२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

नुवाकोटको महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि भागवत महायज्ञ सुरु

shivam cement
अन्जान गुभाजु
२०८२ कार्तिक २१ गते ०८:०४
Shares
नुवाकोटको महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि भागवत महायज्ञ सुरु

नुवाकोट : जिल्लाको वेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालन गर्ने दीर्घ उद्देश्यसहित कात्तिक १९ गतेदेखि श्रीमद्भागवत सप्ताह पूर्णज्ञान महायज्ञ सुरु गरिएको छ ।

स्थानीय स्तरमा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउनका लागि आयोजित महायज्ञबाट संकलन हुने नगद तथा जिन्सी सहयोग सम्पूर्णरूपमा अस्पताल निर्माणमा नै खर्च गरिने आयोजकले जनाएको छ ।

समारोहको उद्घाटन वेलकोटगढी नगरप्रमुख जगतबहादुर गुरुङले गरे । उनले वीरगञ्ज–गल्छी–देवीघाट–रसुवागढी जोड्ने त्रिदेशीय मार्गको मुख्य मध्यबिन्दुमा पर्ने महादेवफाँटमा आकस्मिक अवस्था, दुर्घटना तथा सामान्य उपचारका लागि समेत अस्पताल नहुँदा स्थानीयले ठुलो पीडा भोग्दै आएका कारणले यो अभियान अत्यावश्यक भएको बताए । उनले यश अभियानमा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महायज्ञमा चर्चित प्रवचिका राधिका दासीद्वारा दैनिक कथा वाचन भइरहेको छ । उनले “स्वास्थ्यमा दान, सबैभन्दा पुण्य महादान” भन्ने सामाजिक तथा मानवीय सन्देश मार्मिक शैलीमा प्रस्तुत गर्दै भक्तजनलाई सहयोग र सहभागितामा प्रेरित गरिरहेकी छन् ।

यस अभियानको मुख्य नेतृत्व भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले सम्हालिरहेका छन् । अध्यक्ष नेपालका अनुसार उपचार अभावका कारण विगतमा धेरै दु:खद् परिस्थिति भोग्नु परेको वास्तविकताले अस्पताल निर्माणतर्फ अग्रसर गराएको हो । एकताबद्ध जनशक्तिको साथ जुट्यो भने अस्पताल अब सपना होइन, समुदायकै गर्व बन्ने उनले बताए ।

महायज्ञको पहिलो दिन कलश यात्रा, धार्मिक झाँकी तथा बजार परिक्रमा सहित विधिवत् प्रारम्भ गरिएको थियो । महायज्ञ कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । यसमा न्यु भिजन यूथ क्लब सहित विभिन्न संघ–संस्था तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ ।

आयोजकले देश–विदेशमा बसोबास गर्ने सबै नेपालीहरूलाई मानवीय सेवालाई सर्वोच्च मानेर सहयोग र सहभागिता प्रदान गर्न आग्रह गरेको छ । अस्पताल निर्माण सम्पन्न भएपछि नुवाकोट रसुवा तथा धादिङका पूर्वी भेगका नागरिकलाई नजिकैबाट शीघ्र, सहज र भरपर्दो उपचार सेवा उपलब्ध हुने र त्रिदेशीय मार्गमा हुने दुर्घटनाका पीडितको जीवनरक्षामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर