काठमाडौं : मलेसियामा २४ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको पोर्ट क्लाङको तमान पेरिन्डस्ट्रियन पुलाउ इन्डाहमा रहेको आवासीय परिसरमा एकीकृत अपरेसनका क्रममा कुल ६ सय ६२ विदेशी नागरिक पक्राउ पर्दा २४ नेपाली पनि परेका हुन् ।
सेलाङगोर अध्यागमन विभागका निर्देशक खैरुल अमिनुस कमरुद्दीनले बंगलादेशका ५ सय ४५ जना, म्यानमारका ३६, पाकिस्तानका ३५, नेपालका २४, भारतका १० र इन्डोनेसियाका नौ जना पक्राउ परेको बताए । मलेसिया प्रहरीले पक्राउ परेकामा ओभरस्टे र वैध कागजात नभएका १६ देखि ८० वर्ष उमेर समूहका रहेकोे बताएको छ ।
अध्यागमन प्रमुख खैरुल अमिनुसले अध्यागमन कानुन उल्लंघन गर्ने विदेशीहरूलाई पहिचान र देश निकाला अभियान सुरु गरिएको बताए । उनले देश निकाल्ने अभियान जारी राख्ने जानकारी दिए । पक्राउ परेकालाई व्यक्ति बेचबिखन र आप्रवासी तस्करी विरोधी ऐनअन्तर्गत कारबाही गर्ने मलेसिया प्रहरीले बताएको छ ।