँची सम्पर्क समाज रुपन्देहीका अध्यक्ष टिकाराम बञ्जाडेका अनुसार बसाइँ सरेका बासिन्दाले सराएँ नाचको परम्परा अन्य जिल्लामा पनि फैलाइरहेका छन् । 

सराएँ नाच अर्घाखाँचीसँगै गुल्मी र प्युठानमा पनि प्रचलित छ । किम्वदन्ती अनुसार देवीले राक्षस महिषासुर र शुम्भलाई वध गरेको खुसीयालीमा यो नाच सुरु भएको हो । वरिष्ठ पण्डित विष्णु प्रसाद मरासिनीका अनुसार देवीको विजय उत्सवको प्रतिकका रूपमा सराएँ जात्रा प्रचलनमा आएको हो । 

खाँचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावती र गोरखाका राजा नरभूपाल शाहबीचको वैवाहिक सम्बन्धका कारण खाँचीकोट दरबारलाई ऐतिहासिक दृष्टिले विशेष मानिन्छ । स्थानीय चुराबहादुर केसीका अनुसार यही सम्बन्धका कारण त्रयोदशीका दिन खाँचीकोटमा सराएँ नाच विशेष रूपमा मनाइन्छ ।

स्थानीय समाजसेवी गणेश थापाका अनुसार चन्द्र प्रभावतीले माइतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासनपद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी ज्ञान दिएको मान्यता छ । त्यसैले खाँचीकोट दरबारलाई नेपालको एकीकरण इतिहाससँग पनि जोडेर हेर्ने गरिन्छ ।

अर्घादरबारमा लाग्ने सराएँ जात्रालाई यस क्षेत्रकै सबैभन्दा ठूलो धार्मिक सांस्कृतिक उत्सव मानिन्छ । अर्घा भगवती मन्दिर अहिले आकर्षक रूपमा पुनर्निर्माण गरिएको छ, जहाँ दक्षिण एसियाकै सबैभन्दा ठूलो देवीको मूर्ति रहेको समितिका अध्यक्ष भुसालले जानकारी दिए। मन्दिर परिसरमा सुरक्षा दृष्टिले सिसिटिभी क्यामेरा जडान, होटल र व्यापारिक गतिविधि विस्तार भएसँगै धार्मिक पर्यटनमा पनि वृद्धि भएको छ ।

अर्घाखाँचीका विभिन्न कोटहरूमा दशैंका अवसरमा पशुबली दिने परम्परा पनि कायम छ । सराएँ नाच कहिलेदेखि सुरु भएको यकिन नभए पनि स्थानीयहरूले सयौं वर्षदेखि देवीलाई प्रसन्न पार्न यो नाच नाच्दै आएको जनाएका छन् । कोजाग्रत पूर्णिमामा सराएँ विसर्जनसँगै औपचारिक रूपमा दशैं समाप्त भएको मानिन्छ, र बाहिर जिल्ला गएका श्रद्धालुहरू पनि यसपछि आफ्ना गन्तव्य फर्कने गर्छन् । 
 

ताजा खबर

सम्बन्धित खबर