
रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित ‘करिअर विकाससम्बन्धी तालिम’ सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरू र तिनका परिवारका सदस्यहरूलाई भविष्यको दिशानिर्देश गर्न, पेशागत योजना बनाउन तथा रोजगारीका अवसरहरू पहिचान गर्न सहयोग पुर्याउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको मानव विकास तथा सामुदायिक सेवा (राइज–अप) परियोजनाका अधिकृत सन्देश जैसीले जानकारी दिए ।
चौरजहारी-२ स्थित होटल सिद्धार्थमा आयोजना गरिएको तालिमको उद्घाटन नगरपालिकाका उपप्रमुख ईश्वरी शर्मा (बीएम) ले गरेकी थिइन् । उद्घाटन सत्रमा बोल्दै उनले युवाहरू राष्ट्रको मेरुदण्ड भएको बताउँदै उनीहरूको क्षमता विकासका लागि यस्ता तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गरिन् । साथै, युवाहरूले पढाइसँगै आत्मपरिचय, आत्मविश्वास र दक्षता विकासमा जोड दिनुपर्नेमा पनि उनले जोड दिइन् ।
दुई दिनसम्म चलेको तालिममा चौरजहारी नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय युवा, अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारका सदस्य गरी कुल २० जना सहभागी थिए । सहभागीहरूलाई व्यक्तिगत करिअर योजना बनाउने तरिका, साक्षात्कार तयारी, सञ्चार सीप, नेतृत्व विकास तथा रोजगार अवसर खोजीसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमको सहजीकरण अधिवक्ता गोपाल बिराजी र एचडीसीएसका वित्त अधिकृत विष्णु पुनले गरेका थिए । प्रशिक्षकहरूका अनुसार, युवाहरूले आफ्नो क्षमताअनुसार करिअर छनोट गर्न नसक्दा बेरोजगारीको समस्या बढिरहेको छ । यस्ता तालिमले युवाहरूलाई लक्ष्य स्पष्ट बनाउन र उचित मार्ग पहिचान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
सहभागिताबारे अधिकृत जैसीले चौरजहारी नगरपालिकाका विद्यार्थी, युवा तथा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारका सदस्यहरूको उपस्थिति रहेको बताए ।