२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

मलेसियाको रोजगारी सुचारु, युएई पनि सहज हुने

shivam cement
२०८२ असोज ७ गते ०६:२०
Shares
मलेसियाको रोजगारी सुचारु, युएई पनि सहज हुने

काठमाडौं : मलेसियामा नेपाली कामदारको आवागमन र भिसा प्रक्रियामा कुनै समस्या नरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा रोकेर वर्किङ भिसा दिन ढिलाइ गरेपछि कतार र मलेसियाले पनि यस्तै कदम चाल्न लागेको समाचार सार्वजनिक भएको थियो ।

तर सोमबार साँझ मध्यान्ह दैनिकको एक प्रश्नको उत्तरमा नेपाली दूतावासका काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले केही सामाजिक सञ्जालमा मलेसियामा पनि नेपाली कामदारको वर्क परमिट रोकिएको भन्ने समाचार देखिएपनि नेपालमा भएका घटनालाई लिएर मलेसियाले नेपाली कामदार लिने विगतको शैलीमा कुनै परिवर्तन नगरेको बताए ।

उनले भने, ‘कामदारको वर्क परमिट रोकिएको कुनै गुनासो नआएको र रोजगारदाता कम्पनीहरूबाट पनि कुनैपनि प्रकारको सोधखोज भएको सूचना बाहिर आएको छैन, अवस्था पूर्ववत् रूपमा सामान्य छ ।’

भिजिट भिसा रोकेको युएईले प्रहरी रिपोर्ट र राहदानीको कभरपेज लिएर नेपाली कामदारको भिसा जारी गर्ने तयारी गरिरहेको र यसै साताको अन्त्यसम्म सहज हुने आंकलन गरिएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नेपालमा सरकार नै परिवर्तन र अकल्पनीय राष्ट्रिय क्षति हुने गरी हिंसा, तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा जेल तोडेर १३ हजार कैदी र ठुलो संख्यामा थुनुवा भागेको विषय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । अझैसम्म ८ हजारभन्दा बढी भागेका कैदी र थुनुवा फर्केका वा पक्राउ परेका छैनन् । त्यसले नेपालीप्रतिको दृष्टिकोण नै परिवर्तन भएको अनुमान गरिएको छ । तर त्यसकै कारण नेपाली कामदारको वर्क परमिट बन्द नहुने जानकारहरू बताउँछन् ।

युएईले नेपाली मात्रै नभएर बंगलादेशका कामदारको पनि वर्क परमिट रोकेको समाचार सार्वजनिक भएको थियो । तर युएईका लागि बंगलादेशका राजदूत तारिक अहमदले सामाजिक सञ्जाल र केही वेबसाइटहरूमा प्रसारित रिपोर्टहरू सत्यतामा आधारित नभएको बताएका छन् । उनले युएईले गम्भीर परिस्थितिमा बाहेक कामदारको वर्क परमिट नरोक्ने बताएका छन् । युएईमा हाल करिब १० लाख बंगलादेशी नागरिक कार्यरत रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर