काठमाडौँ :राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।
अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा .बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेन जेड पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् ।
काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो ।
सरकारले जेन जेडको प्रदर्शनमा घाइते भएकाहरूको नि:शुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।