२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

योगको महत्व र आवश्यकता

ADV
मध्यान्ह
२०८१ असार १० गते ०७:५०
योगको महत्व र आवश्यकता

–ललितकुमार यादव

विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । धार्मिक विश्वासअनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धति हो योग । महर्षी पतञ्जलिका सिद्धान्तअनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । अर्थात् मानिसको अस्थिर मनलाई स्थिर बनाउनु हो योग । योगले मानिसलाई आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्षम बनाउँछ । अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलतातर्फ, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ आध्यात्मिक यात्रा हो योग ।

योग शब्द मूलतः संस्कृत शब्द हो । नेपालीमा यो तत्सम शब्दका रूपमा आएको छ । यो शब्दको बनोट संस्कृतको ‘युज्’ धातुबाट भएको हो । यसका अलग अलग अर्थ छन्– समाधि, योग र संयमन । वास्तवमा योग भनेको शरीरको मन र आत्माको परमात्मासँगको मेल हो । योगले शरीर, मन र आत्मालाई संयोजन गर्दछ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्दछ । योगले मानसिक शान्ति र आत्मबोध प्राप्त गर्न मद्दत गर्दछ ।

पूर्वीय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शब्दको प्रयोग हुँदै आएको छ । हिन्दु धर्मशास्त्रमा आत्मदर्शन र समाधिदेखि लिएर कर्मक्षेत्रसम्म योगको व्यापक प्रयोग भएको पाइन्छ । यो प्राचीन भारतीय दर्शन र शारीरिक अभ्यासको एक विधि हो । विश्वव्यापीरूपमा लोकप्रियता बढ्दै जाँदा योगको महत्व र आवश्यकता पनि बढ्दै गएको छ । योगको लाभका विभिन्न पक्षलाई विचार गर्दै यस आलेखमा योगको महत्व र यसलाई दैनिक जीवनमा समावेश गर्नुको आवश्यकताबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

योग प्राचीन समयदेखि नै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको लागि एक महत्वपूर्ण अभ्यासको रुपमा प्रयोग हुँदै आएको पाइन्छ । नियमित योग अभ्यासले मानिसलाई सन्तुलित र स्वस्थ जीवन जिउन प्रेरित गर्दछ । योगको प्रभावकारिता र यसबाट हुने लाभलाई ध्यानमा राख्दै यसलाई दैनिक जीवनमा समावेश गर्नु अत्यन्त आवश्यक छ । आधुनिक जीवनशैलीमा योगको महत्व र आवश्यकता झन् बढ्दै गएको छ ।

योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । आत्म अनुशासन कायम गर्दै स्वस्थ र सकारात्मक जीवनका लागि योगको आवश्यकता पर्दछ । मनमा सकारात्मक भावको विकास गर्नका लागि योग आवश्यक छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिकरूपमा स्वस्थ हुनु हो । यी सबैको प्राप्ति योगबाट नै हुन्छ ।

श्रीमद् भागवत गीतामा भगवान श्रीकृष्णले योगका तीन प्रकार बताएका छन् । ती हुन्, कर्मयोग, ज्ञानयोग र भक्तियोग ।

कर्मयोग : गीताअनुसार कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिन्छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म गर्नु नै पूजा हो । आराधना हो । ‘निष्काम कर्म’ नै गीताको मुख्य एकमात्र सार हो ।

ज्ञानयोग : गीताअनुसार शिक्षाद्वारा आफ्नो सम्पूर्ण जगतमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनुलाई ज्ञानयोग भनिन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन । आत्मज्ञानले व्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ ।

भक्ति योग : भक्ति योगको विषयमा गीता भनिएको छ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्दछ, उही योगी परमसिद्ध भनिन्छन् ।

पतञ्जलिका अनुसार अष्टाङ्ग योग अर्थात् योगका आठ अङ्ग हुन् । यी आठ अङ्ग सबै धर्मको सार मानिन्छन् । यी आठ अङ्गहरू हुन्–

यमा (पाँच परिहार)– अहिंसा, सत्य बोली र गैर लोभ ।
नयमा (पाँच ‘धार्मिक क्रिया’)– पवित्रता, सन्तुष्टि, तपस्या, अध्ययन र आत्मसमर्पण ।
आसन (बस्ने आसन) – स्थिर स्थिति ।
प्राणायाम (सासको स्थिति)– ‘प्राण’ अर्थात् सांस ‘अयाम’ अर्थात् गति । श्वासप्रश्वासका गतिलाई नियमित गर्ने क्रिया । सासको गति नियन्त्रित गर्नु ।
प्रत्याहार (अमूर्त) – वाह्य वस्तुद्वारा भावना अङ्गको प्रत्याहार ।
धारणा (एकाग्रता) – एक चित्त ।
ध्यान – गहन चिन्तन ।
समाधि (विमुक्ति)– ब्रह्मचिन्तनमा केन्द्रित, चैतन्यको साथ विलय ।

योगले शरीरमा लचिलोपना, शक्ति, र सन्तुलनमा सुधार ल्याउँछ । विभिन्न योगासनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । शारीरिक स्वास्थ्यका लागि योगका केही लाभहरू छन् । 

योगासनहरूले शरीरको मांसपेशी र जोर्नीहरूको लचिलोपना बढाउँछ । शरीरका विभिन्न भागहरूलाई बलियो बनाउँछ, जसबाट शारीरिक सन्तुलन कायम हुन्छ । यसैगरी, योगले रक्तसञ्चारलाई सुधार गरी सन्तुलनमा राख्दछ । रक्तसञ्चार सन्तुलित हुँदा रोगहरूको जोखिम कम हुन्छ । साथै, प्राणायामले फोक्सोको कार्यक्षमता बढाउँछ । श्वासप्रश्वास प्रणाली सुदृढ हुँदा, शरीरमा थप ऊर्जाको प्राप्ति हुन्छ ।

यसैगरी, नियमित योग अभ्यासले शरीरको प्रतिरक्षा प्रणालीमा सुधार आउँछ र बलियो हुन्छ । विभिन्न संक्रमण र रोगहरूसँग लड्न शरीर सक्षम बन्छ । मानसिक शान्ति र स्थिरताको लागि योग अत्यन्तै प्रभावकारी छ । ध्यान र प्राणायाम जस्ता अभ्यासहरूले मानसिक स्थिरता र एकाग्रता बढाउँछ । 

साथै, योगले तनाव र चिन्ता कम गर्छ । ध्यानले मानसिक शान्तिको प्राप्ति हुन्छ । योगले मानिसको सकारात्मक सोचमा वृद्धि गराउँछ । व्यक्तिको आत्मविश्वास बढाउँछ । ध्यान र योग अभ्यासले मानिसको स्मरणशक्ति बढाउँछ । एकाग्रता बढाउँछ । मानसिक तिखोपना आउँछ ।

साथै, योगले निद्राको गुणस्तरमा सुधार गर्छ । गहिरो र शान्त निद्राले मानिसको मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ । योगले आध्यात्मिक जागरण र आत्मबोधमा महत्वपूर्ण भूमिका खेल्छ । यसले मानिसलाई आफ्नो स्वभावसँग जोड्ने काम गर्दछ । आध्यात्मिक स्वास्थ्यको लागि योगका केही लाभहरू छन् । ती प्रमुख लाभहरू हुन् ।

योगले आत्मचिन्तन र आत्मबोध गराउँछ । ध्यान र प्राणायामले मनको शान्ति र सन्तोष प्रदान गर्छ । योगले जीवनको अर्थ गहिरोसँग बुझाउँछ । आध्यात्मिक अभ्यासले जीवनलाई थप अर्थपूर्ण बनाउँछ । योगले सबै धर्मलाई सम्मान गर्न सिकाउँछ । मानिसमा सहिष्णु र सम्मानका भावनाको विकास गराउँछ ।

आधुनिक जीवनशैलीमा तनाव, चिन्ता, र शारीरिक समस्याहरूको सामना गर्न योग एक अत्यावश्यक साधन बनेको छ । योगले मानिसको कार्यक्षमता र उत्पादकत्व बढाउँछ । नियमित अभ्यासले शरीरको ऊर्जामा वृद्धि हुन्छ । योगले मानिसमा सकारात्मक सोचको वृद्धि हुन्छ । जीवनमा आइपरेका चुनौतीहरूको सामना गर्न सिकाउँछ । योगले मानिसलाई धैर्यवान, सहिष्णु, र सहयोगी बनाउँछ । मानिसमा सामाजिक भावनाको विकास गराउँछ ।

योगले विभिन्न स्वास्थ्य समस्याहरूबाट मानिसलाई मुक्त गराउँछ । स्वास्थ्यमा दीर्घकालीन सुधार हुन्छ । योगले मानिसलाई समयको व्यवस्थापन गर्न सिकाउँछ । मानिसलाई निश्चित अनुशासनमा बाँधी दैनिक जीवनलाई व्यवस्थित बनाउँछ । नियमित योग अभ्यासले मानिसलाई सन्तुलित र स्वस्थ जीवन जिउन मद्दत गर्छ । योगले मानिसलाई मानिसले जिउनु पर्ने जीवनशैलीको बारे सिकाउँछ । योगले मानिसको सोच र जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक, र आध्यात्मिकरूपमा स्वस्थ र सन्तुलित बनाउँछ । योग अभ्यासमार्फत व्यक्तिले आफ्नो पूर्ण क्षमता प्राप्त गर्छ । जीवनको प्रत्येक क्षेत्रमा उत्कृष्ट नतिजा दिने क्षमताको विकास हुन्छ । 

योगको महत्व र आवश्यकता हरेक व्यक्तिले बुझ्न र योग अभ्यासलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न अत्यावश्यक छ । किनकि योग अभ्यासले मानिसलाई शारीरिक रूपमा स्वस्थ तथा बलियो, मानसिक रूपमा शान्त तथा तिक्ष्ण र आध्यात्मिक रूपमा जागरुक तथा सजग बनाउँछ ।

ADVADV

सम्बन्धित खबर

Advertise