२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

सरकार र सडक

ADV
२०८१ पुष १५ गते ०६:०५
सरकार र सडक

–युवराज संग्रौला

समग्रमा ७२ लाख मानिस सहकारीपीडित छन् । तिनै पीडित मानिस दमनका सिकार भइरहेका छन् । ती नागरिकले निकै दुःख गरी कमाएको आम्दानी सहकारीहरूमार्फत घोटाला भएको छ । यस्तोमा उनीहरूका परिवार पनि अप्ठ्यारोमा छन् । 

छोरा–छोरीको पढाइ तहसनहस भएको छ भने परिवारका सदस्य बाध्यकारी रूपमा विदेश पलायन हुने अवस्था बनेको छ । सहकारीकै कारण तल्लो तहका नागरिकहरूको जीविकाको विषय नै समस्यामा छ । तर, यति गम्भीर सन्दर्भमा सरकार भने प्रवेश गर्न चाहेको देखिन्नँ ।

किन सरकार यो समस्या समाधान गर्न चाहँदैन ? ७२ लाख मानिसलाई गरिबीको चंगुलमा धकेलेर देशको विकास हुन्छ ? 

यो समस्याको समाधान गर्न सरकारको गुहार गर्दा, सडकमा पीडित कुटेर लोकतन्त्र जिउँदो रहँदैन । के माफियालाई जोगाएर सरकार चल्छ ? के ७२ लाख नागरिकको छातीमा कुल्चिरहन सम्भव छ ?

सडक आज सनक र चटकको अधीनमा छ । अनेक जासुस र विदेशी स्वार्थ बोकेका मानिसका एजेन्ट पनि सडकमा छन् । यो देशका माफियाहरूले समाजमा अराजकता निर्माण गर्न पनि मानिस सडकमा प्रयोग गरेका छन् ।

देशलाई अराजक बनाएपछि सहकारी माफिया, जग्गा प्लटिङ गर्ने माफिया, व्यापारका नाममा तल–माथि गर्ने माफिया, नेपालको उत्पादन समाप्त गर्न नागरिक श्रम निर्यात गर्ने माफियाले देशको अर्थतन्त्र अधीनमा राखेका छन् । अतः देशमा अनैतिक अराजकता निर्माण भएको छ । यसको फाइदा लिएर राज्य कब्जा गर्ने माफियाको दाउ पनि सडकमा पोखिएको छ । इमानदार युवा पनि सडकमा छन् तर उनीहरूलाई राज्यको विकास होइन, विद्रोह मात्र चाहिएको छ । 

सडक अराजक भएको छ । देशलाई विचारबाट नयाँ अर्थतन्त्रतर्फ लैजाने कुनै योजना सडकमा कुद्नेहरूसँग छैन । 

हिजो सरकारका पदमा बसेर आज पेन्सन खाने मान्छे, हिजो विश्वविद्यालयमा बसेर आज पेन्सन लिनेहरू, अदालतमा भ्रष्टका मुद्दामा वकालत गर्ने र एम्बेसीमा भात खान जानेहरू आज सडकमा राजनीति, सामाजिक र आर्थिक न्यायका कुरा गर्छन् । उनीहरूले हिजो के गरे त ? यदि देशमा समस्या थिए भने हिजो किन बोलेनन् ? उनले उनका संस्था बनाउन केके गरे ? देश बिग्रेको देखेपछि राजीनामा किन नदिएको हो त ?

आज समग्र नेपालको राजनीति विचार क्षय भएका शक्ति र विचारहीन मानिसहरूको रणमैदान बनेको छ । यसका कारण देशलाई सामाजिक नागरिकतन्त्रको बाटोमा लैजाने दृष्टिकोणप्रति बहस हुनु नै सही बाटो हो ।

देशको उत्पादन प्रणालीलाई स्थापित गर्न र देशलाई उद्यमतर्फ लैजानु आवश्यक छ । अतः सहकारी माफियामाथि तत्काल कारबाही हुनुपर्छ । उद्योगहरूलाई बचाउने योजना ल्याउनु आवश्यक छ । आज चिनी, सिमेन्ट, पोल्ट्री सबै उद्योग विसर्जनको संघारमा छन् ।

पर्यटनमा योगदान गर्ने ठूला होटेलको कोठा दर रेट छैन । विदेशी सामान बेचेर ५०–६० डलरमा कोठा बेच्ने व्यापार बनेको छ । देशी सामान बेच्ने होटेलको व्यापार घाटा छ । देशको अर्थतन्त्र देशभक्त उद्यमीका हातमा छैन । माफियाको सेवामा सरकारले काम गरिरहेको छ, जुन बन्द हुनुपर्छ । 

राजनीतिलाई नैतिक र उत्पादनमूलक रणनीतिको माध्यमबाट संचालन गर्नुपर्छ । समताको निर्माण नै राजनीतिको लक्ष्य हो ।

ADVADV

सम्बन्धित खबर

Advertise