अर्घाखाँची : ९ वर्षअघिको कहाली लाग्दो घटना सम्झिँदा अर्घाखाँची भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ साम्ने गाउँका ऋषिराम खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको उनी बताउँछन् ।
विदेश जान भनेर घरबाट निस्किएका खनाल विदेश पुग्न नपाउँदै भूकम्पमा परे । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने खनालको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाए । भाग्यले बाँचेका ऋषिराम खनाल अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् ।
दुई वटा वैशाखीको भरमा उनको जिन्दगी जेनतेन चलिरहेको छ । विदेश जानका लागि उनी काठमाडौं गएका थिए । २०७२ वैशाख १४ गते उनको फ्लाइट थियो । टिकट र मेडिकल रिपोर्ट पनि उनको हातमा आइसकेको थियो ।
दिउँसो नयाँ बानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिंगो घरै घुम्न थाल्यो । रिङ्गटा लागेर उनी अतालिए ।
खैँ के भएको हो कुरा नबुझ्दै उनी बसेको काठमाडौं गोंगबु नयाँ बसर्पाकस्थित सयपत्री होटलको भवन ढल्यो ।
अलिपछि थाहा पाउँदा ऋषिराम खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएको महसुस गरे । अँध्यारोमा छामछाम गर्दा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन ।
आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको थाहा पाएको उनी सम्झन्छन्,‘सक्दो चिच्याए पनि उद्दार गर्ने कोही थिएन ।’
२०७२ वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए । अवस्था कस्तो थियो भने उनी होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पु¥याउन सक्ने अवस्था थिएन । बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन । मर्नुभन्दा बौलाउनु निको भनेझैं उनले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेटाएको अहिले सम्झन्छन् ।
जतिबेला होसमा आएका थिए, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव भएन ।
उनी भन्छन्,‘विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो । अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो ।’
उनी गुहार माग्दै चिच्याउँथे तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो । डोजरको आवाज सुन्दा पनि भगवान आएजस्तो लागेको खनाल सम्झन्छन् ।
दिनरात कुनै याद भएन । उनको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए । तर विस्तारै नाकले गन्ध पनि छुट्याउन छोडेको थियो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको खनाल बताउँछन् । पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उनलाई बाँच्ने आश मरिसकेको थियो । उनलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो ।
मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी भएको खनाल बताउँछन् ।
तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परेको महसुल गरेपछि अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ जीवन पाउँलाजस्तो भएको खनाल सम्झन्छन् ।
केहीबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उनी सम्झन्छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उनको मुखसम्म पानी पुर्यायो । झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो, उसको मुखमा पानी पर्दा कस्तो अनुभव भयो होला ?
वैशाख १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भएको थियो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । उनी भन्छन्, ‘खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थेँ होला ।’
ऋषिले राति १२ बजे घरमा फोन गरे । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो ।
गोङ्गबुमा रहेको भूकम्पले भत्किएको सात तले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चार माध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो । अहिले उनलाई पुनर्जीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ ।
अहिले बाँच्नका लागि पनि उत्तिकै संघर्ष गरिरहनुपरेको छ । अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उनको भनाइ छ । कहिलेकाहीँ त उनलाई लाग्छ, ‘बरू उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् ।’
उपचारका लागि उनी पटक–पटक काठमाडौं जानुपरेको थियो । उनको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ । त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो, तर काठमाडौं आउजाउ, औषधि खर्च गर्दा पाँच लाखभन्दा बढी खर्च लागेको छ । विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ । उनलाई कुनै सीप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
काठमाडौंमा विभिन्न संघसंस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए, तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको ।
काठमाडौंमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरूले सीपमूलक तालिम लिन नसकेको उनले बताए ।
‘खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अंगभंग भएकाहरूले सीप सिकेर केही काम गरेर खान सक्ने थियौं,’ उनी भन्छन् ।
सरकारले अपाङ्गहरूलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उनको माग छ ।
उनलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्र समेत अहिलेसम्म पाएका छैनन् ।
‘अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए, चार हजार मासिक त आउने थियो । त्यही पनि छैन । कसले हेर्छ र हामीलाई ?, सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको ?’ आँखाभरि आँसु पार्दै उनले भने ।
उनका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन् ।
‘मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौं आम्दानी गरेका छन्,’ आफ्नो दुःखकष्ट बेचेर धेरै जना करोड पति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिरामको गुनासो छ ।